Comments Add Comment

कोरोना भाइरस अघिअघि, सरकार पछिपछि

८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै भने, ‘अहिले दुईजना मर्‍यो भनेको कोरोनाले छोएपछि मरेकोलाई कोरोनाले मरेको नै मान्नुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारणले मात्र कोरोनाले भनेको हो । वास्तवमा कोरोनाले बितेको होइन, अरू कम्प्लिेकेसनले हो ।’

त्यसैदिन प्रतिनिधिसभामा प्रधानमन्त्री स्वयंले नेपालमा कोरोनाका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयास विभिन्न कारणले असफल भएको बताएका थिए । दुईजना (सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिला र बाँके नरैनापुरको क्वारेन्टाइनमा बसेका पुरुष)को कोरोनाभन्दा अरू बिमारीको जटिलताले निधन भएको हुन सक्ने उनको दाबी थियो ।

एउटै भवनमा रहेको प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा पुग्दा प्रधानमन्त्रीले ठोकुवा नै गरिदिए, ‘दुवैजनाको मृत्यु कोरोना संक्रमणले भएको होइन, अरू नै कारणले भएको हो ।’

प्रधानमन्त्री ओलीले नेपालीहरूमा रोग प्रतिरोधी क्षमता भएकाले कोरोनाले केही नहुने बताए । उनी त्यतिमा रोकिएनन् ।

नेपालीको रोग प्रतिरोधी क्षमताबारे चर्चा गर्दै प्रधानमन्त्रीले भने, नेपालीहरूमा असाधारण प्रतिरोधी क्षमता छ । त्यसो भनेर लापरवाही गर्नुहुँदैन । प्रतिरोधी क्षमता बढाउनुपर्छ, अरू नियमहरूको पालना गर्नुपर्छ, सर्न दिनुहुँदैन ।’

‘हाम्रो भान्छा जहाँ बेसार हुन्छ, त्यो एन्टिबायोटिक हो । त्यसले प्रतिरोधी क्षमता बढाउँछ । हाम्रो भान्छामा लसुन, प्याज, जिरा, मरिच टिम्बुर, अदुवा हुन्छ । अमला, कागती हुन्छ । यी सबैमा औषधीय गुण छ र प्रतिरोध क्षमता बढाउन पूर्वजहरूले हजारौं वर्षको अनुभवबाट हाम्रो खानेकुरामा अनिवार्य गरेका हुन् ।’

प्रधानमन्त्री ओलीको यो धारणाले प्रष्ट हुन्छ कि कोरोना भाइरसविरुद्धको लडाइँको अगुवाइ गरिरहेको सरकार के सोच्छ ? र यसले कहाँ पुर्‍याउँछ भन्ने धेरैको चासो छ ।

त्यसभन्दा पहिला ताइवान, आइसल्याण्ड, दक्षिण कोरिया र जर्मनी कसरी कोरोना नियन्त्रण गर्न सफल भए भन्ने हेरौं।

ताइवान

सीएनएनका अनुसार कोरोना भाइरसविरुद्ध सफल देशमध्ये ताइवानको आफ्नै विशेषता छ। चीनबाट मात्र १८० किलोमिटर नजिक रहेको ताइवान जनवरी अन्त्यमा विश्वकै सबैभन्दा संक्रमित रहेको देशको सूचीमा दोस्रो स्थानमा थियो । तर, कुल संक्रमितलाई ४४१ मा सीमित राखेको ताइवानमा ४०७ जना निको भइसके । संक्रमितमध्ये ७ जनाले भने ज्यान गुमाए ।

कोरोना भाइरस नियन्त्रण उसले पाएको सफफतालाई मुख्यतः चार कारणमा हेर्न सकिन्छ ।

तयारी : २००३ मा सार्सलाई भोगेको उसले यो पटक कोरोना संक्रमण देखिनासाथ राम्रो तयारी थाल्यो । उसले तत्काल सेन्ट्रल इपिडेमिक कमाण्ड सेन्टर स्थापना गर्‍यो। यसले राजनीतिक बैठक तथा परामर्शका प्रक्रियाहरू पूरा नगरी सोझै काम गर्न पायो ।

छिटो काम गर्नु : ताइवानले जतिबेला काम थालेको थियो, त्यसबेला त्यहाँ संक्रमण देखिएकै थिएन । चीनमा देखिएको कोरोना संक्रमणबारे डब्ल्यूएचओले सम्बोधन गर्नु अगाडि नै उसले वुहानबाट आउने यात्रुहरूको ज्वरो जाँच्न सुरु गरिसकेको थियो ।

ताइवानले २० जनवरीमा नै यात्रा चेतावनी दिएको थियो भने पहिलो संक्रमण भेटिएसँगै आमनागरिकका लागि दैनिक ब्रिफिङ गर्न थालिसकेको थियो । पहिलो संक्रमण भेटिएको एक सातापछि नै क्वारेन्टाइनमा रहेकाहरूको सेलफोनमार्फत इलेक्ट्रोनिक मोनिटरिङ थाल्यो भने चीनको हुबेई प्रान्तबाट आउन रोक लगायो ।

परीक्षण, ट्रेसिङ र क्वारेन्टाइन : ताइवानका अधिकारीहरूले संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान र परीक्षण निकै प्रभावकारी रुपमा गरे । उनीहरूले सबैलाई क्वारेन्टाइनमा राखे । जहाजबाट आएका हरेकको परीक्षण गरे । यतिसम्म कि अरू फ्लु वा महामारीमा निको भएकाहरुको समेत पुन: परीक्षण गराइयो, ताकि कोरोना भए नभएको थाहा होस् ।

प्रविधि र डेटाको प्रयोग : उपलब्ध भएका कोरोना भाइरससम्बन्धी विवरण र आवश्यक प्रविधिको प्रयोग गर्न ताइवान सफल भयो । राष्ट्रिय स्वास्थ्य बिमाको डाटालाई भन्सार र अध्यागमनको तथ्यांकमा मर्ज गरेर जोखिममा भएका मानिसहरू खोजेको थियो । ताइवानले यात्रा प्रतिबन्धपछि उसले १४ दिनका लागि अनलाइन रिपोर्टिङलाई अनिवार्य गरेको थियो भने होम क्वारेन्टाइनमा रहेका ५५ हजारको डिजिटल फेन्सिङ अर्थात् मानिसहरूको शारीरिक गतिविधिमाथि निगरानी गरेको थियो ।

दक्षिण कोरिया

अमेरिका, बेलायत र दक्षिण कोरिया झण्डै एउटै समयमा कोरोना भाइरस संक्रमण देखिएको थियो । तर, अहिले कोरोना संक्रमित र मृत्युहरूको तथ्यांकमा आकास र जमिनको फरक आएको छ । कतिसम्म भने विश्व कोराना महामारीसँग जुधिरहेका बेला दक्षिण कोरियाले आम चुनाव सम्पन्न गरेर देखायो ।

उसले अहिले संक्रमणलाई नियन्त्रण राखेको छ । अहिलेसम्म ११ हजार एक सय २२ संक्रमित भेटिएका छन् । उनीहरूमध्ये दुई सय ६४ जनाको मृत्यु भएको छ १० हजार एक सय ३५ जना निको भइसकेका छन् ।

व्यापक परीक्षण : कोरियाले कोरानाविरुद्ध पाएको सफलताको प्रमुख कारण परीक्षण नै हो । पहिलो केस भेटिनासाथ देशभरमा ५०० बढी स्क्रिनिङ क्लिनिक सुरु भएको थियो । परीक्षणमा पनि नयाँ प्रयास गरे । धेरै ठूलो संख्यामा निःशुल्क गरिएको परीक्षणको नतिजा छिट्टै आएको थियो र सुरक्षित पनि थियो ।

१६ मार्चमा जतिबेला विश्व स्वास्थ्य संगठनले विश्व समुदायलाई कोरोनाविरुद्ध लड्ने उपाय भनेको ‘टेस्ट, टेस्ट, टेस्ट’ भनेर भनिहेको थियो, दक्षिण कोरियामा पाँच लाख मानिसको परीक्षण भइसकेको थियो । उसले वुहानबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्न र उनीहरूको परीक्षण गरी कन्ट्याक ट्रेसिङ गर्न पनि रत्तिभर ढिला गरेन ।

विगतका महामारीबाट सिक्नु : कोरोना भाइरसमा दक्षिण कोरियाले पाएको सफलताको एउटा कारण विगतको महामारीबाट सिक्नु हो । कोरिया सार्स महामारीबाट पीडित थियो । त्यसबाट पाठ सिकेको उसले यस पटक कोरोना संक्रमण देखिनासाथ केन्द्र र प्रदेशबीच राम्रो सहकार्य गर्‍यो । त्यसमाथि प्रविधिले साथ दियो । किनकि कोरियाका अधिकांश मानिस अनलाइनमा जोडिएका छन् । त्यसलाई प्रयोग गरेर यो पटक क्यारेन्टाइनमा बसेकाहरूको राम्रोसँग निगरानी गर्न सफल भयो ।

जर्मनी

ताइवान, आइल्याण्ड र दक्षिण कोरियाले जस्तै संक्रमितको संख्यालाई जर्मनीले नियन्त्रणमा राख्न सकेन । जर्मनीमा एक लाख ७८ हजार बढी मानिस संक्रमित भए । तर, त्यहाँको जनसंख्याको तुलनामा उसले मृत्युदरलाई निकै कममा राख्न सफल भएको छ । कुल संक्रमितमध्ये आठ हजार बढीको मृत्युहुँदा डेढ लाख बढी कोरोना संक्रमित भने निको भइसकेका छन् ।

त्यसैले कोरोनाविरुद्धको लडाइँमा जर्मनीलाई सफल मानिन्छ ।

समुदाय स्तरमा परीक्षण : यसै पनि जर्मनीमा हेल्थ सिस्टम राम्रो छ । त्यसैले त इटाली, स्पेन र फ्रान्सका कोरोना संक्रमितको समेत उपचार गर्न सफल भयो जर्मनी । यसका साथै कोरोना संक्रमणमा उसले समुदाय स्तरमा परीक्षण गर्नु सफलताको कारण बन्यो । उसले कोरोना परीक्षणमा निजी ल्याबहरूलाई समेत संलग्न गराएको थियो र २४ घण्टामा एक लाखसम्म मानिसको कोरोना परीक्षण गरिएको थियो ।

आइसल्याण्ड

धेरै मुलुकमा बिरामी नभएसम्म कोरोना भाइरसको परीक्षण असम्भव जस्तै थियो । सिंगै युरोपलाई कोरोनाले आक्रान्त पारिरहेको थियो । तर, युरोपको सानो देश आइसल्याण्ड फरक रह्यो । त्यहाँ परीक्षण गर्न चाहने जोसुकैले त्यो सुविधा पाए । त्यही कारण कुल कोरोना संक्रमितको संख्यालाई १८०३ जनामा रोक्न सफल आइसल्याण्डमा १७८९ जना निको भइसके भने १० जनाले ज्यान गुमाएका छन् । उसको सफलतालाई पनि चारवटा सूत्रमा राख्न सकिन्छ ।

आक्रमक कदम चाल्नु : आइसल्याण्डले पनि कोरोनाविरुद्ध ताइजानले जस्तै छिटो र सूक्ष्मरुपमा कदम चाल्यो । उसले संक्रमित व्यक्ति पत्ता लगाउने र उसको उपचारमा आक्रमण रणनीति अपनायो । आइसोलेट गर्ने र कन्ट्याक ट्रेसिङ पनि निकै द्रूत गतिमा भयो ।

निजी क्षेत्रलाई साथ लिनु : नेसनल युभिर्सिटी हस्पिटल अफ आइल्याण्ड र बायोटेक कम्पनी डिकोड जेनेटिक्सबीच सहकार्य भयो र एक साताको बीचमा कुल जनसंख्याको झण्डै १० प्रतिशतको परीक्षण भयो । हरेक नागरिकको परीक्षण गर्ने लक्ष्यका साथ काम गरेको यो ल्याब कोरोना भाइरसबारे अध्ययन गर्ने विश्वकै उपयुक्त स्थान बनेको छ ।

रोकथामका उपाय चाल्नु : आइल्याण्डका स्वास्थ्यमन्त्रीले एउटा नारा दिए, स्टे अहेड अफ कर्भ । जब मार्च ३ मा ६ आयातित केस भेटियो । आइल्याण्डले इटालीबाट आएका सबै यात्रुलाई क्वारेन्टाइनमा राख्यो । कम्युनिटी ट्रान्समिसन भेटिएपछि मार्च ६ मा स्वास्थ्य संकटकाल लागू भयो । त्यसपछि क्रमशः स्कुल कलेज बन्द भए, सबै नागरिक १४ दिन क्वारेन्टाइनमा बसे ।

प्रविधिको प्रयोग, गोपनीयताको सम्मान : ताइवानले जस्तै आइसल्याण्डले पनि एप बनायो । जसलाई मानिसहरूले डाउनलोड गर्न सक्थे । यसमा प्रयोगकर्ता कहाँ छन् भने थाहा हुन्थ्यो । यसले कन्ट्याक ट्रेसिङमा सहयोग पुग्यो । तर, सरकारी अधिकारीहरूले यो डाटाको गोपनीयता कायम गरे।

यसरी हेर्दा चारवटै देशले कोरोना भाइरसविरुद्ध लड्न आ-आफ्नो शैली अपनाए । तर, सबै देशमा एउटा समानता छ, कोरोना भाइरस जुन गतिमा फैलिन्छ, त्योभन्दा छिटो गतिमा काम गर्ने र भाइरसलाई फैलनबाट रोक्ने ।

यस्तै कोरोनाविरुद्ध मूर्खता देखाउने केही देश पनि छन् । त्यसको बलियो उदाहरण हो, अमेरिका। जतिबेला अमेरिकामा कोरोना भाइरसले महामारीको रुप लिइसकेका थिएन। राष्ट्रपति डोनाल्ड ट्रम्प यसलाई चाइनिज भाइरस भन्दै वक्तव्य दिइहिँडे । संक्रमण रोक्न राज्यहरूले लकडाउन गर्दा विरोध गरे ।

त्यसको परिणाम अहिले सिङ्गो अमेरिकाले भोगिरहेको छ । संक्रमितको संख्या साढे १५ लाख नाघेको छ । उनीहरूमध्ये ९३ हजार बढीको मृत्यु भइसकेको छ । त्यहाँ हरेक दिन हजारौं नयाँ संक्रमित भेटिएका छन् । २० मेमा मात्र २२ हजार ३६८ केस भेटिएको छ ।

ब्राजिलमा राष्ट्रपति जेयर बोल्सोनारो पनि ट्रम्पभन्दा कम छैनन् । उनी कोराना भाइरसलाई सामान्य फ्लु मान्छन् । राज्यले लगाएको लकडाउनको विरोधमा हुने प्रदर्शनमा सहभागी हुन् । दुवैको पनि सामानता छ, मास्क विरोधी।

त्यसको परिणाम ब्राजिलले भोग्दैछ । कोरोनाको हटस्पट बनेको ब्राजिलमा संक्रमितको संख्या तीन लाख पुग्न लागिसक्यो । यो अमेरिका र रुसपछि कुनै पनि देशमा भेटिएको धेरै संक्रमित हो । उनीहरूमध्ये झण्डै १९ हजारले ज्यान गुमाएका छन् ।

त्योभन्दा डरलाग्दो हरेक दिन भेटिने नयाँ संक्रमितको ग्राफ उकालो लाग्दो छ । २० मेमा १९ हजार ९५१ नयाँ संक्रमित भेटिए। जुन ब्राजिलमा एकै दिन भेटिएको सबैभन्दा ठूलो संख्या हो । तर, अब बिरामी अस्पतालको क्षमता बाहिर हुनेछ ।

ओली सरकारको मोडेल के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीचाहिँ माथि चर्चा भएका दुवैमा पर्दैनन् । न ताइवानकी राष्ट्रपति साइ इङ्ग-वेन, आइल्याण्डका राष्ट्रपति गुडनी जोहान्नेसन, दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन वा जर्मन चान्सलर एन्जेला मर्केलले जसरी कोरोना नियन्त्रण गर्न सफल भएका छन्। न ट्रम्प र बोल्सोनारोले जस्तो मूर्खता नै देखाइहालेका छन् ।

विश्वमा यस्ता देश छन्, जसले कोरोना संकटमा निकै खराबसँग ह्याण्डल गरेका छन् । नेपाल यस्तै देशहरूमध्ये एक हो । अर्थात् प्रधानमन्त्री ओली तेस्रो समूहमा पर्छन् ।

किनकि सरकारले कोरोना नियन्त्रणमा केही गर्दै नगरेको होइन । लकडाउन समयमै गरेकै हो । अझैसम्म जारी रहेकै छ । अन्तराष्ट्रिय हवाई उडान, सीमा नाकामा आवागमनमा रोक लगाएको पनि हो ।

कोरोना भाइरस पहिलोपटक ३१ डिसेम्बरमा चीनको वुहानमा देखियो । त्यसपछि पनि चीन, त्यसमा पनि वुहानमा मात्र संक्रमण देखिएकाले बाँकी विश्व सतर्क मात्र भए, कमैले आफ्नो देशमा तयारी थालेका थिए ।

माघ ९ अर्थात् २३ जनवरीमा नेपालमा पहिलो केस देखियो । त्यसबेला पनि चीनबाहेक थाइल्याण्ड, जापनमा, दक्षिण कोरिया, अमेरिका, ताइवान, हङकङ, मकाउ, सिंगापुर, भियतनाम र फ्रान्समा देखिएको थियो । चीनबाहिर भियतनाममा एक व्यक्तिबाट अर्कोमा संक्रमण पुष्टि भएको थियो । तर, संक्रमितको संख्या चीन बाहिर मात्र होइन, चीनमा समेत भयावह भइसकेको थिएन ।

१० चैत अर्थात् २३ मार्चमा नेपालमा दोस्रो केस भेटियो । त्यसलगतै अन्तर्राष्ट्रिय उडान बन्द गरियो । सीमा नाकामा आवतजावत रोकियो र सरकारले लकडाउन घोषणा गर्‍यो । यो स्वाभाविक पनि थियो । किनकि, वुहानबाट सुरु भएको भाइरसले इटलीमा महामारीको रुप लिइसकेको थियो भने अमेरिका, बेलायतलगायत धेरै देशमा संक्रमित बढिरहेका थिए ।

विश्व स्वास्थ्य संगठनले २४ मार्चमा प्रकाशित गरेको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या तीन लाख ७२ अजार नाघिसकेका थिए । उनीहरूमध्ये १६ हजार दुई सय ३१ जनाको मृत्यु भइसकेको थियो ।

यस्तो अवस्थामा कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लिएको निर्णय सही नै थियो ।

तर, लकडाउनमा जनता मात्र होइन, सरकार आफैँ लक भयो । एकपछि अर्को गल्ती गर्न थाल्यो । लगातारको लकडाउनका कारण अलपत्र परेकाहरु मजदुरहरू गाउँ फर्किन थाले । उनीहरूलाई या त यही राख्नुपर्थ्यो  वा सुरक्षितरुपमा पुर्‍याउन सक्नुपर्थ्यो । यसमा सरकार निकै अल्मलियो । सुरुमा पैदल हिँडेर जान दियो । पछि स्थानीय तहलाई बसमा मान्छे ओर्सान दिइयो ।

अन्तर्राष्ट्रिय सीमा नाकामा आवत-जावत बन्द गर्ने भनेपनि लुकेर आउनेहरू रोकिएनन् । यसले संक्रमित भित्रिन नदिने रणनीति फेल खायो । जानकारहरूका अनुसार सरकारले या त पूर्णरुपमा बन्द गर्ने वा निश्चित नाकाबाट वैधानिकरुपमा आउने दिने र क्वारेन्टाइनमा राख्ने एउटा रोज्नुपर्थ्यो।

अर्कोतिर गाउँ गएकाहरू फेरि काठमाडौं फर्किन चाहे । लकडाउन छ भनियो । तर, थानकोट नआइपुग्दासम्म रोकिएन । यसरी आएकामध्ये कतिले भारतबाट आएका मानिसहरूलाई भेटेका थिए र आफैँ संक्रमित भइसकेका थिए भन्ने पत्तो भएन । उनीहरूसँगै काठमाडौं उपत्यकामा पनि संक्रमण देखियो ।

भारतमा रोजगारीका लागि गएकाहरु फर्किनसक्ने र त्यसले सीमामा चाप बढ्ने पूर्वमान गर्न सकेन । अहिले जब भारतबाट फर्किनेहरु बढे, राख्ने क्वारेन्टाइन स्थलसमेत अभाव हुन थालेको छ । अस्पतालमा आधारित पूर्वतयारी पनि भएन ।

जनस्वास्थ्य विज्ञहरूको भाषामा भन्दा कोरोन भाइरसविरुद्ध लड्ने तयारी गर्न किनिएको समय खेल गयो । भाइरस अघिअघि, सरकार पछिपछि हुने अवस्था आयो । चैत अन्तिममा वीरगञ्जमा भारतीय जमातीमा संक्रमण देखियो, सरकार त्यता केन्द्रित भयो । वैशाख पहिलो साता उदयपुरको भुल्केमा संक्रमण देखियो । सरकार भुल्केतिर दौडिँदा भाइरस पर्सामा देखियो । त्यसपछि नेपालगञ्ज, कपिलबस्तु, रुपन्देही, रौतहट, झापामा ठूलो संख्यामा संक्रमित भेटिएका छन् ।

बिहीबार साँझसम्म संक्रमितको संख्या ४५४ पुग्दा तीनजनाले ज्यान गुमाइसकेका छन् । संक्रमण प्रदेशगतरुपमा सातवटै र जिल्लागतरुपमा ३८ जिल्लामा देखिएको छ । जनस्वास्थ्य विज्ञ डा. किरणराज पाण्डे भन्छन्, ‘कोरोनालाई जित्न यो भाइरसभन्दा अगाडि दौडिनसक्नुपर्छ । हामीले जित्न नसकेपनि सँगसँगै दौडिने प्रयास गर्नुपर्ने थियो । तर भाइरस अघिअघि, हामी पछिपछि भयौं ।’

यसको हुनुका पछाडि उनी दुई कारण प्रमुख मान्छन् । पहिलोः टेष्ट र ट्रेस रणनीति । नेपालले पछिल्लो समय क्वारेन्टाइनमा बसेका वा ट्रभल हिस्टी तथा लक्षण भएकाहरुको मात्र परीक्षण गरेको छ । ‘भाइरस पत्ता लगाउने तरिका यो दुई मात्र पर्याप्त थिएन । यही कारण हामी भाइरससँग दौडमा पछि पर्‍यौं’ पाण्डे भन्छन् ।

किनकि नेपालमा जति संक्रमित भेटिएका थिए, उनीहरुमा कि त लक्षण नै थिएन कि निकै सामान्य मात्र । र, लक्षण नभएका संक्रमितले पनि अरुलाई कोरोना संक्रमण सार्न सक्छन् । तर अस्पतालमा पुगेकाहरुको मात्र परीक्षण गर्दा समुदायमा भएका एक्टिभ केस छुट्यो । त्यसमाथि जति कोरोना भाइरसका संक्रमित पत्ता लगे, उनीहरुको कन्ट्याक ट्रेसिङ निकै राम्रोसँग भएन ।

दोस्रो : माहामारीलाई कम आँक्नू । डा. पाण्डेका अनुसार यस्तो महामारीका बेला जहिले पनि ओभर रियाक्सन अर्थात उच्च संकटको अवस्थाको परिकल्पना गर्नुपर्छ । जस्तो– नेपालमा कोरोना संक्रमितको संख्या यति हजारसम्म पुग्न सक्छ र, त्यसबेला यतिलाई अस्पताल भर्ना गर्नुपर्ने हुन सक्छ, त्यति नेपालीहरुलाई क्वारेन्टाइन गर्नुपर्ने हुनसक्छ भनेर आकलन गर्ने र तयारी गर्ने । यसले भयावह अवस्था आइहाल्यो भने सक्दो सम्हाल्न सकिन्छ । यदि आएन भने धेरै न आत्तिएछन् भन्लान्, तर देश सुरक्षित रहेको सन्देश दिन सकिन्छ ।

तर, कोरोनाको सन्दर्भमा स्वास्थ्य मन्त्रालय र त्यहाँ भएको टिमले कहिल्यै अण्डर रियाक्सन देखायो । नेपालमा कोरोना आउँदै आउँदैन, आएपनि कसैको ज्यान गुमाउनु पर्दैन । नेपालीहरुमा रोग प्रतिरोधी क्षमता बढी छ भन्ने अप्रमाणित तर्कहरु गरिरह्यो । मन्त्रालयलाई सच्याउने अन्तिम ठाउँमा प्रधानमन्त्री थिए । तर, प्रधानमन्त्री ओली पनि त्यही अप्रमाणित र अवैज्ञानिक तथ्यहरु समातेर बसेको मंगलबार राष्ट्रियसभामा गरेको सम्बोधनले प्रष्ट हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संरचनागत कमजोरीसँगै व्यक्तिगत कमजोरी तथा स्वार्थ हावी हुँदा पनि समस्या बढेको एक सरकारी अधिकारीले स्वीकार गरे । भन्छन्, ‘त्यसले जनताको स्वास्थ्यमा खेलवाड गर्ने काम भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् । राजनीतिक ब्युरोमा कार्यरत श्रेष्ठले मधेस र जनजाति राजनीतिमा दख्खल राख्छन् ।

ट्रेन्डिङ

Advertisment