Comments Add Comment

केही त बदलिनै पर्छ

हिजो र आजको जीवनशैलीबीच कति परिवर्तन पाउनुभएको छ ? हिजो तपाईंको दैनिकी कसरी चल्दै थियो ? आज तपाईं कस्तो अवस्थामा हुनुहुन्छ ?

खासगरी कोरोना संक्रमण बढेसँगै विश्वकै मानव समुदायको जीवनशैलीमा केही फेरबदल आएको छ । कार्यथलो धाउने, यात्रा गर्ने, जमघट गर्ने, भोजभत्तेर गर्ने, चाडपर्व मनाउने जस्ता गतिविधि शून्य छ । नयाँ-नयाँ लुगा फेर्नुपर्ने, मेकअप गर्नुपर्ने जस्तो अवस्था पनि छैन । धेरैजसो घरभित्रै छन् र घरबाटै आफ्नो दैनिक जीवनयापनका उपायहरू खोजिरहेका छन् ।

यसबाट हामीले आफैँसँग केही प्रश्न पनि गर्नुपर्ने हुन्छ । जस्तो कि हामी घरबाटै गर्न सकिने कामका लागि अन्यत्र दौडधुप गरिरहेका थियौं ? अनावश्यक यात्रा गरिरहेका थियौं ? फजुल खर्च र विलासिताको सामग्री खरिद गरिरहेका थियौं ? अनावश्यक तडकभडक, भोजभतेर गरिरहेका थियौं ? सरसफाइप्रति बेवास्ता गरिरहेका थियौं ? घरमै बनाउन सकिने परिकारका लागि रेस्टुरेन्ट धाइरहेका थियौं ? बार्दली-छतमा सागसब्जी रोप्ने अनुकूलता हुँदाहुँदै पनि बजारमा निर्भर भइरहेका थियौं ?

परिवर्तनको खाँचो

यो परिवर्तनलाई कसरी स्वीकार्दै र सहज बनाउँदै लाने हो ? खासमा जीवनलाई अर्थपूर्ण बनाउनका लागि पनि परिवर्तन आवश्यक हुन्छ । परिवर्तनले जीवनमा नयाँपन ल्याउँछ । जीवनलाई नयाँ मोडबाट डोहोर्‍याउँछ । यसका लागि हामीले आफूलाई सधैं तयारी अवस्थामा राख्नुपर्छ । समय र परिस्थितिअनुसार सार्थक परिवर्तनका लागि केही कुरामा ध्यान दिनु जरुरी छ ।

अहिले लकडाउनको अवस्थामा हामी कतिपय प्रतिकूलतासँग पनि जुधिरहेका छौं । आवश्यक कामका लागि सहज रुपमा आउजाउ गर्न सकिने वातावरण छैन । घरायसी सरसामान सहज रुपमा उपलब्ध छैन । कतिपय कामधन्दा सुचारु गर्ने स्थिति छैन । यद्यपि यससँगै बदलिएका थुप्रै सकारात्मक कुरा पनि छन्, जसलाई हामीले सामान्य दिनहरूमा पनि अनुशरण गर्न सक्छौं ।

जस्तो कि सरसफाइको कुरा। अहिले हामीले सरसफाइमा विशेष ध्यान दिएका छौं। तर, शारीरिक सरसफाइ कोरोनाबाट बच्न मात्र होइन । अन्य किसिमका संक्रमित रोगहरुबाट बच्न पनि हामीले अपनाउनुपर्छ। सरसफाइको अहिलेकै विधिलाई हामीले सधैंका लागि अपनाउन सक्छौं ।

अहिले जथाभावी खर्च गर्ने स्थिति छैन । अत्यावश्यक सामाग्री बाहेक विलासिलताको सामाग्री किन्नबाट अधिकांश बचेका छन् । यसले हाम्रो घरायसी खर्चमा हुने अनावश्यक बोझ कम गराइदिएको छ । यसलाई लकडाउनको बेला मात्र होइन, अन्य दिनमा पनि अँगाल्न सकिन्छ ।

धेरैको जीवनशैली सामान्य र सरल छ । तडकभडा गर्ने, भोज भत्तेर गर्ने जस्तो गतिविधि छैन । यो पनि महत्वपूर्ण पक्ष हो । यसलाई अन्य दिनमा पनि निरन्तरता दिन सकिन्छ ।

घरमा करेसाबारी बनाउने, सागसब्जी रोप्ने, पुराना लुगाफाटो पुन प्रयोगका लागि सिलाउने–मिलाउने, आफ्नै भान्सामा थरीथरी परिकार बनाउने प्रवृत्ति पनि देखिएको छ । यसलाई सधै निरन्तरता दिन सके हाम्रो भान्सालाई मितव्यायी बनाउन सकिन्छ । ताजा खानेकुरा खान पाइन्छ । अनावश्यक घरायसी खर्चमा कटौती हुन्छ ।

अहिले हाम्रो जीवनशैलीमा जुन परिवर्तन आएको छ, त्यो आफैँमा लाभदायक र अनुकरणीय छ । यसलाई हामीले सामान्य दिनमा पनि निरन्तरता दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment