Comments Add Comment

जाजरकोटमा शक्ति र राजीवः ‘हेभीवेट’ भर्सेस ‘समाजसेवा’

१६ कात्तिक, काठमाडौं । ०४९ सालतिरै संयुक्त जनमोर्चाले युद्धको तयारी गरेको हल्ला चलेको थियो । त्यतिबेला जाजरकोटका शक्ति बस्नेत पार्टीको जिल्ला सचिव थिए ।

त्यही समय एकजना १६ वर्षीय किशोर सहरबाट पहिलोपटक जाजरकोट पुगे । उनी थिए- राजीवविक्रम शाह ।

राजीवलाई माओवादीको युद्ध तयारीबारे केही थाहा थिएन । विद्यार्थी राजनीतिसमेत गरेका शक्तिलाई भने धेरै कुरा थाहा थियो ।

काठमाडौंबाट पहिलोपटक पुर्ख्यौली थलो पुगेका राजीवलाई त्यहाँको अवस्थाले भावुक बनायो । उनी फर्किएपछि पनि जाजरकोट अवस्थाले उनलाई घोचिरहृयो ।

उनले आफ्नो पढाइ सकेर पुर्ख्यौली थलो जाजरकोटको दुरावस्था परिवर्तन गर्न सेवा गर्ने सोच बनाए ।

शक्ति बस्नेत भने क्रान्तिको माध्यमबाट समग्र परिवर्तन गर्ने सोचका साथ ०५२ सालदेखि माओवादी जनयुद्धमा होमिए ।

भारत हुँदै लण्डनका विभिन्न शैक्षिक संस्थाबाट अध्ययन पूरा गरिसकेपछि राजीवविक्रम ०६३/०६४ तिर दोस्रो पटक जाजरकोट पुगेर सामाजिक सेवामा सक्रिय भए । त्यसक्रममै उनी कांग्रेससँग नजिक भए ।

विस्तृत शान्ति सम्झौतासँगै माओवादी खुला राजनीतिमा प्रवेश गर्‍यो । शक्ति बस्नेत पहिलो संविधानभाको चुनाव (२०६४) मा जाजरकोटबाट समानुपातिक सांसद बने ।

राजीवविक्रम पनि कांग्रेसको समानुपतिक बन्दसूचीमा परे तर उनी सांसद बन्न पाएनन् ।

सांसद भएपछि बस्नेतले राष्ट्रिय राजनीतिमा आफ्नो बलियो उपस्थिति जनाए । जिल्लाको विकासका लागि केन्द्रबाटै पहल गरे । राजीवले पनि जिल्लामा आइपर्ने रहेक प्रकोपमा साथ दिन थाले ।

फलस्वरुपः बस्नेतलाई माओवादीले ०७० को संविधानसभाको अर्काे चुनावमा जाजरकोट क्षेत्र नं. १ बाट उम्मेदवार बनायो । कांग्रेसले पनि राजीवलाई क्षेत्र नं. २ बाट उम्मेदवार बनायो । बस्नेत र शाह दुवैले चुनाव जिते ।

अन्ततः युद्धबाट फर्केका बस्नेत र समाजसेवाका लागि पुर्ख्यौली थलो फर्केका राजीव यसपटक प्रतिनिधिसभा चुनावमा आमने-सामने भएर प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिनिधिसभाका लागि जाजरकोटमा एउटामात्रै क्षेत्र निर्धारण भएपछि दुबै जना एउटै क्षेत्रबाट उम्मेदवार बन्न बाध्य भएका हुन् ।

समाजसेवाका लागि राजीव र राष्ट्रिय राजनीतिका लागि बस्नेतलाई रोज्दै आएको बताउने जाजरकोटी जनताले यसपटक भने यी दुई मध्ये एकजनालाई मात्रै जिताउनुपर्ने बाध्यता छ । यो उनीहरुका लागि निकै कठिन छनोट हो ।

‘हेवी वेट’ भर्सेस ‘समाजसेवा’

पहिलोपटक आमने-सामने भएका बस्नेत र शाहबीचको प्रतिस्पर्धालाई ‘हेवी वेट’ भर्सेस ‘समाज सेवा’ का रुपमा लिइएको छ ।

शक्तिबहादुर बस्नेत राजनीतिमा शाहको तुलनामा धेरै अगाडि छन् । उनी हाल पार्टीको स्थायी समिति सदस्य हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डका निकट पात्र बन्दै केपी ओली प्रधानमन्त्री हुँदा गृहमन्त्री समेत भएपछि बस्नेत ‘हेवी वेट’ मा दर्ज भएका हुन् ।

शक्तिकेन्द्रसँग नजिक रहेका शक्तिले पार्टी संगठन, केन्द्रमा हुँदा आफूले गरेका कामलाई जनता माझ लिएर चुनावी अभियान सुरु गरेका छन् ।

पूर्वगृहमन्त्री भएकाले शक्तिसँग दलबल समेत थपिएको छ । केन्द्रसँगको पहुँचले जनतालाई आश्वासन दिन र जनतासँग प्रतिवद्धता गरी विश्वासमा लिन शक्तिलाई सहज छ । यिनै आधारमा चुनाव जित्ने दाउमा छन् उनी ।

राजीवविक्रम निर्वतमान सांसद र पार्टीको महाधिवेशन प्रतिनिधि मात्र हुन् । तसर्थ उनलाई शक्तिको ‘वेट’सँग भिड्नु चुनौति छ ।

पार्टी कार्यकर्ताभन्दा पनि समाजसेवीका रुपमा स्थापित भएका शाहले बस्नेतसँग प्रतिस्पर्धा गर्न आफ्नो सेवालाई नै पहिलो एजेण्डा बनाएका छन् ।

‘म राजनीति गर्न आएको होइन, समाजसेवा गर्न आएको हुँ’ भन्ने नारा बनाएर राजीवले चुनावी अभियान सञ्चालन गरेका छन् ।

जाजरकोटमा फैलिएको झाडापखाला पीडित र बस दुर्घटनाका पीडितहरुका साथै विभिन्न रोगबाट ग्रसित भएका दुःखी, गरीब र पीडितहरुलाई नै राजीवले आफ्ना मतदाता मानेका छन् ।

राजीवले सांसद हुँदा आफ्नो पारिश्रमिक समेत जाजरकोटका दुःखी, गरीव र पीडितहरुका लागि सहयोग गरेको बताउँदै आएका छन् ।

आफूले गरेको सेवाको प्रतिफलस्वरुप राजीवले स्वतन्त्र जनताले भोट हालेर विजयी बनाउने विश्वास लिएका छन् । जाजरकोट कांग्रेस पनि राजीवको समाजसेवाकै कारण जित हुनेमा ढुक्क छ ।

छोटो समयमा राजीव जनतासँग धेरै भिजेका छन् भने शक्ति तुलनात्मक रुपमा राजीवभन्दा धेरै ‘वजनदार’ छन् । यसर्थ जाजरकोटको प्रतिस्पर्धालाई ‘हेवी वेट’ भर्सेर ‘समाजसेवा’ का रुपमा लिने गरिएको हुन सक्छ ।

राजीवलाई गठबन्धनको चुनौती

जाजरकोटमा राजीवविक्रमले शक्ति बस्नेतसँग मात्र नभई एमाले र माओवादीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । शक्ति बस्नेत दुई दलका साझा उम्मेदवार बनेपछि राजीवलाई वाम गठबन्धन नै मुख्य चुनौती रहेको छ ।

स्थानीय तहको चुनावअनुसार जाजरकोटमा एमाले, कांग्रेस र माओवादी केन्ऽको मत थोरै मात्र तलमाथि छ । स्थानीय तहको मत नै अहिलेका लागि ताजा मत हो ।

जिल्लाका सात स्थानीय तहमा दलहरुले प्राप्त गरेको मतलाई आधार मान्दा एमाले २० हजार ६ सय मतका साथ पहिलो दल हो । कांग्रेसको मत १९ हजार ४३९ छ भने माओवादीको मत १७ हजार ४६१ मत छ ।

यो मतअनुसार माओवादी भन्दा कांग्रेस अर्थात राजीव करीब दुई हजार मतले अगाडि छन् । तर, यसपटकको चुनावमा माओवादी र एमालेबीच भएको तालमेलले राजीवलाई त्यति सजिलो छैन । वामपन्थीको मत जोड्दा कांग्रेस निकै पछाडि देखिन्छ ।

माओवादी र एमालेको मत ३८ हजार ६१ मत छ । यो कांग्रेसको भन्दा १८ हजार ४३९ ले बढी हो । तसर्थ राजीवलाई यति ठूलो अन्तरलाई शून्यमा झारेर चुनाव जित्न निकै चुनौती छ ।

शक्तिलाई गठबन्धनको साथ कति ?

जाजरकोटको गठबन्धमा सिट बाँडफाँटको कुरा नमिल्दा सुरुमै लफडा भयो । उम्मेदवारी दर्ताको दिनसम्म शक्ति बस्नेत साझा उम्मेदवार बन्न सकेनन् । शक्तिबहादुर बस्नेत विरुद्ध एमालेबाट गोविन्दविक्रम शाहले उम्मेदवारी दर्ता गरे ।

यस्तै प्रदेशसभामा पनि दुवै दलबाट उम्मेदवारी दर्ता भएको थियो । जाजरकोटका प्रदेशका दुवै क्षेत्र एमालेलाई दिएको भन्दै माओवादीले उम्मेदवारी दिएपछि प्रतिनिधिसभामा एमालेले पनि उम्मेदवारी दिएको थियो । जसका कारण गठबन्धन भत्कियो ।

प्रदेशमा समेत एक/एक वटा सिट बाँड्ने नयाँ सहमति भएपछि एमालेले असन्तुष्टि जनायो । जसकारण गठबन्धनको चुनावी माहोल नै अन्योलमा परेको थियो ।

तर, अहिले पार्टी केन्द्रको हृवीपपछि दुबै दलका उम्मेदवारले मनोनय फिर्ता लिएका छन् । अहिले प्रदेश (क) मा माओवादीका गणेशप्रसाद सिंह र (ख) मा एमालेका करवीर शाही आधिकारिक उम्मेदवार छन् ।

उम्मेदवारी दर्ताकै क्रममा गठबन्धनमा देखिएको विभाजनले शक्ति बस्नेतलाई कति साथ दिन्छ भन्ने प्रश्न अहिले टड्कारो बनेको छ ।

गठबन्धनलाई बस्नेतले भावनात्मक रुपमै एकतामा बदल्न सके भने मात्रै उनको जित सहज हुने देखिन्छ । यदि त्यसो नभई गठबन्धनको मत विभाजन हुने अवस्था आएमा बस्नेतको ‘हेवी वेट’ले मात्रै चुनाव जित्न सहज हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment