Comments Add Comment

कर्णाली प्रदेशलाई पूर्वसांसद राजीवले दिए १ करोड बढीको स्वास्थ्य सामग्री

४ जेठ, काठमाडौं । जाजरकोटका एक जना पूर्वसांसदले कर्णाली प्रदेशका अस्पतालहरुलाई १ करोड बढीको स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन् । पूर्वसांसद राजीव विक्रम शाहले कोरोनाका सम्भावित बिरामी र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहित एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्न लागेका हुन् ।

जाजरकोटका पूर्वसांसदसमेत रहेका शाहले मुख्यगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेतलाई केन्द्रविन्दुमा राखेर सहयोग गर्न लागेको बताए । प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटर र झण्डै सत्तरी लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री तथा अन्य जिल्लाका अस्पतालहरुलाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने उनले बताए ।

‘जिल्लाका अस्पतालका डाक्टरहरुसँग सल्लाह गरेर स्वास्थ्य सामग्रीहरु प्रदान गर्न लागिएको हो,’ कुमारी ट्रष्टका अध्यक्षसमेत रहको शाहले भने, ‘जिल्ला अस्पतालको आवश्यकताअनुसार प्रत्येक जिल्लाहरुमा फरक–फरक सामानहरु छन् । केही जिल्ला अस्पतालहरुले सुत्केरीको लागि बेडहरु माग गर्नु भएको छ भने केहीले अक्सिजन आवश्यक परेको भन्नु भएको छ ।’ आफूले दिने सामाग्रीहरु कोरोनाविरुद्ध लड्नका लागि मात्र नभइ दीर्घकालमा समेत उपयोगी हुने उनको विश्वास छ ।

यी सामग्रीहरुले कोरोनाविरुद्ध लड्न केही मात्रामा भए पनि सरकारलाई सहयोग पुग्ने अध्यक्ष शाहको विश्वास छ ।

उनले भने, ‘कर्णाली प्रदेशको वर्तमान अवस्था हेर्ने हो भने कोरोनाबाट केही असर परेको छैन तर आगामी दिनमा केही नहोला भन्न सकिँदैन । आफूलाई शक्तिशाली भन्ने राष्ट्रहरुलाई त कोरोनाबाट आच्छु–आच्छु परेको अवस्थामा यदि कर्णालीमा कोरोना भित्रियो भने सम्भावित क्षतिको अनुमान नै गर्न सकिँदैन । यही कुरालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्रीहरु प्रदान गर्न लागिएको हो ।’

शाहका अनुसार ट्रस्टले अहिले एउटा भेन्टिलेटरसहित ५ वटा आईसीयु बेड सुर्खेतस्थित प्रदेश अस्पतालमा तयार पार्दै छ । त्यहाँका सामग्रीहरु स्वर्गीय प्रभाकर शमशेर राणाकी छोरी मायाले आफ्नो बुवाको वर्ष दिनको पुण्य तिथिको अवसर पारेर कुमारी ट्रस्टसँग सहकार्य गरी लगेको अध्यक्ष शाहले जानकारी दिए ।

पूर्वसांसद शाह समाजसेवामा सक्रिय छन् । उनकै पहलमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ५ बडावनमा सुविधा सम्पन्न सामुदायिक अस्पताल भवन निर्माण गरिएको छ । ६ करोड लगानीमा निर्मित सो अस्पताल २५ शय्याको छ । सो सामुदायिक अस्पताल निर्माणका लागि छेडागाड नगरपालिका वडा नं. ५ बासिन्दाले ५ रोपनी जग्गा निःशुल्क दिएका छन् । जाजरकोटमा झाडापखालाको प्रकोप फैलिएको बेला होस् वा बस दुर्घटनामा परेको बेला होस् उनले व्यक्तिगत पहलमा हेलिकोप्टरमार्फत् धेरैलाई उद्धार गरेका थिए ।

कर्णाली प्रदेशमा सुविधाका हिसावले हेर्ने हो भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेत छन् । प्रदेश अस्पताल सुर्खेतमा ५ वटा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ वटा र जिल्ला अस्पताल दैलेखमा एउटा गरी कर्णाली प्रदेशभर ११ वटा भेन्टिलेटर रहेको प्रदेश अस्पतालका वरिष्ठ डाक्टर रविन खड्काले बताए । उनका अनुसार कर्णाली प्रदेशभर १७ वटा आईसीयु बेड छन् ।

लकडाउन अवधिमा सीमा नाकाबाट करिब आठ हजार जना कर्णाली प्रदेशका विभिन्न जिल्लामा फर्किएको अनुमान छ । कोरोना संक्रमित छन् कि छैनन् भनेर पत्ता लगाउन हालसम्म ७ हजार ३ सय ७२ जनामा आरडीटी टेस्ट र २ हजार ६ सय ७१ जनामा पीसीआर टेस्ट गरिएको छ । तर कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमित फेला परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment