Comments Add Comment

कोरोना : आँधीअघिको सन्नाटा !

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व तथा दुईतिहाइ जनमतको जगमा निर्मित सरकारको नीति तथा कार्यक्रम पास भए पनि त्यसले उत्साहको सञ्चार गर्न सकेन । कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने असरका बारेमा विहङ्गम विश्लेषण नीति कार्यक्रममा देखिएन ।

विदेशवाट रोजगारी विमुख भएर फर्कने सहित देशभित्र रहेका लाखौं बेरोजगारका बारेमा भरपर्दो कार्यक्रम आउनै सकेन । यसबाट प्रष्ट हुन्छ –व्यवस्था मात्र फेरियो, जनताको अवस्था ज्यूँका त्यूँ ।

नेतृत्वको कमजोर इच्छाशक्ति –

देशको समृद्धिका लागि इच्छाशक्ति सहितको ‘टावर पर्सनालिटी’ अनिवार्य शर्त हो । तर, नेपालका सन्दर्भमा ‘आफू नबासी उज्यालो हँुदैन” भन्ने मान्यता बोक्ने नेतामात्र नेतृत्वमा पुगे । देशलाई समृद्धिको द्रूतमार्गमा हिँडाउने उच्च मनोबल भएको असामान्य नेतृत्व पछिल्लो कालखण्डमा जन्मनै सकेन ।

शारीरिक र मानसिक दुवै हिसाबले शिथिल व्यक्तिको हातमा पार्टी र सरकारको नेतृत्व पुग्यो । कोहीले बोलेको बुझिँदैन त कोही अरूको साहाराविना हिँडडुल गर्नै सक्दैनन् । नेतृत्व भनेको क्रियाशीलता र सिर्जनशीलताका हिसाबले वैज्ञानिकजस्तै, जिम्मेवारी र दायित्वको हिसाबले आकाशमा उडान भरिरहेको विमानको पाइलटजस्तै र चुनौतीका हिसाबले मैदानमा ओर्लिएको खेलाडीझै हुनुपर्ने थियो । तर, भइदियो ठिक उल्टो ।

आजका मितिमा भन्न करै लाग्छ – राजनीति नै नेतृत्वका लागि केवल ‘गुजारा’को माध्यममा रुपान्तरण भइदियो । आजको मितिमा नेतृत्वमा रहेका पुस्ताको राजनीतिक उदय उग्रक्रान्तिकारीबाट हुने र अवतरण चाहिँ फासफुसकै बाटोमा गयो । हिजो राणा शासकहरूको अदूरदर्शिताका कारण मुलुकमा विकास सम्भव भएन भनियो । राजा महेन्द्रले लोकतान्त्रिक सरकार अपदस्थ गरेकै कारण पञ्चायतभर पनि विकास भएन भनियो ।

प्रजातन्त्रप्राप्तिका दिनहरूमा पनि राजनीतिक स्थिरता नभएकै कारण विकास भएन भनियो । २०५२–०६२ सम्म विकासको बाधकका रुपमा माओवादीलाई अथ्र्याइयो । यी समयक्रमसँगै धेरथोर सत्यता पनि थियो । तर, पछिल्लो समय नेपाली जनताले रोजेको उच्चतम व्यवस्था गणतन्त्र पनि प्राप्त छ र स्थिरता दिन दुईतिहाइको जगमा निर्मित सरकार पनि । तर, पनि विकासको सूचकांक भने सन्तोषजनक छैन ।

दोष सिस्टमलाई दिइए पनि समस्या मूलतः राजनीतिक नेतृत्वमा नै छ । राजनीतिक नेतृत्वमा दूरदर्शिता नभएकै कारण समृद्धिको विषय सपनाको महल बन्न पुग्यो । निर्वाचन ताका समृद्धिको सपनामा झुम्मिएर नेपाली जनताले नेकपालाई स्पष्ट बहुमत दिए । तर, पूर्वप्रधानमन्त्री नै ३÷३ जना र पार्टी अध्यक्ष नै २÷२ जना भएको नेकपा आज आपसमा शीतयुद्धमै व्यस्त छ ।

सके एकले अर्कोलाई पछारी छाड्ने, त्यति नभए च्याखे थापेर दाउ कुर्ने प्रवृत्ति नेकपा मात्र नभई अस्तित्वमा रहेका सबै राजनीतिक दलभित्र मौलाउन पुग्यो । आस्थावान कार्यकर्ता नेतृत्वको नजरमा आँखाको कसिङ्गर बन्दैछन् भने “डन” हरूले धमाधम लोगोसहित संसद भवनमा प्रवेश पाउँदैछन् । यसैबाट पुष्टि हुँदै गयो समृद्धिको सपना र आम नेपालीको नियति ।

राजनीतिक नेतृत्वको कार्यकुशलताको अभावमा देश उखुको बाँसुरी जस्तो भयो । सके बजाउने, नसके रस निल्ने । गर्न हुने र नहुने छुट्टयाइदिने निकाय न्यायालयमै कार्यकर्ता भर्ती गर्न थालियो भने सुशासनको पक्षमा उभिने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपूर्व नै भ्रष्टाचार भएको छैनभन्दै राज्य सत्ताले फर्मान जारी गर्न थाल्यो ।

आजको नेतृत्व परीक्षण हुनुअघि पहँेलो धातुलाई सुन देखेझँै देखिएको थियो । तर, त्यो धातुले सुन वा पित्तल के रहेछ भन्ने आजका मितिमा नेतृत्व आफँैले पुष्टि गरिदियो ।

चुक्दै प्रतिपक्ष –

३ जेठ २०७५ मा एकीकृत भएको नेकपाले लोकतन्त्रकै विरासत ठान्ने नेपाली कांग्रेसलाई प्रतिपक्षीको हैसियतमा समेत पनि निम्छरो सावित गरिदियो । सरकारका नीति तथा कार्यक्रममा विरोधका स्वर नै ननिकाल्दा अघिल्लो पटकको नीति तथा कार्यक्रमको नियति दोहोरिएला भन्ने चिन्ताले विरोधको स्वर निकाल्नुबाहेक मातृभूमि फर्किन बोर्डर देखि सात समुन्द्र पारका नेपालीको चित्कारयुक्त आवाजले प्रतिपक्ष कांग्रेसलाई केवल एउटा वक्तव्य दिनेबाहेक व्युझाउनै सकेन ।

नेकपाको सरकार निर्माणयता कोभिड–१९ बेमौसमी अध्यादेश र सीमा विवाद देखा प¥यो । योसँगै वाइडबडी खरिद प्रकरण र यति होल्डिङ्स लिज प्रकरण यसअघि नै सतहमा देखापरिसकेको थियो । सम्भवतः यी प्रकरणका केही जराहरू प्रतिपक्षसम्म पनि पुगेकै कारण हुन सक्छ । प्रतिपक्षी दल काँग्रेसले कोरोना नियन्त्रणको प्रभावकारिता र सुशासनको एउटा ज्ञापनपत्ररुपि खेस्रा समेत लिएर सिंहदरबार पुग्ने जाँगर चलाएन ।

अग्रजको नाम भजाएर राजनीतिक गुजारा चलाउनु मात्र राजनीति होइन । सत्ताका सामु निरीह प्रतिपक्षी नेतृत्वको अकर्मन्यताको जवाफ गाउँ गाउँका कार्यकर्ताले दिनुपरेको छ । आफ्नो मानो खाएर नेतृत्वले भ्वाङ पारेको रफु गर्दै कार्यकर्ताका दिनहरू व्यतीत हुने गरेका छन् ।

पार्टी नेतृत्व त भोलिको सत्ताको आशासँगै दर्जनांै ठाउँमा आफू चुकेको त्रासका कारण जनताको बोली बोल्न चुक्यो नै । १०/८ वर्ष त हो नि राजनीति भन्नेहरूका लागि राष्ट्र र नागरिकप्रतिको जिम्मेवारी र जवाफदेहिता स्वभावैले कम देखिँदैछ पनि । जीवनको रक्षात्मक अवस्थामा पुगिसकेको नेताबाट आशाराख्ने ठाउँ पनि कमै हुन्छ । तर, नेपालका राजनीतिक दल खासगरी कांग्रेस पार्टीका युवानेतामा देखिएको शिथिलता भने अस्वभाविक लाग्दो छ । युवा नै विचारमा आधारित राजनीतिमा भन्दा ‘नेटवर्किङ पोलिटिक्स’मा रमाउन पुगे । तत्काल लाभहानी हेरिहाल्ने ।

विश्व उदाहरण परै राखौं, सिङ्गापुर, मलेसिया, दक्षिण कोरियाजस्ता देशले गरेको विकासका मोडल र भिजनबाट नेपाली युवा नेताहरूले सिक्नुपर्ने हो । तर, पार्टीका विचार र दर्शनका बारेमा बाहेक युवा नेतामा विकासका बारेमा एउटै मञ्चमा बसेर बहस गर्ने फुर्सद नै छैन । किनकि उनीहरू राजनीति गर्दैछन्, जनताका लागि विकास होइन, नियन्त्रण गुमाउँदै गएको कोभिड–१९ र मुलुकमा देखिएको बेथितिका बारेमा संसदमै पनि आवाज उठाउने कुरा पुतलीसडक पुगेर कोचिङ लिने विषय होइन । नेपालको राजनीतिको विडम्बना नै भन्नुपर्छ, अघिल्लो पुस्ताले छाडेको गलत संस्कारलाई पछिल्लो युवा भनिएको पुस्ताले चुनौती दिन नसक्नु । तसर्थ निचोडमा भन्न सकिन्छ क्रमभङ्गता नेपाली युवा नेताको कि त सत्तामा पुग्ने भ¥याङ अन्यथा बुताबाहिरको विषय बन्न पुग्यो ।

उत्कृष्टताको प्रतिस्पर्धा

विश्व राजनीतिमै प्रभावपार्ने प्रभावशाली नेताहरू आज अघोषित रुपमा उत्कृष्टताको प्रतिस्पर्धा गर्दैछन् । कोभिड १९ द्वारा सिर्जित समस्याबाट आफ्ना देशका उद्योगी÷व्यापारी, सर्वसाधारणसम्मलाई राहतदेखि मनोबल उच्च बनाउन ढाडस समेत दिन प्रतिस्पर्धा गरिरहेकै समय नेपालका प्रधानमन्त्री भने सरकारी निवास बालुवाटारमा कविता कोर्न व्यस्त छन् ।

हिजो सिंगापुर निर्माणमा लि क्वान यु मात्र नभई आधुनिक चीनको निर्माणमा देङको योगदानको विषय लगभग पुरानो हुँदै गयो । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्रवर उत्कृष्टताको प्रतिस्पर्धा गर्दैछन । क्रोयसियाकी राष्ट्रपति ग्रवरले सन् २०१८ को वल्र्डकपमा आफ्ना देशका खेलाडीप्रति देखाएको आत्मीय व्यवहारको चर्चा अहिले पनि सेलाएको छैन ।

हुँदाहुँदा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री कार्यालय रहेको विशाल संरचनालाई विश्वविद्यालय बनाउने उद्घोष गर्दै आफू तीनवटा कोठा रहेको घरमा बस्न पुगे । तर, नेपालका राष्ट्रपतिदेखि नेतासम्ममा “कारगेट” चढनेदेखि सानका खातिर दर्जनौं सुरक्षाकर्मी राख्ने मोहले कसरी सकिएला उत्कृष्टतामा प्रतिस्पर्धा गर्न । तर, तिनै नेता आज आफूमा नभई खोट “प्रेस” मा देख्छन ।

पछिल्लो समय नेपाल सरकारले लिएको सिमाङ्कनको विषय अहिले चर्चामा छ । आफ्नो जमिन रत्तिभर पनि छाड्ने इच्छाकोही पनि राष्ट्रवादीमा हुँदैन । तर, हिजो नेपालको संविधान जारी गर्दा संविधानभन्दाबाहिर रहेको उक्त भू–भाग छाडेर जारी गरिएको संविधान नै त्रुटिपूर्ण रहेकाले माफीसहितको सच्चाइ त्यहीबाट जरुरी छ ।

आजका मितिमा पनि कूटनीतिक वार्ताद्वारा जमिन फिर्ता ल्याउने पहलभन्दा पनि सरकार र सरकारको नेतृत्व वाक्युद्धमा रमाउन पुगेको देखिन्छ । अर्काको मुलुकको प्रतीकका बारे गरिएको टिप्पणी त सरासर बच्पनाको टिप्पणी जस्तो देखिन्छ । सरकार र उसको नेतृत्वले अझै पनि स्थितिलाई भड्किन नदिई कूटनीतिक तवरबाट समाधान निकाल्न नसक्ने हो भने नेपाल र नेपालीले राष्ट्रवादका नाममा सदियांैसम्म झमेला झेल्दै दुःख पाउने निश्चित प्रायः छ ।

अन्त्यमा ꞉ नेपालका राजनीतिक दलसँगै पछिल्लो दुईतिहाइ मतको जगमा निर्मित सरकारसमेत आन्दोलनमा नागरिकले अभिव्यक्त गरेको भावनाको त कुरै छाडौं निर्वाचनताका आफैँले प्रतिबद्धता जनाएको घोषण पत्रअनुसार समेत काम गर्न अक्षम भए । राजनीतिक दल र तीनले जारी गरेको घोषणा पत्रबीचको भेट नै आवधिक निर्वाचनमा मात्र हुन थाल्यो ।

विकासका लागि चाहिने सुशासन, राष्ट्रिय एकता, शान्ति सुरक्षा, राजनीतिक स्थायित्व, कूटनीतिक सम्बन्ध, सामाजिक न्याय जस्ता विषय केवल चुनावी घोषणा पत्रमा उल्लेख गर्ने विषय मात्र बन्न पुग्यो । पछिल्लो समय सरकारले निकै चर्चामा ल्याएको “समृद्धि”को विषय चटकेले जडीबुटी बेच्न जादु देखाएर भुल्याएझैं भयो ।

स्थिरताका नाममा दुईतिहाइको जगमा निर्मित सरकार र सरकारका अस्वाभाविक कृयाकलापका बाबजुद चुक्कसम्म गर्न नसक्ने प्रतिपक्ष हुँदा पनि राजनीतिक स्थिरतासँगै जनताले आशा गरेको काम हुनै नसकेबाट अहिले समय प्रष्टै रुपमा आँधीअघिको सन्नाटाझैं देखिएको छ ।

कोभिड–१९ पछिको राजनीतिले कुन रुप लिन्छ अहिले नै पूर्वानुमान लगाउन नसकिए पनि अहिलेको अवस्थालाई आँधीअघिको सन्नाटाको रुपमा भने लिन सकिन्छ । सच्चिन तयार हुने हो भने समय अहिले नै घर्किसकेको भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment