Comments Add Comment

कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयको त्रुटि : गाउँपालिकाको नाम फेरियो, वडा थपियो

९ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको दैनिक विवरण सार्वजनिक गर्दा नियमित जसो त्रुटि गर्न थालेको छ ।

जसका कारण कन्ट्याक ट्रेसिङमा संलग्न अधिकारीलाई अफ्ठ्यारो त परेको छ नै संक्रमित नै नभएको ठाउँका सर्वसाधारणमा पनि त्रास फैलिएको छ ।

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरसहित शुक्रबार बिहान ९ बजे सार्वजनिक भएको विज्ञप्तिमा गोडैता नगरपालिकाको ८, ९, ११, १३ र १४ नम्बर वडा र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८र ४९ वर्षका र १८ वर्षीय महिला संक्रमित रहेको भनिएको छ ।

यो सूचना सार्वजनिक हुनेवित्तिकै सर्लाहीको रामनगरमा १५ संक्रमित भेटिएको हल्ला फैलियो । ‘मन्त्रालयले स्पष्टसँग नलेख्दा गाउँमा त्रास सिर्जना भयो’, रामनगर–७ का वडाध्यक्ष रामसोगारथ तेली भन्छन्, ‘हाम्रोबाट जम्मा परीक्षण भएको संख्या नै ११ जना थियो ।’

ती सबै वडा नं. ४ को तपस्वी जगदेव माविको क्वारेन्टाइनमा राखिएका थिए । ‘परीक्षणभन्दा बढी संक्रमितको आएर बुझ्दा हाम्रो वडामा एक जना मात्र संक्रमित भएको पायौं’, उनले अनलाइनखबरसँग सुनाए । संक्रमित व्यक्ति ४ जेठमा भारतको बम्बईबाट आएका थिए ।

मन्त्रालयका सह–प्रवक्ता अधिकारीले अन्य संक्रमित गोडैता नगरपालिकाको भएको अनलाइनखबरलाई बताए । त्यसो त मन्त्रालयले गाउँपालिको नाम समेत ठीक लेखेको छैन । सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिका अहिले अस्तित्वमै छैन । अहिले भएको रामनगर गाउँपालिका हो र बहुअर्वा साबिकको गाविसको नाम हो ।

गोडैता नगरपालिकामा वडा थपियो !

विज्ञप्तिमा मन्त्रालयले गोडैता नगरपालिकाको वडा पनि थपिदिएको छ । कार्यकारी अधिकृत विकाउकुमार यादवका अनुसार नगरपालिकामा जम्मा १२ वटा वडा छ । तर, मन्त्रायलले विज्ञप्तिमा १३ र १४ नं. वडामा पनि संक्रमित भेटेको उल्लेख गरेको छ ।

यादवका अनुसार संक्रमितमध्ये १३ जनाको पत्तो लागिसकेको छ । यद्यपि, अर्का एकजनाको पहिचान भइसकेको छैन । भेटिएका संक्रमतिमध्ये अधिकांश दिल्ली, मुम्बई, गुजरात लगायतका क्षेत्रबाट आएका छन् ।

उनीहरु सबै क्वारेन्टाइनमा राखिएका थिए । मन्त्रालयले यसअघि पनि कोरोना संक्रमितको सूचना प्रवाहमा लापरबाही गर्दै आएको छ ।

यसअघि धादिङका भनिएका संक्रमित काठमाडौंको बागबजारको प्रेसमा काम गर्ने व्यक्ति भएको खुलेको थियो । दाङमा संक्रमण भेटिएको भनेर सार्वजनिक गर्दा पनि संक्रमित व्यक्ति नक्सालमा रहेको पाइएको थियो भने सिन्धुलीका संक्रमित पनि काठमाडौंमै रहेको खुलेको थियो ।

स्थायी र अस्थायी ठेगानाबारे स्पष्ट रुपमा नहेरी सार्वजनिक गर्दा यस्तो त्रुटि भएको अधिकारीहरु बताउँछन् । तर, वडा नै कसरी थपियो भन्ने विषयमा मन्त्रालयले केही बताएको छैन । बरु आगामी दिनमा थप संवेदनशील बन्ने जनाएको छ ।

मंगलबार राष्ट्रिय सूचना आयोगले पनि संक्रमित व्यक्तिको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको स्थान सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment