Comments Add Comment
ए डिभिजन लिग :

तीन महिनापछि सार्वजनिक तथ्याङ्कमा पनि गल्ती नै गल्ती

११ जेठ, काठमाडौं । नेपाली फुटबलको शीर्ष श्रेणीको लिग ‘शहीद स्मारक ए डिभिजन लिग २०७६’ को प्राविधिक रिपोर्ट समेटिएको ‘टेक्निकल रिपोर्ट एण्ड स्ट्यास्टिक’ नामक पुस्तिका शुक्रबार सार्वजनिक भयो । जसमा गत वर्ष भएका ए डिभिजन लिगका विभिन्न तथ्यांक समेटिएको छ ।

लिगमा भएका खेल संख्या, गोल संख्या, गोलकर्ता, रातो र पहेँलो कार्डको संख्या, म्यान अफ द म्याच आदि तथ्यांक यसमा समावेश छ ।

यस्तै लिगमा प्रतिस्पर्धा गरेका १४ वटै क्लबको परिचय, खेलाडी र उनीहरुले मैदानमा बिताएको समयबारे पनि उल्लेख गरिएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालमै यो नयाँ काम भएको र दक्षिण एसियामा पनि पहिलो भएको दाबी गरेका छन् । तर यो पुस्तिकामा उल्लेख भएका धेरै तथ्यांक गल्ती छ ।

मंसिर अन्तिम साता शुरु भएर फागुन पहिलो साता सकिएको लिगमा १४ क्लबले प्रतिस्पर्धा गरेका थिए । ९१ खेल भएको लिगमा मछिन्द्र क्लब विजेता बनेको थियो ।

यसमा सशस्त्र प्रहरी बल (एपीएफ) का फरवार्ड आशिष लामाले सर्वाधिक ९ गोल गरे । यस्तै व्यक्तिगत पुरस्कार पाउनेमा दीप कार्की, अनन्त तामाङ, विशाल राई, भरत खवास, प्रवेश कटुवाल र दर्शन गुरुङ थिए । लिगमा कूल २१० गोल भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको एन्फा कम्प्लेक्स मैदानमा सञ्चालन भएको लिगमा कूल २१० गोल भयो । जसमा पहिलो हाफमा १२२ र दोस्रो हाफमा ८८ गोल भए ।

प्रति खेल औसत गोल संख्या २.३ रह्यो । हरेक ४२ मिनेट ६ सेकेण्डमा गोल भएको थियो ।

यस बाहेक तथ्याङ्कमा सट अन टार्गेट, बल पोसेसन, कर्नर, परिवर्तन भएका खेलाडी, फाउल, रातो कार्ड, पहेँलो कार्ड, धेरै गोल गर्ने टिम, धेरै गोल खाने टिम, अफसाइडलगायत विषय समेटिएको छ ।

मछिन्द्र क्लबले कूल २५ गोल गर्दा ब्रिगेड ब्वाइजले जम्मा ५ गोल मात्र गर्‍यो । यस्तै उपविजेता त्रिभुवन आर्मी ७ गोल खाएर कम गोल खाने टिम रह्यो । रेलिगेसनमा परेको सरस्वती युथ क्लबले धेरै ३६ गोल खायो ।

लिगमा संकटा र सरस्वती क्लबबीच एकै खेलमा ८ गोल भयो । उक्त खेल संकटाले ६–२ ले जितेको थियो ।

यस्तै मनाङ मर्स्याङ्दीका खेलाडीले सर्वाधिक ३ रातो कार्ड खाँदा थ्री स्टार मछिन्द्र र सरस्वती युथ क्लबका खेलाडीले कुनै रातो कार्ड पाएनन् । च्यासल युथ क्लबले सबैभन्दा धेरै २७ र सरस्वती क्लबले ८ मात्र पहेँलो कार्ड पायो ।

लिग अवधीभर कूल ४७२ खेलाडी परिवर्तन हुँदा दोस्रो हाफमा ४२४ खेलाडी परिवर्तन भए । पहिलो हाफमा ४८ खेलाडी मात्र परिवर्तन भए ।

त्रिभुवन आर्मी क्लबको सर्वाधिक ८९ सट अन टार्गेट थियो भने सरस्वती क्लबको ४४ सट अन टार्गेट रह्यो ।

च्यासलले सर्वाधिक ८२ कर्नर प्रहारको अवसर पाउँदा फ्रेण्ड्सले ३७ कर्नर मात्र पायो ।

बल नियन्त्रणमा राख्नेमा पनि आर्मी नै अगाडि रह्यो । आर्मीको बल पोसेसन ७५.२ रहँदा ५५.६ प्रतिशत मात्रै रह्यो ।

यसैगरी लिगमा कुल १४ पेनाल्टी अवसर सिर्जना भएको थियो । जसमा १० पेनाल्टी गोलमा परिणत हुँदा ४ पेनाल्टी गोल हुन सकेन ।

लिगमा दुई खेलाडीले ह्याट्रिक गरेका थिए । तर त्यो भने तथ्याङ्कमा उल्लेख छैन ।

खेलको नतिजामा बराबर गोल भएको उल्लेख छ ।

लिग खेल्ने पाका र कान्छा खेलाडी

ए डिभिजन लिगमा सबै भन्दा पाका खेलाडी संकटा क्लबका विष्णु बहादुर सुनार रहे । थ्री स्टार क्लबका पूर्व खेलाडी समेत रहेका उनको उमेर ४० वर्ष १ महिना थियो । यस्तै थ्री स्टारका मनाग्या नकर्मी लिगकै कान्छा खेलाडी बने । उनी १५ वर्ष १० महिनाका थिए ।

पुस्तिकामा सबै क्लबको पाका र कान्छा खेलाडीको नाम र उमेर उल्लेखको प्रयास गरे पनि कतिपयको नाम छुटेको छ ।

औसत उमेरमा भने लिग च्याम्पियन मछिन्द्र क्लब सबैभन्दा पाका टिम देखियो । मछिन्द्रका खेलाडीको औसत उमेर २७ थियो ।

यस्तै ब्रिगेड ब्वाइज क्लबका खेलाडीको औसत उमेर २० वर्ष ९ महिना थियो । ब्रिगेडले ललित स्मृति यू १८ जित्दाका अधिकांश खेलाडीलाई समेटेर लिगमा टिम बनाएको थियो ।

क्लब प्रोफाइलमा गल्ती

पुस्तिकामा क्लब प्रोफाइल नामको छुट्टै शीर्षक छ ।

यसमा ४ क्लबका खेलाडीहरुले लिगमा खेलेको खेल मिनेट र उनीहरुले गरेको गोल राखिएको छ । यस्तै क्लबको सामान्य जानकारी, अध्यक्ष, प्रशिक्षक र कप्तानको जानकारी पनि छ ।

क्लब प्रोफाइलमा क्लबको बल पोसेसनदेखि सट एक्युरेसीसम्म राखिएको छ । तर यस्ता सामान्य तथ्यांकमा पनि गल्ती देखिएको छ ।

लिगमा एउटा क्लबले १३ खेल खेल्दा हरेक खेलको ९० मिनेटका दरले बढीमा एउटा खेलाडीले कूल ११७० मिनेट खेल्छ ।

तर तथ्याङ्कमा धेरै खेलाडीले १२ सय भन्दा बढी मिनेट खेलेको उल्लेख छ । यस्तै क्लबहरुले एक भन्दा बढी गोलकिपर प्रयोग गरे पनि केही क्लबको एक गोलकिपरको मात्र नाम उल्लेख छ ।

च्यासल युथ क्लबको गोलकिपरहरु एलन न्यौपाने र अभिषेक बरालले क्रमशः १३ र १२ खेल खेलेको उल्लेख छ । लिगमा जम्मा १३ खेल हुन्छ । न्यौपानेले नै अधिकांश खेल पूरा समय खेलेका छन् । अभिषेकलले १२ खेल खेल्दा न्यौपाने १२ खेलमा परिवर्तित हुनुपर्‍यो ।

यसमा न्यौपानेले १२६८ र अभिषेक बरालले १ हजार ८ मिनेट खेलेको उल्लेख छ ।

यस्तै नेपाल पुलिसका दुई गोलकिपर लिगमा प्रयोग भएको थियो । तर एन्फाले रोशन खड्का मात्र उल्लेख गरेको छ । रोशनले ४ खेलमा ३९१ मिनेट खेलेको उल्लेख छ । शत्रुघ्न चौधरीको नाम छैन ।

एन्फाको अफिसियल वेवसाइटमा रोशन खड्काले ३ हजार भन्दा बढी मिनेट खेलेको उल्लेख छ । रोशनले ५ खेलमा मात्रै ३ हजार ९१५ मिनेट खेलेको गलत तथ्याङ्क छ । यस्तै शत्रुघन चौधरीले ८ खेलमा ७७० मिनेट खेलेको उल्लेख छ ।

यस्तै शुरुमा जुमानु राईले १ गोल गरेको मात्र उल्लेख छ । जबकी उनले फ्रेण्ड्स क्लबविरुद्ध ह्याट्रिक नै गरेका थिए । त्यो पनि एन्फाले अपटेड गरेको भेटियो । तर प्रकाशित भइसकेको बुकमा अब यो के हुन्छ ?

यी उदाहरण मात्रै हुन् । अरु पनि गल्ती छन् ।

यस्तै एन्फाले सार्वजनिक गरेको बुकमा नवौं र दशौं चरणको नतिजामा एउटै नतिजा समावेश छ ।

शुक्रबार लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले टेक्निकल कमिटीले मिहिनेत गरेर यो तयार पारेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment