Comments Add Comment

कृषि टिभीले बन्द गर्‍यो ‘कोरोना बिर्साउने गफगाफ’

कार्यकारी निर्देशक भन्छिन्ः अब यस्तो गल्ती दोहोर्‍याउँदैनौं

कृषि टिभीबाट प्रसारण हुँदै आएको ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रम विवादमा परेपछि बन्द गरिएको छ । सो कार्यक्रममाथि आपत्ति जनाउँदै प्रदेश-२ सरकारले संघीय सरकारलाई पत्राचार गरेको थियो ।

कार्यक्रमको गत १ जेठमा प्रसारित एपिसोड विवादमा आएको हो । उक्त एपिसोडमा गोमा पाण्डे होस्टको रुपमा र सूर्य भण्डारी मधेशी चरित्रमा प्रस्तुत भएका थिए । त्यस क्रममा भएका संवादहरूले सिङ्गै मधेशी समुदायको अपमान र बेइज्जत गरेको भनेर प्रदेश २ का महान्यायधिवक्ता कार्यालयले संघीय सरकारलाई पत्र पठाएको थियो ।

कृषि टिभीकी कार्यकारी निर्देशक लक्ष्मी चौधरीले विवाद उत्पन्न भएपछि यो कार्यक्रमको प्रसारण बन्द गरिएको जानकारी दिइन्। साथै कार्यक्रमकी सञ्चालक गोमा पाण्डेलाई सचेत गराइएको उनले बताइन्।

‘कार्यक्रम सञ्चालिकाले शब्द चयनमा गल्ती गर्नुभएको हामीले सुरुमै महसुस गरेका थियौं,’ चौधरीले भनिन्, ‘उजुरी आउनु अगाडि नै मैले एक्सन लिइसकेकी थिएँ ।’

चौधरीको निर्देशनअनुसार भोलिपल्टको कार्यक्रममा गोमाले क्षमायाचना गरिन् । कार्यक्रमलाई युट्युबबाट पनि हटाइयो । तर, त्यसबीचमा यसका क्लिप्सहरु डाउनलोड गरेर भाइरल बनाइसकिएको थियो । प्रेस काउन्सीलमा उजुरी पर्‍यो भने प्रदेश-२ को सरकारले पनि यसमा आपत्ति जनायो । त्यसपछि प्रस्तोतालाई निलम्बन गर्ने निर्णय लिइएको चौधरीले बताइन् ।

‘कार्यक्रम प्रसारण भएदेखि हामीलाई धम्कीपूर्ण फोन र म्यासेजहरू आउन थाले र अहिलेसम्म आइरहेका छन् । हामी अब यस्तो गल्ती नदोहोर्‍याउने सबैसँग प्रतिबद्धता जनाउँछौं,’ उनले भनिन् ।

कार्यक्रममा मधेशी चरित्रमा अभिनय गरेका कलाकारको भने गल्ती नभेटिएको उनले बताइन् ।

कृषि क्षेत्रका गतिविधि र जानकारी दिने यस टेलिभिजनले चैतको तेस्रो सातादेखि ‘कोरोना बिर्साउने गफगाफ’ सुरु गरेको थियो । सरकारले लकडाउन थप्दै गएपछि घरभित्र रहेका दर्शकलाई मनोरञ्जन दिलाउने उद्देश्यले प्रत्येक दिन फरक–फरक अवधारणामा यो कार्यक्रम चलाउने गरिएको थियो ।

मधेशी क्यारेक्टरसँगको गफगाफ बिहीबार प्रसारण हुने गर्थ्यो । तराई मधेशका कृषक र तरकारी व्यवसायीका समस्या उजागर गर्ने र मनोरञ्जन पनि दिने उद्देश्यले यो कार्यक्रम डिजाइन गरिएको चौधरी बताउँछिन् ।

‘गोमाजी अनुभवी प्रस्तोता हुनुहुन्थ्यो । तर, यसमा बोल्नै नहुने कुराहरू बोल्नुभयो,’ उनले भनिन् । प्रत्येक दिन दिउँसो ३ बजे प्रसारण हुने यो कार्यक्रम लकडाउनसम्मका लागि मात्रै डिजाइन गरिएको थियो ।

प्रेस काउन्सिलले माग्यो प्रष्टीकरण
यस कार्यक्रमका विषयमा प्रेस काउन्सिलले कृषि टेलिभिजनलाई स्पष्टीकरण सोधेको छ । काउन्सिलको पत्रमा भनिएको छ, ‘यसले सिङ्गो समुदायप्रति असन्तुलित, जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सम्बन्ध, सामाजिक सद्भावमा खलल पार्ने किसिमबाट सामग्री सम्प्रेषण भएको देखियो ।’

काउन्सिलले प्रसारित सामग्रीको प्रकृति खुलाई क्षमायाचनासहित अविलम्ब सामाजिक सञ्जालबाट उक्त सामग्री हटाउन भनेको छ । साथै, यस विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र आइन्दा यस प्रकृतिका भूल नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नसमेत पत्रमा निर्देशन दिइएको छ ।

‘अन्यथा पत्रकार आचारसंहिता, प्रचलित ऐन, नियम, कानुनअनुसार थप कारबाही अगाडि बढाइने व्यहोरा अवगत गराइन्छ,’ काउन्सिलको पत्रमा भनिएको छ।

कृषि टिभीकी कार्यकारी निर्देशक चौधरीले काउन्सिललाई चाँडै जवाफ पठाउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment