+
+
Shares

आइसोलेसन वार्ड छैन, स्कुलमा रात काट्छन् कोरोना संक्रमित

क्वारेन्टाइनमा १५ सय छन्, भीटीएम र स्वाब संकलन गर्ने व्यक्ति छैन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते २१:४७

७ जेठ, कपिलवस्तु । ‘९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि त भयो, आइसोलेसनमा राख्न सकिएको छैन । बाँकी १५ सयको परीक्षण गर्दा संक्रमितको संख्या तीन अंकको पुग्न बेर छैन । उनीहरुलाई कसरी उपचार गर्ने होला ?’ महाराजगञ्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले टेलिफोनमा सुनाए ।

पछिल्लो २४ घण्टामा नेपालमा थपिएका २५ संक्रमितमध्ये ९ जना महाराजगञ्ज नगरपालिकाका हुन् । लकडाउनको समयमा भारतबाट आएका उनीहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरेलका अनुसार अहिले ४८ वटा क्वारेन्टाइनमा गरी १ हजार ६ सय १६ जना छन् । उनीहरुमध्ये धेरै जना पछिल्लो समय आएका छन् ।

२९ वैशाखमा जिल्लामा एकैदिन १० जना संक्रमित भेटिएपछि स्थानीय प्रशासनले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको थियो । तर यही अवधिमा भारतबाट धेरै नेपाल फर्किएका छन् । कपिलवस्तुमा पनि यसरी आउनेहरुको संख्या ठूलो छ ।

खरेलका अनुसार बुधबार संक्रमण पुष्टि भएकाहरु क्वारेन्टाइनमा बसेको करिव दुई साता भइसकेको थिए । दुई साता पुगेका १०० जनाको पीसीआर विधिबाट टेष्ट गर्न थ्रोट स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ७४ जनाको टेष्ट गर्दा ९ जना संक्रमित भेटिए ।

आइसोलन वेड छैन, स्कुलमा रात काट्छन् संक्रमित

बुधबार विहान महाराजगञ्ज नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएसँगै उनीहरुलाई उपचार गर्न कुन अस्पताल लैजाने भन्ने खोजी सुरु भयो । नगरपालिकाका मेयर अब्दुल कलाम लगायतले प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य प्रमुखसँग कुराकानी गरे ।

तर आइसोलेसन वेड जिल्लामा त छैन, प्रदेश नम्बर ५ भित्र समेत खाली नरहेको खबर आयो । ‘बुटवल, दाङ कता पठाउन सकिन्छ भनेर प्रयास गरेका हौं, तर प्रदेशभरमा नै वेड खाली छैन भनेर सीडीओसा’बले खबर गर्नुभएको छ’ खरेलले भने ।

अब संक्रमितहरुलाई स्थानीय जानकी माविमा राखिने भएको छ । संक्रमितमध्ये महिलालाई एउटा र पुरुषलाई अर्को तलामा राखिनेछ । दुबै तलामा शौचालयको व्यवस्था छ । तर त्यहाँ न एम्बुलेन्स हुनेछ, न चिकित्सक र नर्स नै । ‘हामीसँग डाक्टर नर्स छैनन् । नगरपालिकासँग भएको दुईमध्ये एउटा एम्बुलेन्स बिग्रिएको छ’ एक जनप्रतिनिधि भन्छन्, ‘त्यसैले यो रात काट्ने ठाउँ मात्र हुनेछ ।’

यद्यपि प्राथमिक स्वास्थ्य केन्द्र नजिकै भएकाले आपत पर्दा सहयोग लिन सकिने उनले सुनाए ।

न भीटीएम छ, न स्वाब संकलन गर्ने व्यक्ति

महाराजगञ्ज नगरपालिकाले सुरुमा क्वारेन्टाइन स्थल बनाउँदा खाट, ओढ्ने र ओछ्यानको व्यवस्था गरेको थियो । तर जब भारतबाट आउनेहरुको संख्या बढ्दै गयो, त्यो सम्भव हुन सकेन । प्रमुख प्रशासकीय अधिकृत खरेल भन्छन्, ‘क्वारेन्टाइनमा बसेका मानिसहरु स्थानीय नै छन्, त्यसैले उहाँहरुले आफ्नै घरबाट मगाउनुभयो ।’

क्वारेन्टाइनमा राखेर मात्र भएन, उनीहरुलाई कोरोना संक्रमण भए नभएको परीक्षण गर्नुपर्‍यो । यसका लागि थ्रोट स्वाब संकलन गर्ने भाडो भाइरल ट्रासपोर्ट मेडियम (भीटीएम) कै अभाव भयो । जिल्ला र प्रदेशमा माग गर्दा पनि पाउन गाह्रो ।

बल्लबल्ल पाएको भीटीएममा १०० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइयो ।

अब १५१६ जनाको परीक्षण गर्नुपर्नेछ, तर भीटीएम छैन । त्यसमाथि नयाँ समस्या थपिएको छ स्वाब संकलन गर्ने व्यक्तिको अभाव । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार संकलन गरिएको स्बावको रिपोर्ट पोजेटिभ आयो भने संकलनकर्ताको पनि परीक्षण गर्नुपर्छ र रिपोर्ट नेगेटिभ आए मात्र पुनः संकलन गर्न सक्छन् ।

नगरपालिकाका स्वाब संकलन गर्न ल्याबका दुई जना थिए । उनीहरुले एक दिनमा १०० जनाको स्वाब संकलन गरेका थिए । त्यसमध्ये ९ जनामा संक्रमण देखिएकाले ल्याबका दुई जनाको पनि परीक्षण नगरी अरुको स्वाब संकलन नहुने भयो ।

आरडीटी गरेर घर पठाइयो

महाराजगञ्ज नगरपालिकाले क्वारेन्टाइनमा बसेका मध्ये ८० जनाको भने र्‍यापिड डाइग्नोस्टिक टेष्ट (टेस्ट) गरेको छ ।

त्यसमा ४ जनाको पोजेटिभ र ७६ जनाको नेगेटिभ आएको छ । आरडीटी नेगेटिभ आएकाहरुलाई घर पठाइएको छ । ‘एक साता होम क्वारेन्टाइनमा बस्नुस् । त्यो बेलासम्म हाम्रो क्वारेन्टाइनमा भएकाहरुको पीसीआर गर्न सक्यौं भने तपाईहरुको पनि परीक्षण गर्छौं भनेका छौं’ प्रमुख प्रशासकीय अधिकृत खरेलले सुनाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?