Comments Add Comment

कोभिड- १९ र मानसिक स्वास्थ्य

कोभिड-१९ भाइरसले निम्त्याएको विश्वव्यापी महामारीका कारण आम जनजीवन सहज र सामान्य बन्न सकिरहेको छैन । यो लेख तयार गर्दासम्म नेपालमा ५१६ जना व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । नयाँ भाइरस भएकोले यसविरुद्धको एन्टिभाइरल एवम् भ्याक्सिनको अनुसन्धान र विकासमा विश्वभरका सम्बन्धित विज्ञहरु जुटिरहेका भए पनि हालसम्म यस्तो अनुसन्धानले पूर्णता पाउनसकेको छैन । कोरोना भाइरसले मानिसलाई पार्ने असर र मानिसहरु बीचमा भाइरस फैलने सन्दर्भमा समेत नयाँ-नयाँ तथ्यहरु फेला परिरहेका छन् । एक हिसाबले हेर्दा, विश्व स्वास्थ्य संगठन र यस क्षेत्रका विषय विज्ञहरुकै लागि पनि कोरोना भाइरसले अन्योलता बढाइरहेको देखिन्छ । यसकिसिमको अन्योलताका बिचमा भइरहेका विभिन्न अर्नगल प्रचारबाजीहरु समेतका कारण आममानिसहरु हतास र त्रसित बनिरहेका छन् ।

‘कोरोना’, ‘कोभिड’, ‘भाइरस’ ‘संक्रमण’ ‘महामारी’ जस्ता केही शब्दहरु नै अहिले आत्तेस जगाउनका लागि काफी बनिरहेका छन् । मानिसहरुमा अनिश्चित भविष्यको चिन्ताले घर गरिरहेको छ । यी सबै अवस्था र परिस्थितिहरुले वर्तमानमा आम मानिसहरु मानसिक र भावनात्मक रुपमा कमजोर बनिरहेका छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि लम्बिँदै गएको लकडाउन, फेरिएको दैनिकी र घरभित्रै बन्दीजस्तो जीवन बिताइरहँदा सामान्य मानिसहरुमै पनि मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखापर्ने खतरा निम्तिरहेको अवस्था छ ।

अर्कोतर्फ, अहिले पनि ठूलै संख्याका मानिसहरु क्वारेन्टाइनमा बसिरहेका छन् । संक्रमण पुष्टि भएका र सम्भावित संक्रमितहरु आइसोलेसनमा बसिरहेका छन् । लामो समयसम्म एकै स्थानमा बसिरहनु पर्दाको छटपटी, उकुसमुकुस र सम्भावित संक्रमणको त्रासले मानिसहरुलाई अत्याइरहेको छ । संक्रमण पुष्टि भएका बिरामीहरु कोरोना विरुद्धको लडाइँमा मानसिक रुपमा कमजोर देखिनसक्ने खतरा पनि उतिकै रहेको छ ।

पंक्तिकारहरुकै अनुभवमा पनि अस्पतालको आइसोलेसनमा बसेका संक्रमित र शंकास्पद बिरामीहरुको मानसिक स्वास्थ्यको अवस्था अत्यासलाग्दो रहनेगरेको छ । न्युनतम बसाइ अवधि पूरा नहुँदै र डिस्चार्जका लागी योग्य नहुँदै डिस्चार्ज गरिदिन अनुरोध गर्ने, अस्पतालबाटै भाग्नखोज्ने जस्ता गतिविधिहरु यस्ता बिरामीहरुले देखाउने गरेका छन् । चिकित्सक र नर्सहरुको पर्याप्त परामर्शका बावजुद यस्ता बिरामीहरु मानसिक रुपमा कमजोर बन्नेगरेको र मनोबल उकास्नका लागि मनोसामाजिक परामर्शदातालाई अनुरोध गर्नुपरेको अनुभवसमेत रहेको छ ।

यसकिसिमको अप्रत्यासित महामारीका समयमा मानव शरीरमा तनाव उत्पन्न गर्ने हर्मोन (स्ट्रेस हर्मोन) हावी हुन थाल्दछन् । यो हर्मोनका कारण विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्या निम्तिनुका साथै रक्तचाप बढ्ने, अत्याधिक चिन्ता लाग्ने, निद्रा नपर्ने तथा हृदयघात हुनेलगायत शरीरका विभिन्न भागमा असर देखापर्ने सम्मका स्वास्थ्य समस्याहरु देखिनसक्छन् । मानसिक स्वास्थ्य समस्या यस किसिमको महामारीको ‘साइड इफेक्ट’ कै रुपमा देखिने गर्दछन् ।

देखिनसक्ने समस्या र लक्षणहरु

अहिलेको समयमा मानिसहरुमा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या देखिने र महसुस हुने सम्भावना रहन्छ । महामारी र यसबाट आफू संक्रमित हुनपरेमा आउनसक्ने जटिलतासँग बारम्बार डर लाग्ने, जुनसुकै बेला आत्तिने, भोक र निद्रा नलाग्ने, डरलाग्दा सपना देख्ने र निद्रामा कराउने जस्ता समस्या आउनसक्छन् । यस्तै, हातखुट्टा र जीउ काम्ने, टाउको र शरीर दुख्ने, मुटुको धड्कन अनावश्यक रुपमा बढ्ने जस्ता लक्षणहरु पनि देखिनसक्छन् । निराशापन हुने, एक्लै बस्न मन लाग्ने, दिनचर्यामा बदलाव आउने, कुनै पनि विषयमा ध्यान केन्द्रित नहुने आदि समस्याहरु भोग्नुपरिरहेको हुनसक्छ । यतिमात्र हैन, मन चिन्तित एवम् बेचैन भई जीवन बेकार भएजस्तो लाग्ने र आत्महत्या नै गरौंकि जस्तो लाग्ने सम्मका भावनाहरु पनि आउनसक्छन् । यस्ता समस्याहरु वयस्क मानिसलगायत बालबालिका, प्रौढ र महिलाहरुमा बढी देखिने गर्दछन् । साथै, मुटु, मिर्गौला, श्वासप्रश्वास, मस्तिष्क र नशासम्बन्धी रोग भएका मानिसहरुमा अझ बढी मात्रामा यस्ता समस्या देखिने हुन्छ ।

अपनाउनुपर्ने सजगता र व्यवस्थापनका उपायहरु

यस किसिमको महामारी मानव सभ्यतामाथिको चुनौतीका रुपमा रहेको अप्रत्याशित र अनपेक्षित घटना हो । महामारीको पूर्वानुमान मानव निर्मित अत्याधुनिक प्रविधिले पनि गर्न सक्दैनन् । अतः मानव जातिको वशभन्दा बाहिर रहेका यस्तो महामारीको सचेततापूर्वक सामना गर्नुको कुनै विकल्प छैन । यो यथार्थतालाई हृदयङ्गम गरी आफूमा आत्मविश्वास जागृत गर्नसक्नु र महामारीको सम्भावित असरबाट आफू र घरपरिवारलाई सुरक्षित राख्नसक्नु नै मानसिक तनाव घटाउने र हटाउने उत्तम उपाय हो । महामारीको यस घडीमा उत्पन्न परिस्थितिसँग आफूलाई अनुकुलित गराउँदै धैर्यता र आत्मविश्वासले मानसिक रुपमा बलियो रहन धेरै मद्धत पुर्‍याउन सक्छ ।

यसका अतिरिक्त महामारी र कोरोना भाइरस सम्बद्ध विषयमा मात्र अत्याधिक ध्यान केन्द्रित गर्ने, यससम्बन्धी समाचार र जानकारीहरु मात्रै लिइरहने जस्ता क्रमलाई हटाउने, सकारात्मक सोचको विकास गर्ने जस्ता गतिविधिहरु मानसिक स्वस्थताका लागि सहयोगी बन्न सक्छन् । आफूलाई बारम्बार झस्काइरहने र मनमा निरन्तर दोहोरिरहने महामारीजन्य पीडाका भावनाहरुलाई मनमा गुम्स्याएर नराखी आफ्ना घरपरिवार, साथीभाइ, समुदाय आदिसँग व्यक्त गर्नाले पनि मानसिक रुपमा राहत महसुस हुन्छ । अहिलेको समयमा सामाजिक दुरी कायम राख्दै कुरा गर्ने वा फोन, इमेल, सामाजिक सञ्जाल जस्ता माध्यमबाट साथीभाइसँग जोडिन सकिन्छ ।

लकडाउनको समयमा घरभित्र बसिरहँदा सम्भव भएसम्म परिवारसँग पारिवारिक वातावरणमा समय बिताउने, अनधिकृत समाचारहरु एवं अनर्गल हल्लाका पछि नलाग्ने, सुरक्षित रुपमा बस्ने, प्रशस्त पानी पिउने र खानपानमा उचित ध्यान पुर्याउन पनि आवश्यक छ । यस्तै, आफ्नो दैनिकीलाई अहिलेको परिस्थितिसँग समायोजित गर्ने प्रयास गर्ने, आफूलाई सकेसम्म सिर्जनात्मक र रचनात्मक क्रियाकलापमा व्यस्त राख्ने, गीतसंगीत सुन्ने जस्ता उपायहरु पनि मानसिक स्वस्थताका लागि प्रभावकारी बन्न सक्छन् । सकेसम्म ध्यान, योगा, व्यायाम जस्ता आफू बसेकै स्थानमा गर्नसकिने केही कसरतका साथै शारीरिक परिश्रम र मानसिक रुपमा पनि यथोचित आराम लिन जरुरी हुन्छ । स्वयंसेवी भावनाले सुरक्षित रुपमा राहत र सामाजिक सहयोगका कार्यमा संलग्न रहँदा पनि तनावलाई घटाउन मद्दत पुग्दछ । घरपरिवार, साथीभाइ र सहयोगीहरु सँग यस किसिमका कार्यमा संलग्न हुँदा एकातिर अहिलेको सामाजिक दायित्व बहन हुन्छ भने अर्कोतिर स्वस्थ मनस्थिति बनाउने अवसर प्राप्त हुन्छ । यो पवित्र कार्यमा जुटेर पनि मानसिक सबलता हासिल गर्न सकिन्छ ।

मानिसहरुमा मानसिक स्वास्थ्यजन्य समस्याहरु महामारी पश्चातको केही समयसम्म देखिनसक्छन् । समयक्रममा जनजीवन सामान्य बनेसँगै धेरै मानिसहरुमा यस्ता समस्याहरु क्रमशः हट्दै जान्छन् । तत्पश्चात पनि मानसिक स्वस्थता महसुस गर्न नसकिएमा एवम् महामारीको समयमा देखिएका र महसुस भएका समस्याहरुमा कुनै सुधार नभएमा मनोचिकित्सकको सेवा र परामर्श आवश्यक पर्दछ । हाम्रो समाजमा मानसिक समस्या र रोगहरुलाई लुकाउन खोज्ने प्रवृत्ति पनि अर्को गम्भीर समस्याकै रुपमा रहेको छ । आफ्नो इज्जत र प्रतिष्ठासँग जोडेर यस्ता समस्याहरुलाई सकेसम्म ढाकछोप गर्न खोज्ने गलत प्रवृत्ति व्याप्त छ । मानसिक स्वास्थ्य पनि मानव स्वास्थ्यको महत्वपूर्ण आयाम भएकोले यसकिसिमका समस्या एवम् रोगको उपचार र चिकित्सकिय परामर्श अन्य रोगसरह नै आवश्यक छ भन्ने बुझ्न आवश्यक छ ।

आशा गरौं, हाल विश्वव्यापी रुपमा देखापरेको कोभिड-१९ महामारीको संक्रमण र सन्त्रासबाट चाँडै मुक्ति पाइनेछ । अहिलेको समयमा सरकारी आह्वानहरुको पालना गर्दे आफूलाई महामारीको संक्रमणबाट सुरक्षित राख्ने प्रयास गर्नुको विकल्प छैन । सँगसँगै, महामारीको सन्त्रासकै कारण आफ्नो र घरपरिवारको मानसिक स्वास्थ्यमा क्षति नपुगोस् भन्नेतर्फ पनि उतिकै सजग बन्न जरुरी छ ।

(लेखक डा. बाँस्तोला टेकु अस्पतालमा प्रमुख कन्सल्टेन्ट र खतिवडा सोही अस्पतालमा प्रशासन प्रमुखका रुपमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment