Comments Add Comment

कोरोना महामारीका प्रभावहरू

यतिबेला विश्व मानव समुदायको लागि टाउको दुखाइको विषय बनेको छ, कोरोना भाइरस । चीनको वुहानबाट फैलिएको कोरोनाले विश्वलाई एक फन्को लगाएको छ । समुन्द्रपारिका मुलुकदेखि दक्षिण एसियालाई समेत यसले नराम्ररी गाँज्दैछ । आजको दिनसम्म कोरोनाबाट विश्वभर ४८ लाख बढी संक्रमित भएका छन् भने तीन लाख बढीले ज्यान गुमाइसकेका छन् । नेपालबाहिर बसेका नेपालीहरूको संक्रमित दर र मृत्युदर पनि धेरै छ । नेपालमा पनि कोरोना भाइरस तीव्र  रुपमा फैलिँदैछ । अहिलेसम्म दुई जनाले ज्यान नै गुमाइसकेका छन् ।

कमजोरीबाट सिक्नुपर्ने पाठ

पछिल्लो दिनसम्म संक्रमितको संख्या मात्र गनिरहेकोमा सिन्धुपाल्चोककी सुत्केरी र बाँकेका युवाको कोरोनाको कारण मृत्यु भएपछि यसको त्रास अरू बढेको छ । यी पछिल्ला घटनाक्रमले हामीलाई केही सोच्न बाध्य बनाएको छ । सिन्धुपाल्चोककी गर्भवती महिलालाई कहाँ संक्रमण भएको हो ? काठमाडौं डेरामा, अस्पतालमा वा सिन्धुपाल्चोकमा ? अहिलेसम्म टुंगो लागेको छैन । महाराजगञ्जको शिक्षण अस्पतालमा प्रसूतिका क्रममा उनलाई संक्रमण भएको हो कि त्यसअघि नै उनी संक्रमित थिइन् ? कुनै परीक्षणविना नै उक्त महिलालाई भर्ना गर्नु अस्पतालको कमजोरी हो । कम्तीमा गर्भवती महिललाई भर्ना गर्नु र प्रसूति गराउनुअघि कोरोना परीक्षण गर्नुपर्ने हुन्थ्यो ।

उनलाई अस्पतालमा ल्याउनुअघि नै कोरोना संक्रमण भएको थियो भने उनको उपचारमा संलग्न चिकित्सक एवं स्वस्थ्यकमीहरुले धेरै सजगता अपनाउन सक्थे ।  ती महिलामार्फत संक्रमणको सम्भावित जोखिमबाट स्वास्थ्यकर्मीहरूले आफूलाई बचाउन सक्थे । यसका साथै गर्भवती महिलाले पनि समयमै उचित उपचार पाउने थिए । उनलाई सम्भावित खतराबाट मुक्त गर्न सकिन्थ्यो र सघन उपचार गर्न सकिन्थ्यो ।

जोखिम वर्गको सुरक्षा

अब कुनै सन्देह रहेन कि यो संक्रमण भित्रभित्रै समुदायमा फैलिसकेको छ । यो महामारीविरुद्ध लड्नबाहेक हामीसँग अर्को विकल्प रहेन । यसका लागि के लकडाउन मात्र उपयुक्त हुन्छ ? लकडाउनले त भाइरसको सम्भावित फैलावटलाई नियन्त्रण गर्न सहयोग गर्ने मात्र हो । तर, अब जरुरी छ समुदायमा कोरोना परीक्षण र उचित उपचारको व्यवस्थापन । संक्रमण देखिएको क्षेत्रमा पूर्णत: सिल गर्ने, परीक्षणको दायरा बढाउने, संक्रमितको यात्रा विवरण खोज्ने, यथाशीघ्र उपचार गर्ने काम गर्नुपर्नेछ । मृतक महिला र युवाको सम्पर्कमा रहेकाहरूलाई आइसोलेसनमा राख्न जरुरी छ । ती सबैको बेलाबेलामा परीक्षण गर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस र्‍यापिड टेस्टले दुर्घटना त निम्त्याइरहेको छैन ?

महामारी भित्रभित्रै फैलिरहेको अवस्थामा को संक्रमित छन् भनेर यकिन गर्न कठिन हुन्छ । लक्षण देखिएपछि मात्र उपचारको खोजीमा दौडिने परिपाटीले संक्रमणको दर अरू बढाउँदै लानेछ । त्यसैले संक्रमितको सम्पर्कमा रहेका स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, राहत बाँड्दै कार्यमा संलग्नहरू, पत्रकारहरू सबैजना यो अवधिमा घुलमिल भएका हुन सक्छ । त्यसैले सबै जनाको परीक्षण आवश्यक हुन्छ ।

सचेत र सर्तक हुने बेला 

अबको अवस्थामा सबैजना घरभित्रै बस्नु नै उचित हुनेछ । अनिवार्य रुपमा मास्क प्रयोग गर्ने, एक आपसमा दुरी कायम गर्ने, सरसफाइमा ध्यान दिने, किनमेलका सरसामानहरू ल्याएपछि राम्ररी साबुन वा सरफले धोएर मात्र प्रयोग गर्ने वा अल्कोहलयुक्त झोलले सफा गर्ने, अनुहारमा बारम्बार हातले छोइरहने प्राकृतिक व्यवहार नियन्त्रण गर्नुपर्नेछ ।

भोकमरी र महँगीबाट जोगिन

चैत्र १० गतेबाट लागू गरिएको लकडाउनले स्वास्थ्य क्षेत्रबाहेक अरू विविध क्षेत्रमा प्रत्यक्ष असर परेको छ । देशको अर्थतन्त्रलाई हेर्ने हो भने यो महामारीले कुल गार्हस्थ उत्पादनमा असर पारिरहेको छ । कृषि, उद्योग, सेवा र व्यापार-व्यवसाय नराम्ररी प्रभावित भएका छन् । कृषिजन्य व्यवसायमा परेको असर क्रमश: कम हुँदै जाने देखिन्छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान बढाएर अन्य क्षेत्रमा भएको ह्रास कम गर्ने उपाय खोजिनुपर्छ । यो महामारीले खासगरी कृषि उत्पादन बढाउनुपर्ने जिम्मेवारी थपिदिएको छ । यसका लागि हामीले खेतबारी जमिन बाँझो नराखी उत्पादनमा जोड दिनुपर्ने देखिन्छ ।

लकडाउन लम्बिरहेको अवस्थामा दैनिक उपभोग्य वस्तु बाहिरबाट आयत गर्न सक्ने स्थिति नभएमा चरम अभाव, महँगी र भोकमरीको शृंखला सुरु हुने र यसले सामाजिक विद्वेष पैदा गर्ने खतरा हुन्छ । यो कुरालाई मध्यनजर गर्दै उपयुक्त तयारी गर्नुपर्ने वा कदम चाल्नुपर्ने आवश्यक्ता देखिन्छ ।

श्रमशक्तिको सदुपयोग गर्ने अवसर

यो महामारीको समयमा विदेश जान बञ्चित युवा शक्ति, अन्य क्षेत्रहरू जस्तै उड्डयन, पर्यटन, होटल रेस्टुरेन्ट, यातायातजस्ता पेसा-व्यवसायबाट विस्थापित भएका श्रमशक्तिलाई कृषि तथा निर्माण क्षेत्रमा लगाउँदै विदेशी भूमिमा पसिना बगाउनबाट मुक्ति पाउनेमा आशावादी हुने ठाउँ छ । यतिबेला भारत, खाडी मुलुक तथा युरोप अमेरिका पुगेकाहरूले पनि आफ्नो माटो एवं घर आँगन सम्झिँदा हुन् । आपत् विपतमा आफ्नै गाउँ-ठाउँ प्यारो लाग्दो हो । यो महामारीले जीवनमा क्षणिक सुखसयल र सेवा सुविधाले मात्र अर्थ नराख्ने रहेछ भन्ने बोध भएको हुनुपर्छ ।

दुःखसुख गरेर आफ्नै आँगनमा रमाउन पाउनु, आफ्नै परिवारसँग बस्न पाउनु जुन आनन्द छ। बिछोडको पीडाले आक्रान्त भएका मनहरू पक्कै त्यो सुनौलो अनुभवहरूको कल्पना गर्दै विदेशमा प्रतीक्षारत छन् । र पो त्यो टन्टलापुर घाममा भोक प्यास नभनी चालिएका ती पाइलाहरूले गन्तव्य पुग्दाको सुखानुभूतिका लागि विदेश पुगेका नेपालीहरू तड्पिइरहेका आभाष हुन्छ । सबैमा राष्ट्रियताको भावना जगाएको छ । यो राष्ट्रप्रेम सदा कायम रहोस् ।

शिक्षामा परिमार्जनको खाँचो

यो वर्षको शैक्षिकशत्र केही महिना ढिलो भएपनि विद्यार्थीका पढाइलाई निरन्तरता दिनेबारे नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ । अनलाइन पढाइ एउटा भरपर्दो विकल्प हुन सक्छ । तर, अनलाइनको पहुँच र सुविधा सबैतिर छैन । त्यसैले यसका लागि अन्य विकल्पजस्तै टेलिभिजन, पत्रपत्रिका आदिको प्रयोग गर्न सकिन्छ । केही महिना ढिला भए पनि यो वर्षको मध्य र अन्त्यतिर पठनपाठनको चाप देखिएता पनि शैक्षिकशत्र पूरा गर्न सकिनेमा दुईमत नहोला । उच्च शिक्षा र प्राविधिक शिक्षाको परीक्षा प्रणाली केही परिमार्जन गरेर समयमै परीक्षा पनि सञ्चालन गर्न सकिन्छ ।

स्वास्थ्य सेवाको महत्वबोध

कोरोनाको यो महामारीले हामीमा स्वास्थ्यको महत्वबोध गराएको छ । मान्छेको जीवन छोटो छ तापनि पलपल बाँच्ने लालसाले अभिप्रेरित भएको हुन्छ । स्वस्थ्य नै धन हो भन्ने तथ्य फेरि एकपटक यर्थाथपरक रुपमा बुझाएको छ । सरकारले पनि स्वास्थ्य क्षेत्रको महत्व र संवेदनशीलतालाई अरू नजिकबाट बुझ्नै अवसर पाएको छ।

स्वास्थ्य क्षेत्रलाई उपेक्षा गर्न नहुने रहेछ भन्ने महसुस गराएको छ। सरकारले स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक वर्षमा नयाँ नयाँ प्याकेज ल्याउनुपर्ने तथा स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुपर्दछ।

सबै सरकारी र निजी कर्मचारीहरूको तलबबाट निश्चित प्रतिशत स्वास्थ्य बिमाका लागि छुट्याएर सम्पूर्ण स्वास्थ्योपचार निःशुल्क गर्नेतर्फ सोच्ने बेला भएको छ । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेर अघि बढेमा देशका उर्जाशील युवा शक्तिलाई देशमै केही गर्नका लागि प्रेरणा मिल्नेछ ।

यी विचारहरू लेखका निजी हुन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment