Comments Add Comment

राहतमा जनप्रतिनिधि र हुनेखानेको निर्लज्जता

६ जेठ, सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका– १, भारदहले वडाका अतिविपन्नलाई प्रतिपरिवार ११ सय ५० रुपैयाँको राहत प्याकेजमा १५ किलो चामल, दुई किलो दाल, एक लिटर खानेतेल र एक किलो नुन वितरण गर्‍यो ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकमा लकडाउन गरेको बेला वडा कार्यालयले वितरण गरेको राहत लिन भारदह चोक पुगेका २५ जनाभन्दा बढी वडावासी रित्तो हात फर्किए ।

तिनैमध्येका एक गोपाल विश्वासले भने, ‘राहत पाउनेको सूचीमा मेरो नाम किन नपरेको भनेर सोध्दा वडाध्यक्ष भीमराज मण्डलले यहाँबाट भाग्छस् कि हान्दिउँ भन्दै लाठी उठाउनुभयो ।’

उनका अनुसार, वडाध्यक्ष मण्डलका आफन्तहरू भने राहत लिएरै गए । राहत वितरणमा झेल भएपछि वडाका विपन्नहरूले विरोध गर्दा वडाध्यक्ष मण्डलले प्रहरी टोली बोलाएर भिड हटाएको विश्वास बताउँछन् । उनी भन्छन्, ‘त्यो दिन राहत वितरण पनि रोकेर वैशाख ४ गते दिने भनियो ।’

कुल एक हजार दुई सय ४५ घरधुरी रहेको वडा नम्बर १ मा सुरुमा एक हजार दुई सय जनाको नाम राहत पाउनेको सूचीमा थियो । त्यसलाई नगरपालिकाले अस्वीकृत गरेपछि बनाइएको सूचीमा आठ सय परिवार समावेश थिए । त्यो पनि अस्वीकृत भएपछि वडा कार्यालयले पाँच सय ८२ परिवारको सूची तयार पारेको थियो ।

त्यसमा वडाध्यक्ष मण्डलको भाइ–बुहारीसहित आफन्तहरूको समेत नाम परेको थियो । वडाध्यक्षका भाइ–बुहारी इन्दुदेवी मण्डलको राहत छिमेकी सञ्जय ठाकुरले बुझेको फारममा देखिन्छ ।

वडासदस्य सञ्जय खड्काले पनि आफ्ना काकाहरू रमानन्द खड्का र वासुदेव खड्काको नाम सूचीमा राखेर राहत वितरण गरेका छन् ।

राहत सूचीको क्रमसंख्या २४३ मा रहेका जगदीश यादव साविकको भारदह गाविसका उपाध्यक्ष थिए । क्रमसंख्या ५०९ का चेतनारायण यादव र पूर्वगाविस उपाध्यक्ष जगदीश यादव पाँच–पाँच बिघा जग्गा पक्की घरका मालिक हुन् ।

पूर्व–पश्चिम राजमार्गको भारदह चोकमै पक्की घर भएका जर्गनाथ इसर र लक्ष्मण साहले पनि वडाको राहतमा १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन लिए ।

राहत वितरणका लागि प्रदेश– २ सरकारले जारी गरेको निर्देशिकामा राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा रहेका व्यक्तिका परिवारलाई दिन नहुने उल्लेख छ । निर्देशिकाले अगाडि भनेको छ–घरायसी/पारिवारिक कुनै पेसा–व्यवसाय नभएको, दैनिक ज्याला, मजदुरी गर्नेबाहेक अन्य कुनै आयस्रोत नभएको परिवारलाई राहत वितरण गरिनेछ ।

राहत वितरणका लागि बनाइएको समितिमा समाजवादी पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका फुलेन्द्र राउतले भाइबुहारी लाखोदेवी राउतको नाममा राहत लिएका छन् । (हे. लाखोदेवीले बुझेको राहतको भर्पाइ )

उनले राहत सूचीमा आमा बौकीदेवी र भाइ अर्बेन्द्र राउतको पनि नाम राखेका थिए । तर, विरोध भएपछि क्र.सं ७९ मा रहेको बौकीदेवीको नाम काटेर बैजनाथ मण्डल र क्र.सं ३५ मा रहेका अर्बेन्द्रको ठाउँमा नन्दन मिश्रलाई राहत दिइएको थियो ।
नेताका भाइको नाम हटाएर राहत पाएका मिश्रले १५ पटक धाउँदा १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन पाएको बताए ।

राहत वितरण समितिमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि रहेका जगदीशप्रसाद सिंहले पत्नी रेणुदेवीको नाम क्रम संख्या १३७ मा राखेका थिए ।

वडाध्यक्ष मण्डल सबैले नाम राख्न खोज्दा वास्तविक विपन्नले अझै राहत नपाएको स्वीकार गर्छन् । ‘अन्य दलका प्रतिनिधिले पाँच सय जनाको सूची बनाउँदा सारा गडबडी भयो’, उनी भन्छन्, ‘वडाका दुई सय परिवार वास्तविक विपन्नलाई राहत दिने पहल गरिरहेको छु ।’

उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (अहिले जनता समाजवादी) बाट निर्वाचित वडाध्यक्ष हुन् । उनको पार्टीका नगर समिति सदस्य रामु विश्वास तथा वडा सदस्यहरू फागु गाइम, वीरेन्द्रकुमार मण्डल, पना मलाह, राजेन्द्र मण्डल र भोलाप्रसाद मण्डलले पनि वडाबाट राहत लिएका छन् ।

‘मृतक’ले पनि राहत बुझे

हनुमाननगर कंकालिनी नगरपालिकाको राहत वितरण सूचीमा १५ मंसिर २०६८ मा मृत्यु भएका गुलटेन सदाले पनि राहत बुझेको देखिन्छ ।

उनले पनि १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन लिएको वडा १ को विवरणमा छ । (हे. मृत्युदर्ता प्रमाणपत्र र क्र.सं. ३२ मा रहेको उनको नाम) ।

नगरपालिकाका मेयर शैलेश साह राहत वितरणमा सबैभन्दा बढी विवाद वडा नम्बर १ मा भएको बताउँछन् । उनी भन्छन्, ‘वडाध्यक्ष र जनप्रतिधिहरूले विपन्नको होइन, धनी, आफन्त र मृतकको समेत नाम राखेको गुनासो आएको छ ।’

कोरोना महामारीका कारण श्रमजीवी वर्गलाई बिहान–बेलुका हातमुख जोर्न नै धौ–धौ परेको बेला दलका नेता, जनप्रतिनिधि र सम्पन्न परिवारले राहत लिएर लालच र निर्लज्जताको पराकाष्ठा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment