
१२ जेठ, काठमाडौं । कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा बहुआयामिक क्षेत्रमा देखिँदैछ । त्यसमध्ये एक नेपालको वैदेशिक व्यापारमा पाइएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को १० औं महिनासम्म आइपुग्दा गत आव २०७५/७६ को तुलनामा वैदेशिक व्यापारका सबजसो सूचकांक ऋणात्मक देखिएका छन् ।
भन्सार विभागका अनुसार चालु आवको १० महिना (साउन-वैशाख)सम्म कुल ११ खर्ब ७ अर्बको वैदेशिक व्यापार भएको छ । यो गत आवको तुलनामा ११.८९ प्रतिशतले कम हो ।
यसअवधिमा आयात १२.९९ प्रतिशतले खस्किएको छ । निर्यात भने ४.५० प्रतिशतले बढेको छ । निर्यातमा पनि कोरोना प्रभाव सुरु हुनु भन्दा अगाडिको तथ्यांकले सहयोग गरेको हो ।
यो वर्ष सबैभन्दा बढी निर्यात भएको पाम आयल भारतले भित्र्याउन रोकेपछि अब भने निर्यातको वृद्धिदर समेत थामिएको छ ।
वैशाखमा समग्र व्यापार नै खस्कियो
चालु आवको फागुन महिनामा १ खर्ब ३० अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक ब्यापार भएको थियो । चैत महिनामा कुल वैदेशिक व्यापार ६२ अर्ब २० करोड २९ लाख रुपैयाँमा झर्यो । तर, वैशाखमा आउँदा वैदेशिक व्यापार मात्र ४६ अर्बमा संकुचन भएको छ ।
यसअवधिमा आपूर्ति नियमित भए पनि लकडाउनका कारण मुलुक भित्रको खपत घटेको छ । जसले गर्दा समग्र वैदेशिक व्यापारलाई ऋणात्मक बनाएको हो ।
यी दुई महिनामा नेपालमा सबैभन्दा बढी खपत हुने पेट्रोलियम पदार्थको आयात खट्दा त्यसको प्रभाव वैदेशिक व्यापारमा देखिएको हो ।
नेपालमा ४ चैतबाट अन्तराष्ट्रिय उडान-अवतरणमा रोक लगाएको छ । त्यसपछि हवाईमार्गमार्फत हुने व्यापार बन्द भइसकेको छ । नेपालको निर्यात बजारको ठूलो हिस्सा हवाई कार्गो उडानमा निर्भर छ ।
११ चैतयता सरकारले लकडाउन घोषणा गरेपछि दक्षिणतर्फको सीमा नाकाबाट भइरहेको नियमित आयात-निर्यात समेत प्रभावित भएको छ ।
यसअवधिमा अत्यावश्वक वस्तुको आयात मात्र भएको छ । यस अवधिमा औषधीजन्य सामग्रीको आयात भने बढेको छ । उत्तरतर्फ रसुवागढी र तातोपानी नाकाबाट समेत आयात-निर्यात प्रभावित भएको छ ।
आयातमा उच्च गिरावट
चालु आवको पहिलो महिनाबाटै आयात संकुचन हुन थालेको हो । या प्रवृत्ति १० औं महिनासम्म पनि कायम रहेको छ । वैदेशिक व्यापार केही सन्तुलनमा आउँदा आयातमा उच्च गिरावट आएको छ । निर्यात व्यापार सुधारोन्मुख देखिन्छ ।
भन्सार विभागका अनुसार चालु आवको १० महिनामा १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत आवको १० महिनामा ११ खर्ब ७८ अर्ब १३ करोड रुपैयाँको आयात भएको थियो ।
अघिल्लो आवको तुलनामा यस वर्ष १२.९९ प्रतिशतले आयात खस्किएको छ । चालु आवको १० औं महिनासम्म आइपुग्दा निर्यात भने ८२ अर्ब ६ करोड रुपैयाँ भएको छ ।
गत आवको १० औं महिनामा ७८ अर्ब ५३ करोड रुपैयाँको निर्यात भएको थियो । यो आंकडा गत आवको तुलनामा ४.५० प्रतिशतले बढी हो ।
व्यापार घाटा सुधारोन्मुख
आयातमा कमी र निर्यातमा भएको वृद्धिले यस वर्ष १० औं महिनासम्म आइपुग्दा पनि वैदेशिक व्यापार घाटामा भने सुधार भएको छ । वैशाखसम्म चालु आवको कुल व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड रहेको छ ।
व्यापार घाटा अघिल्लो आवको १० औंमहिनासम्म १० खर्ब ९९ अर्ब रहेको थियो । यस वर्ष आयात र निर्यातको हिसातर्फ पनि क्रमशः निर्यातको हिस्सा बढ्दो क्रममा रहेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.४१ प्रतिशत रहेको छ ।
आयातको हिस्सा ९२.५७ प्रतिशत छ । १० महिनासम्मको तथ्यांकअनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा १८.६० प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया 4