Comments Add Comment

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको पीडा

पछिल्लो समय विश्वभरि चलेको कोरोना भाइरस (कोभिड-१९) को महामारीको त्राससँगै नेपालमा पनि विभिन्न दुखद् र अमानवीय क्रियाकलापहरू समेत भएको देखिन्छ । कोभिडले थलिएको अहिलेको अवस्थामा मानवता भुलेर ज्यान जोगाउन विभिन्न हर्कत हुने गरेको देखिन्छ ।

भाइरसविरूद्ध अग्रपङ्तिमा काम गर्ने चिकित्सक, नर्स र अस्पतालका कर्मचारीहरूलाई हौसला दिनुको साटो उल्टै उनीहरूको मनोबल गिराउने खालका कामहरू भएको पाइन्छ । जसले गर्दा कोभिडविरूद्ध ध्यान केन्द्रित गर्नुपर्ने बेलामा उनीहरू तपसिलका समस्यामा अल्झिनु परिरहेको छ ।

कोभिड अन्य मान्छेजस्तै स्वास्थ्यकर्मीहरूको लागि समेत प्राणघातक रोग हो । बाह्य मुलुकमा स्वास्थकर्मीहरूले कोभिडविरुद्ध लड्दालड्दै ज्यान गुमाएको समाचारले अचानक मनमा बेचैनी र थप पीडा बढेर जान्छ । बाहिरको घटना सुन्दा घरमा भएका आमा बाबु र परिवारका श्रीमान्, छोराछोरीको मायाले झनै मनलाई विक्षिप्त बनाइदिन्छ ।

घरमा भएकी बूढीआमाले गहभरि आँसु पारेर बरु काममा नजा, घरमै बस भनेको सुनेर एकाएक भक्कानिन खोज्छ मन । त्यसलाई जसोतसो सम्हालेर बसेको मनलाई घरबेटीको कचकच र धम्कीले मलजल गरिदिँदा एकाएक मन हतोत्साहित भएर आउँछ । तर, के गर्नु हिम्मत नहारी बिरामीको सेवामा तत्पर रहँदै जोखिमपूर्ण रुपमा सेवामा रातदिन खटिरहँदा एक पोका सुख्खा चाउचाउ र एक घुट्की पानी पिएर बिरामीको सेवा गरेको के यही तिरस्कार र घृणा पाउनको लागि हो र ?

यस्तो दु:खद् परिस्थितिमा आफन्त छाडेर अन्य सहरमा बस्दा घरधनी र यो समाजले आफ्ना छोराछोरी जस्तै व्यवहार गर्नुपर्ने हो । तर, अहिले कोरोना लिएर आउँछौ तिमीहरु नआऊ भन्दा त्यहाँ आफ्ना सन्तानचाहिँ नपरेका होलान र ? अन्य देशको तुलनामा हेर्दा नेपालमा कोभिड-१९ को असर उमेर पुगेका, दीर्घकालीन रोगीभन्दा बच्चा तथा युवाहरूमा बढी संक्रमण भेटियो ।

अझै दु:ख लाग्दो कुराचाहिँ कोरोना भाइरसले आक्रमण गर्दैमा मान्छे मरिहाल्दैन भन्ने कुरा सामाजिक सञ्‍जालमा सन्देशहरू सुनिरहँदा पनि हाम्रो समाजले कोभिड १९ का मात्र होइनन्, क्वारेन्टाइनमा बसेका, आइसोलेसनमा बसेका व्यक्तिहरुको घर नै सिल गर्नुपर्छ भन्दै कुर्लिन्छन् । यसरी जहाँ देखियो त्यो क्षेत्र नै सिल गर्दैमा कोरोना भाइरस भाग्छ र ?

यसरी अस्पतालमा भेटियो अस्पताल सिल गर्ने, कुनै घरमा भेटियो गाउँ नै सिल गर्नै हो भने भोलि बाटोमा मान्छेले मान्छे देख्दै भाग्ने अवस्था नआउला भन्न सकिँदैन । यो कुरा सबैले बुझ्न जरुरी छ कि कोभिड १९ भन्दा पनि अन्य रोगले पनि मान्छे बिरामी होलान् या मान्छे मर्लान् ।

यस्तो अवस्थामा एम्बुलेन्सहरू कुना काप्चामा लुक्ने, शववाहन नठाइदिनेजस्ता कार्यहरूले गर्दा भोलिका दिनमा जटिल परिस्थिति नआउला भन्न सकिन्न । हुन त मृत्युदेखि डर कसलाई लाग्दैन र ? डराउनु पनि स्वाभाविक हो । तर, पनि यस्तो परिस्थिति नदोहोरिन सरकार र अस्पतालले समेत पूर्वतयारी अपनाउनु आवश्यक छ ।

चिकित्सक एवं नर्स अन्य सहयोगी कर्मचारी र स्थानीय जोशिला युवाहरूलाई कोभिड-१९ का बारेमा तालिमहरू दिनु जरुरी छ । यदि यस्तै रहिरह्यो भने एकदिन श्रीमानको मृत्युमा श्रीमती र श्रीमतीको मृत्युमा श्रीमानभन्दा लास उठाउने अरू कोही हुनेछैन । मान्छेको जिन्दगी सधैंभरि एकैनासको हुँदैन ।

कुमालेको चक्र जस्तै घुमिरहने यो जिन्दगीमा कोरोना संक्रमितहरूलाई माया दिऔं । उनीहरूमा आत्मबल बढाउने काम गरौं । भय, चिन्ता, अत्यास लाग्ने वातावरण नबानाऔं । उनीहरूलाई बाँच्न हिम्मत दिऔं । घृणा नगरौं यसैगरी सरकारले आफ्ना प्रतिनिधि, नेताद्वयहरूको परीक्षण त गर्‍यो । तर, सम्पूर्ण अग्रपङ्तिमा खटिएका चिकित्सक, नर्स, टेक्निसियन, अस्पतालमा काम गर्नै सहयोगीका साथै सुरक्षाकर्मीहरूको कोरोना परीक्षण चाँडै गर्नुपर्ने देखिन्छ ।

किनकी कामबाट घर फर्किँदा उनीहरूलाई घरधनीका साथैं समाजले रिपोर्टविना घर प्रवेशमा रोक लगाएको समाचार सुन्दै आएका छौं । त्यसैले अग्रपङ्तिमा काम गर्ने स्वास्थकर्मी र कोरोना भाइरसविरुद्ध लडेकाहरूलाई हिम्मत दिनु भनेको हाम्रोसँगै समाजको समेत दायित्व हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment