
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधनसँगै भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने साझा संकल्प संसदबाटै गर्ने प्रस्ताव अघि सारेका छन् ।
सरकारले ५ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेको थियो । त्यसअनुसार निशान छाप सच्याउन संविधानको अनुसूची तीन संशोधन गर्ने विधेयक संसदमा दर्ता भएको छ ।
कांग्रेस संसद थापाले राष्ट्रिय प्रतिबद्धताको विषय भएकाले संविधान संशोधन प्रस्ताव द्रूत गतिमा सर्वसम्मत पास गर्नुपर्ने बताएका छन् । नेपालको नयाँ नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाइँमा महत्वपूर्ण अध्याय सुरु हुने उनले बताए ।
‘यस उप्रान्तको काम कूटनीतिक रुपमा अझै जिम्मेवारीपूर्वक गर्नुपर्नेछ । यतिखेर भारतले नेपाली भूभागमा उपस्थितिसँगै नियन्त्रण राखेको छ’ उनले भनेका छन्, ‘अबको बाटो भनेको हामीले हाम्रो भू-भागबाट भारतीय उपस्थिति तथा नियन्त्रणको अन्त्यगरी आफ्नो प्रभावकारी नियन्त्रण कायम गर्ने ।’
आन्तरिक मामिलामा मतभेद भए पनि राष्ट्रिय स्वाभिमानका खातिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा सबै एक ठाउँमा उभिएको उनले बताएका छन् । नेपाली भू-भागमा नेपाली सार्वभौम शक्ति स्थापित नभएसम्म यो एकता अझ कायम रहनुपर्ने थापाले बताए ।
त्यसका लागि नेपालले लिने कूटनीतिक बाटो तथा पहलमा कार्यगत प्रष्टता ल्याउन आपसी रुपमा विविध अभ्यास गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘संविधानमा नयाँ नक्सा संशोधन गरेसँगै भारतको उपस्थिति तथा नियन्त्रणबाट नेपाली भू-भाग प्रभावकारी नियन्त्रणसहित फिर्ता लिइछाड्छौं भनेर संकल्प गरौं ।’
सीमासँग सम्बन्धित विषयमा कांग्रेस र नेकपा संसदले संसदमा दर्ता गरेको दुई संकल्प प्रस्तावलाई पुनर्लेखन गरेर परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेकर कालापानीसहितको हाम्रो भू-भाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्पसहितको साझा संकल्प प्रस्ताव मस्यौदा गरौं र सर्वसम्मत रुपमा संसदबाट पारित गरौं ।’
यसले आफ्नो भूमिमा प्रभावकारी नियन्त्रण स्थापित गर्न नेपालमा गम्भीर छ र नक्सा जारी गर्दा देखिएको एकता अब हुने कूटनीतिक पहलमा समेत कायम रहन्छ भन्ने सन्देश भारतसहित विश्व समुदायलाई जाने कांग्रेस संसद थापाले बताएका छन् ।
प्रतिक्रिया 4