Comments Add Comment

अर्थतन्त्रमा कोरोना प्रभाव : जीवनसँगै अर्थतन्त्र पनि बचाऔँ

कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको आज ५६ दिन पुगिसकेको छ । हिजोमात्र मन्त्रिपरिषदले थप १५ दिनका लागि बन्दाबन्दी लम्बाउने निर्णय गरेको छ । बन्दाबन्दीका बाबजुद कोरोना सङ्क्रमणको दर बढ्दो छ र यसकै कारण दुईजनाको मृत्यु भइसकेको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण उद्योग/व्यवसाय तथा पूर्वाधार निर्माणलगायतका सबै क्षेत्र बन्द छन् । विप्रेषणको आप्रवाह घट्दो छ । स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिकहरू आफ्नो रोजगारीबाट विमुख हुँदै छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले यही अपि्रलमा प्रकाशित गरेको वल्ड इकोनोमिक आउटलुक अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३.० प्रतिशतले सङ्कुचन हुने भएको छ । त्यस्तै केन्द्रीय तथ्याङ्क विभागका अनुसार यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित रहने प्रारम्भिक अनुमान छ । अहिलेसम्मकै मात्र अवस्थालाई विश्लेषण गर्ने हो भने पनि यो महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान जाँदै छ । करोडौं श्रमिकले आफ्नो रोजगारी गुमाउँदै छन् । अरबौं जनता भोकमरी र खाद्य सङ्कटमा पर्दै छन् । र, विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थला पर्दै छ ।

इतिहासमा पहिलो पटक हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा एकैपटक ठूलो सङ्कट आएको छ । सङ्कटको यस घडीमा जनताको जिउधनको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व रहन्छ । तर, यो सङ्कटमा अर्थतन्त्रलाई पनि सँगसँगै संरक्षण गरिएन भने स्वास्थ्य सङ्कटपछि जनजीविकाको अर्को महासङ्कटको अवस्था आउने जोखिम रहेको हुनाले जनताको जीवनसँगै अर्थतन्त्रलाई पनि जोगाउनु अत्यन्त आवश्यक छ ।

अर्थतन्त्रमा कोरोना प्रभाव

कोभिड-१९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले उद्योग, कलकारखाना, व्यापार, व्यवसाय लगायतका सबै क्षेत्र ठप्प छन् । उद्योग व्यवसाय बन्द हुँदा यसको असर त्यसका लगानीकर्ता, मजदुर र आश्रति परिवार, बैंक तथा वित्तीय संस्था, उत्पादन र बजारीकरणका विभिन्न चक्रमा आवद्ध सबै अवयवदेखि उपभोक्तासम्म परेको छ ।

एसियन डेभलपमेन्ट बैंकले हालै सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार कोरोनाका कारण गरिएको बन्दाबन्दीले विश्व अर्थतन्त्रमा ८८ खर्ब डलर बराबरको क्षति पुग्ने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण कोरोनाको प्रभाव बढीमा ६ महिनासम्म रहने अनुमानका आधारमा गरिएको एडीबीले जनाएको छ । नेपालमा कोरोनाको प्रभाव कस्तो र कति पर्ने छ भन्ने यकिन तथ्य अझै आएको छैन ।

केन्द्रीय तथ्याङ्क विभागको प्रतिवेदनले यो वर्षको आर्थिक वृद्धिदर कम रहने त भनेको छ तर नेपालको अर्थतन्त्रमा के कस्तो दीर्घकालीन प्रभाव पार्छ भन्ने प्रष्ट पारेको छैन । त्यो अवस्थाको यकिन गर्न सकिने अवस्था पनि छैन । हालै नेपाल सरकारले राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा एउटा समिति बनाएको छ । यसले यो बन्दाबन्दीले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावको बारेमा केही कुरा भन्ने नै छ । नेपालमा एक दिनको बन्दाबन्दीले अरबौं रुपियाँको नोक्सानी हुने गर्छ । त्यसैले यसको प्रभाव निकै भयावह र दीर्घकालीन नै हुने देखिन्छ ।

युरोपियन ट्रेड युनियन कन्फेडरेसनले कोरोनाका कारण गरिएको बन्दाबन्दीबाट ईयू अन्र्तगतका देशमा मात्र बेरोजगारहरूको संख्या कम्तीमा ४० लाख थपिएको अनुमान गरेको छ । बेरोजगारीको असर हाम्रो जस्तो अनौपचारिक अर्थतन्त र असुरक्षित श्रमिकको बाहुल्य रहेको विकासोन्मुख मुलुकमा बढी हुन्छ । यतिबेला विकसित र विकासोन्मुख दुवै राष्ट्रका श्रमिक र व्यवसायहरू सङ्कटमा परेका छन् । लामो समयसम्म रहने यो सङ्कटले साना तथा मझौला व्यवसायलाई पुनः सञ्चालनमा समस्या देखिएको छ । धेरै मुलुकहरूमा कलकारखाना तथा व्यवसायमा श्रम कटौतीदेखि श्रमिकलाई जागिरबाट अल्पकालीन विदा दिने क्रम सुरु भइसकेको छ ।

नेपालको सन्दर्भमा वर्तमान असहज परिस्थितिले पर्यटन, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय लगायतका क्षेत्रमा पारेको असरका कारण लाखौं श्रमिक/मजदुरको रोजगारी धरापमा परेको छ । त्यस्तै, ५० लाखभन्दा धेरै नेपालीहरू बैदेशिक रोजगारीमा रहेका छन् । उनीहरूको रोजगारी अहिले उनीहरुले काम गर्ने मुलुकको आर्थिक परिस्थितिमा निर्भर रहन पुगेको छ । त्यसको १० देखि २० प्रतिशत श्रमिक स्वदेश फर्किने आँकलनहरू आएका छन् । सरकारलाई ती नेपाली स्वदेश फर्काउने दबाब प्रतिदिन बढ्दो छ ।

नेपालमा वर्षको ५ लाखभन्दा धेरै नयाँ श्रमशक्ति श्रम बजारमा आउने गर्छन् । यसको १० प्रतिशतलाई पनि आन्तरिक रोजगारीको व्यवस्था नभएको अहिलेको अवस्थामा बाहृय परिस्थिति आफ्नो अनुकूल नहुँदा बेरोजगारीको अवस्था भयावह बन्न सक्ने अनुमान गर्न सकिन्छ । कुनै पनि मजदुर तथा श्रमिकको आम्दानीको ९० प्रतिशतभन्दा धेरै रकम दैनिक उपभोग्य वस्तु खरिद र जीविकोपार्जनमा खपत हुने सरकारी तथ्याङ्क रहेको छ । यदि बन्दाबन्दीको अवस्था यसरी लम्बिदै गयो र कुनै कारणबस श्रमिकहरूको रोजगारी गुम्ने अवस्था सृजना भयो भने यसले पक्कै पनि उनीहरूको जीवनयापन थप कष्टकर हुने निश्चित छ ।

अब विश्व श्रम बजारमा भयानक अवस्था आउने अन्तर्राष्ट्रिय श्रम सङ्गठन -आईएलओ) ले बताएको छ । उसका अनुसार विश्व श्रम बजारमा झण्डै ८० प्रतिशत, अर्थात् दुई अर्ब सत्तरी करोडभन्दा धेरै श्रमिकहरूमा यसको असर पर्ने छ । अहिले एकैपटक सामुदायिक स्वास्थ्य, अर्थतन्त्र र श्रम बजारमा निकै ठूलो असर परिसकेको छ ।

आईएलओका अनुसार खाडी मुलुकहरू दोहोरो आर्थिक समस्यामा पर्ने छन् । आन्तरिक बन्दाबन्दीका कारण सृजित समस्या र विश्वभरको बन्दाबन्दीका कारण तेलको व्यापार र मूल्यमा आएको उच्च गिरावटले यी मुलुकहरू आर्थिक मन्दीमा जाने देखिन्छ । यसले त्यहाँका नेपालीको रोजगारीमा पनि असर पर्ने छ । खाडी मुलुक नेपालीहरूको बैदेशिक रोजगारीको पहिलो गन्तब्य हो ।

यो वर्ष ७ खरब १६ अर्ब रुपियाँ मात्र विप्रेषण आउने अनुमान केन्द्रीय तथ्याङ्क विभागको थियो । कुल ग्राहस्थ उत्पादनमा यसको योगदान २७ प्रतिशतको हाराहारीमा रहेको छ । यसै कारण पनि देशकै विदेशी मुद्रा सञ्चिती, बैंकिङ्ग तरलता, मजदुरसहित उनका आश्रति परिवारको जीवनयापन र समग्र राष्ट्रिय अर्थतन्त्रमा यसको असर निकै गहिरो हुने आँकलन सजिलै गर्न सकिन्छ ।

त्यस्तै, सन् २०२० नेपालको पर्यटन क्षेत्रको लागि विशेष वर्ष रहेको थियो । लामो तयारीपछि नेपाल सरकारले यो वर्षलाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने तयारी गरेको थियो । यसको लागि सरकार र निजी क्षेत्रबाट अर्बौं रुपियाँ लगानी भइसकेको छ । पर्यटन वर्षकै तयारी स्वरूप थुपै्र पाँच तारे होटलदेखि, मोटेल, रेस्टुरेन्ट, हवाई तथा स्थल यातायात र होमस्टेमा लगानी गरिएको थियो । तर, कोभिडको सङ्क्रमणसँगै यो क्षेत्र धरासायी बनेको छ । पर्यटन क्षेत्र पुनर्जीवित हुन पनि लामो समय लाग्ने देखिएको छ । यसैले नेपालको आशालाग्दो सम्भावना बोकेको यस क्षेत्रको धराशयी अबस्थाले एकातिर अर्बौंको लगानी खेर जान लागेको छ भने त्यसमा आश्रति १०औं लाख श्रमिक/कर्मचारीको अवस्था नाजुक बन्दै गएको छ ।

बन्दाबन्दीका कारण कृषि क्षेत्रअन्तर्गतका पशुपक्षी, नगदेबाली, तरकारी तथा फलफूलको उत्पादन तथा बजारीकरणमा व्यापक असर परिसकेको छ । कृषि व्यवसायमा आवश्यक मल, बिउ, दाना तथा उपकरणको अभाव र उत्पादित सामग्रीको बजारीकरणमा आएको समस्याका कारण कृषकहरू प्रत्यक्ष मारमा रहेका छन् । उत्पादित बाली भित्र्याउने र नगद हातमा लिने समयमा तराईका किसान क्वारेन्टाइन, पीसीआर परीक्षण, कोरोना त्रास र बन्दाबन्दीको मारमा फँसेका छन् । न कामदार पाइन्छन् न उचित मूल्य नै । हरियो डलर भनिने चियाका पातहरू बगानमै झ्याङ्गिएका छन् । कफी प्रशोधन गर्न सकिएको छैन । तरकारी खेतमै कुहिएको छ । खरबुजा बगरमै अड्किएका छन् भने दुध, अण्डा, कुखुरा, माछा तथा अन्य मासुजन्य उत्पादनहरूले आवश्यक बजार पाएकै छैन । यसैले कृषकहरू ठूलो सङ्कटमा परेका छन् ।

अर्थतन्त्र पनि जोगाऔं

लामो समयको पूर्ण बन्दाबन्दीपछि सरकारले ४२ प्रकारका उद्योगहरूलाई आंशिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले गरेको निर्णय स्वागतयोग्य छ तर यी उद्योगहरू सञ्चालनका विधि, प्रकृया र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड नभएका कारण उद्योग सञ्चालन बारेमा सरकार र व्यवसायी दुवै अलमलमा परेका छन् । उद्योग सञ्चालनका लागि औद्योगिक कच्चा पदार्थ, उत्पादन, मजदुर, ढुवानी र बजार आवश्यक पर्छ । औद्योगिक कच्चा पदार्थ, उत्पादन, मजदुर, ढुवानी र बजारबिना उद्योग चलाउन सम्भव छैन । यसका लागि उत्पादन र बजारका सबै चक्रको पारस्परिक सम्बन्ध सुचारु गर्नुपर्ने हुन्छ । अन्यथा उद्योगमात्र खुल्दैनन् । सरकारले सम्बन्धित सरोकारवाला उद्योगी व्यवसायीहरूसँग छलफल गरी स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्ड पूरा गरेर उद्योग व्यवसाय सञ्चालनको उपयुक्त वातावरण बनाउनु जरुरी देखिन्छ ।

त्यस्तै, विश्वका धेरै देशहरूले आफ्नो राष्ट्रिय अर्थतन्त्रलाई जोगाउन ठूलाठूला राहतका कार्यक्रमहरू ल्याइसकेका छन् । अमेरिका, युरोप आदिका मुलुकहरूदेखि हाम्रा छिमेकी देशहरू चीन, भारत र बङ्गलादेशले समेत आफ्नो अर्थतन्त्र जोगाउन यस्ता स्टिम्युलस प्याकेजको घोषण गरिसकेका छन् । हामीले पनि यसमा ढिलाइ गर्नुहुन्न । निजी क्षेत्रलाई विश्वासमा लिएर तद्नुसार समन्वय र सहकार्यमा अगाडि बढ्दामात्र अहिलेको सङ्कटको सहज निकास निस्कन सक्छ ।

संकटग्रस्त अर्थतन्त्रलाई सुधार गर्न सबैभन्दा पहिले मुलुककै अर्थतन्त्रको दुईतिहाइभन्दा धेरै योगदान रहेको निजी क्षेत्रलाई विश्वासमा लिनु पहिलो र मुख्य उपाय हो । आन्तरिक रोजगारी र राज्यको करको मुख्य स्रोत नै निजी क्षेत्र हो । विप्रेषण र आयात कम हुँदा राजश्वमा आउने ह्रासले गर्दा उत्पन्न आन्तरिक स्रोतको जोखिम न्यूनीकरणमा यसको सहयोग, साथ र सहकार्य अहिले अति महत्वपूर्ण देखिएको छ ।

अहिलेलाई हाम्रा यिनै उद्योग, कलकारखाना, व्यापार र व्यवसायलाई थोरै बुस्ट गर्दा आधा समस्या समाधन हुन्छ । अर्थतन्त्र पनि बच्छ, रोजगारी जोगिन्छ अनि भोकमरी तथा खाद्य संकट टर्छ र जीवनयापन सहज हुन्छ । यसैले जनताको जीवन सँगसँगै मुलुकको अर्थतन्त्र पनि जोगाऔं र सङ्कटको सँगसँगै मिलेर सामना गरौँ ।

(उद्योगी ढकाल आइएमई ग्रुपका अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment