Comments Add Comment

भारतबाट मजदुरी गरी फर्किएका २४ जना ठोरी नाकामा अलपत्र

४ जेठ, काठमाडौं । भारतको मुम्बईबाट मजदुरी गरी फर्किएका २४ जना नेपालीहरु ठोरी नाकामा अलपत्र परेका छन् ।

ठोरी गाउँपालिका-२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक दीपक दाहालका अनुसार २४ जना नेपाली आइतबार बिहान ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका हुन् । जस मध्ये चितवनको माडी नगरपालिकाका २१ जना, मकवानपुरको हेटौंडाका एक जना, नवलपरासीका एकजना र धनगढीका एक जना रहेका छन् ।

सीमा नाकामै रोकिएका उनीहरु मुम्बईबाट वैशाख ३१ गते हिेँडेका थिए । सीमा नाकामा रोकिएका मध्ये माडी-५ बरमपुरीका २७ वर्षीय लेखनारायण (राजन) लामिछानेले अनलाइनखबसँग भने, ‘भारतीय सीमा सुरक्षाबल एसएसबीले हामीलाई भिखना ठोरी बजारमा रहेको एउटा विद्यालयमा राखेका छन् । नेपालबाट सम्बन्धित पक्ष लिन आएमा छाडिदिने र नभए भोलि नरकटियागंजतर्फ नै फर्काइदिने बताएका छन् । त्यसैले हाम्रो छिटो भन्दा छिटो उद्धार होस् ।’

भारतबाट हामीले मेडिकल सर्टिफिकेट समेत साथमा लिएर आएको भन्दै लामिछानेले भने, ‘अलपत्र परेका हामी सबैका स्थानीय तहका प्रमुखलाई जानकारी गराइ सकेका छौं । त्यसैले हाम्रो उद्धारमा ढिलाइ नहोस् ।’

सीमा नाकामा आइपुगेका नेपालीको बारेमा सम्बन्ति निकायको ध्यानाकार्षण गराउने काम भइसकेको प्रहरी निरीक्षक दाहालले बताए । माथिल्लो तहको निर्देशनविना उनीहरुको उद्धार गर्न नसकिने दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment