Comments Add Comment

प्लास्टिक : स्वस्थ्य र पर्यावरण दुवैका लागि हानिकारक

कोरोना भाइरसको नकारात्मक असरलाई एकातिर छाड्ने हो भने अर्को पाटो निकै लाभदायक देखिएको छ, खासगरी प्रकृति र पर्यावरणमा। अनियन्त्रित रुपमा बढ्दै गएको भौतिक गतिविधि ठप्प हुँदा विश्वकै आकाश सफा, स्वच्छ भएको छ । धर्तीले विश्राम पाएको छ। प्रकृति आफ्नै लयमा सुस्ताउँदैछ ।

पर्यावरण एवं प्रकृतिमा देखिएका यी सकारात्मक परिवर्तनसँगै हामीले आफ्नो जीवनशैलीलाई कति परिमार्जन गर्न सक्यौं। जसले पर्यावरणमा कुनै न कुनै योगदान पुग्छ । हामीमध्ये धेरैजसो अहिले लकडाउनका कारण घरभित्र समेटिएका छौं। घरभित्रै हाम्रो दैनिकी चल्दैछ। यस्तो अवस्थामा हामीले आफ्नो घरलाई कति प्रकृतिमैत्री बनाइरहेका छौं ?

जस्तो कि हामीले दैनिक जीवनमा अत्यधिक मात्रामा प्लास्टिकजन्य पदार्थ प्रयोग गर्छौं । प्लास्टिकको प्रयोग गर्ने, जथाभावी फ्याक्ने, उचित विर्सजन नगरी आगोमा जलाउनेजस्ता गतिविधि जारी राखेका छौं वा त्यसमा केही सावधानी अपनाएका छौं ?

यो प्रश्न किन पनि उठ्छ भने हाम्रो घरभान्सामा अत्यधिक मात्रामा प्रयोग हुन्छ, प्लास्टिकजन्य पदार्थ । चाहे खाना खाने कचौराको कुरा गरौं वा सागसब्जी बोक्ने झोलको । कुनै न कुनै माध्यमबाट हामीले प्लास्टिकको प्रयोग बढाउँदै लगेका छौं । जबकि प्लास्टिकजन्य पदार्थ स्वास्थ्य र पर्यावरण दुवैका लागि अति हानिकारक छ ।

हाम्रो घरको भान्छा कोठाको मात्रै कुरा गर्ने हो भने पनि नुन, घिउ, तेल, आँटा, चिनी, ब्रेड, बटर, जाम, सस आदि सबैकुरा प्लास्टिकको भाँडामा प्याक भएर आउँछन् ।

हामीले घरमा पनि धेरैजसो कुराहरू प्लास्टिकको कन्टेनरमा नै राख्ने गर्छौं । सस्तो, हल्का र ल्याउन लैजान सजिलो हुने कारणले मानिसहरू प्लास्टिकका भाँडालाई मनपराउँछन् ।

सावधानी

एक अध्ययनका अनुसार पानीमा नघुल्ने र बायोकेमिकल एक्टिभ नहुने कारणले शुद्ध प्लास्टिक कम विषालु हुन्छ । तर, जब यसमा अर्को किसिमको प्लास्टिक र रङ्गहरू मिसाइन्छ यो हानिकारक सावित हुन सक्छ ।

गर्मीको मौसममा ती केमिकल खेलौना वा अन्य उत्पादनहरूबाट पग्लेर बाहिर निस्कन सक्छन् । यो खतरालाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाले बच्चाको खेलौना र चाइल्ड केयर प्रोडक्टहरूमा यस खालको प्लास्टिकको प्रयोगलाई सीमित गरेको छ ।

यसैगरी युरोपले पनि सन् २००५ मै यसमाथि प्रतिबन्ध लगाएको थियो । पछि जापानसमेत अन्य ९ देशहरूले पनि यसमाथि प्रतिबन्ध लगाएका छन् ।

यसै त हामी सबै मानिस पानीको लागि बोतल वा खाना राख्नको लागि प्लास्टिकको लञ्चबक्सको प्रयोग गर्छौं । तर, यसबाट हुने हानिको बारेमा हामी अनभिज्ञ छौं ।

प्लास्टिकले मानव स्वास्थ्यमा यस्तो असर गर्छ

सहज रुपमा पाइने प्लास्टिकको भाँडाले मानव स्वास्थ्यमा खतरनाक असर गर्न सक्छ । विशेषगरी प्लास्टिकको भाँडामा प्रयोग हुने रसायनले बालबालिका, गर्भवती महिला र रोग प्रतिरोधी क्षमता कम भएका मानिसहरूलाई बढी असर गर्छ ।

साना बच्चाहरूको रोगप्रतिरोधी प्रणाली कमजोर हुने भएकाले प्लास्टिकको प्रयोगले उनीहरूलाई धेरै हानि गर्छ ।

त्यस्तै, गर्भवती महिलाको पेट भित्रको बच्चालाई पनि प्लास्टिकको भाँडाको धेरै प्रयोगले असर गर्न सक्छ । जन्मिने बच्चामा यसले शारीरिक अपांगता, मस्तिस्क घात, मुटुरोग देखा पर्न सक्छ ।

प्लास्टिकमा हुने रसायनको कारण महिलाहरूमा स्तनक्यान्सर पनि देखिन सक्छ । पुरुषहरूमा भने मधुमेह, मुटुरोग, घाँटीको क्यान्सर र प्रजनन् क्षमतामा असर गर्न सक्छ ।

त्यसैले प्लास्टिकको भाँडाको प्रयोगमा कमी ल्याएमा वातावरणलाई स्वच्छ बनाउने मात्रै होइन मानव स्वास्थ्य पनि राम्रो बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment