Comments Add Comment

संसारबाट बिदा भयो हिटलरको पाल्तु गोही

जर्मन तानाशाह हिटलरले पालेको भनिएको गोही अब यो संसारमा रहेन ।

दोस्रो विश्वयुद्धको बमबारीबाट समेत बाँच्न सफल भएको स्याटर्न नामक उक्त घडियाल गोहीको ८४ वर्षको उमेरमा रुसको मस्कोस्थित चिडियाखानामा कालगतीले मृत्यु भएको हो ।

सन् १९४३ मा बर्लिन चिडियाखानामा भएको बम आक्रमणमा परी बाँच्न सफल भएका केही जनावरमध्ये सो गोही पनि एक थियो । बम आक्रमणमा समेत नमरेको सो गोही अन्ततः आम गोहीभन्दा धेरै उमेरसम्म जीवित रह्यो ।

त्यसबेला बर्लिन चिडियाखानामा यो गोही आकर्षणको केन्द्र थियो । मस्को चिडियाखानाका अधिकारीका अनुसार, हिटलरले उक्त गोहीलाई निकै मन पराउँथे । त्यो गोहीलाई हिटलरकै निजी गोही मानिन्छ ।

बम आक्रमण मात्र होइन, यो गोहीले धेरैपटक मृत्युलाई धोका दिएको थियो । सन् १९८० मा यो गोहीको निकै नजिक कंक्रिटको स्लाब खस्यो । तर यो भाग्यले बाँच्न सफल भयो । एकपटक चिडियाखानाका एकजना आगन्तुकले यो गोहीमाथि ढुंगा प्रहार गरेर गम्भीर घाइते बनायो । केही महिनासम्मको उपचारपछि मात्र गोही निको भयो । केही पटक त यो गोहीले अकस्मात खानपिन नै बन्द गरेको थियो ।

स्याटर्नको जन्म सन् १९३६ मा अमेरिकाको मिसिसिपीको जंगलमा भएको थियो । पछि सो गोही उपहारका रूपमा बर्लिन चिडियाखाना पठाइयो । सन् १९४३ को नोभेम्बरमा बर्लिन चिडियाखानामा भएको बम आक्रमणपछि तीन वर्षसम्म यो गोही गायब भयो । ३ वर्षपछि अन्ततः बेलायती सैनिकहरूले यसलाई फेला पारे र सोभियत संघलाई दिए ।

तीन वर्षसम्म यो गोही कहाँ थियो ? भन्ने बारेमा विभिन्न अड्कलबाजीहरू भए । कतिपयले यो गोही अँध्यारो कुनाहरू तथा घरका भुइँतलाहरूमा लुकेको बताए भने कतिपयले सो गोहीलाई एकजना वरिष्ठ नाजी अधिकारीले पालेको दाबी गरे ।

यो ऐतिहासिक गोहीको मृत्युमा मस्को चिडियाखानले भनेको छ, ‘स्याटर्न एक युगजस्तै थियो । ऊ एक युद्धमा विजयपश्चात् आएको थियो र युद्धको ७४ औं वार्षिकी पनि देखेर गयो । हामीमध्ये धेरैजसो बच्चा छँदा नै उसले देखेको थियो । हामीलाई आशा छ, उसलाई निराश पार्नेछैनौँ ।’
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment