Comments Add Comment

इटहरी, बाँके र भारतबाट आएका थिए कैलालीका तीन संक्रमित

९ जेठ, कैलाली । इटहरी, बाँके र भारतबाट लुकीछिपी कैलाली फर्किएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै कैलालीको जानकी गाउँपालिकाका हुन् ।

जानकी गाउँपालिका–४ का १९ बर्षका किशोर, ७ का २३ बर्षका र २६ बर्षका युवकलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु तीनै जना लुकीछिपी आएको प्रहरीले जनाएको छ ।

वडा नम्वर ४ का संक्रमित जेठ १ गते भारत महाराष्ट्रबाट आएका र कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

उनीसँगै अन्य दुई जना पनि फर्किएका जानकी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिए ।

चौधरीले कैलालीमा शुक्रबार भेटिएका अरु दुई संक्रमितमध्ये एक जना इटहरी र एक जना बाँकेबाट फर्किएको बताए ।

उनका अनुसार इटहरीबाट वैशाख ३० गते ट्रक चढेर घर पुगेका युवकमा संक्रमण देखिएको छ । ट्रकमा चालक र ती व्यक्ति मात्रै रहेको जानकारी आएको चौधरी बताउँछन् । संक्रमित युवकसँगै आएका ट्रक चालकको पनि खोजी भइरहेको छ ।

अर्का संक्रमित भने बाँकेको नेपालगञ्जबाट जेठ ३ गते घर पुगेका हुन् । उनी आफैं साइकल चलाएर घर पुगेको चौधरीको भनाइ छ ।

इटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएका तीनै जना संक्रमितलाई स्थानीय सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो ।

‘क्वारेन्टाइनमा बस्दा पनि उनीहरुलाई केही समस्या थिएन’ उनले भने, ‘आज पीसीआर परीक्षणमा पोजेटिभ देखियो ।’

संक्रमित तीनै जनालाई टीकापुर अस्पतालको आइसोलेसनमा पठाइएको चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment