
४ जेठ, पोखरा । वीरगञ्जबाट पोखरा आएका एकजनालाई आइतबार वीरगञ्ज नै फिर्ता पठाइएको छ ।
कोरोना प्रभावित क्षेत्रबाट पोखरा प्रवेश गरेको भन्दै महानगरले वीरगञ्जनै फर्काएको हो । ती पोखरा महानगरपालिका–५ पस्र्याङमा मजदुरी गर्ने व्यक्ति रहेको पाइएको छ ।
वीरगञ्जबाट ट्रक चढेर ती व्यक्ति शनिबार पोखरा आएका थिए । आटा–मैदा बोक्ने गाडीमा आएका उनले चेकजाँचका क्रममा सहचालक बताएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
‘बिना अनुमति पोखरा प्रवेश गर्नेलाई यहाँबाट फिर्ता पठाएका हौं । उनलाई यहाँ राखेको भए फेरि अर्को नजीर बस्थ्यो,’ उनले भने । नेपालीले स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासनको रोहबरमा ती व्यक्तिलाई वीरगञ्ज फिर्ता पठाइएको जानकारी दिए ।
कोरोना संक्रमण नभेटिएको पोखरामा केही समयअघि कास्की प्रशासनले विज्ञप्ति नै निकालेर लकडाउन खुकुलो भएको जनाएको थियो । निश्चित मापदण्ड तोकेर सवारी आउजाउका लागि पाससमेत आवश्यक नपर्ने बनाएको थियो ।
तर, पछिल्लो समय गृहमन्त्रालयले नै सबै जिल्लाका सवारी पास रद्ध गरी लकडाउन कडाइ गरेकाले पोखरामा पुनः लकडाउनमा कडाइ भएको छ । पोखरा प्रवेश गर्ने विभिन्न नाकामा कडाइका साथ चेकजाँच गर्न थालिएको छ ।
प्रतिक्रिया 4