Comments Add Comment

निलम्वनविरुद्ध एन्फाका ललितपुर अध्यक्षले दिए उजुरी

‘हामी एन्फालाई सहयोग गर्ने एन्फा हामीलाई कारवाही गर्ने’

१२ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले निलम्बन गरेका ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले निलम्बन विरुद्ध उजुरी (अपिल) गरेका छन् ।

थापाले राष्ट्रिय खेलकुद परिषद र एन्फाको अपिल कमिटीमा अपिल गरेको बताए । ‘मैले हिजो नै राखेपमा र एन्फा अपिल कमिटीमा अपिल गरेको छु’ थापाले भने, ‘आज ललितपुर जिल्ला फुटबल संघको बैठक बसेर निलम्बन फिर्ता लिन आग्रह गर्दै एन्फा अध्यक्षलाई पत्र पठाएका छौँ ।’

थापाले फिफा र एएफसीमा पनि अपिल पत्र पठाएको बताए ।

गत वैशाख २ गते एन्फा डे को दिन विधान विपरीत बोलेको र त्यसको स्पष्टिकरण माग्दा चित्तबुझ्दो जवाफ नआएको भन्दै एन्फाले जेठ ५ गते आगामी साधारण सभासम्मको लागि अस्थायी निलम्बन गरेको पत्र थापालाई पठाएको थियो ।

उक्त निर्णय कार्यसमितिबाट नभई सचिवालयबाट भएको भन्दै त्रुटिपूर्ण भएकोले यस कार्यको बदर गरी विधान विपरीत काम गर्नेलाई कारवाही गरिपाउँ भनेर थापाले राखेप र एन्फा र अपिल पत्र पठाएका हुन् ।

त्यसलगत्तै थापाले चुनावी प्रतिशोध र सत्य विषय बाहिर आउने डरले आफूलाई निलम्बन गरिएको प्रतिक्रिया दिएका थिए । सम्बन्धित निकायमा आइतबार अपिल गरेका थापा बी डिभिजन क्लब झम्सिखेलका प्रशिक्षकसमेत हुन् ।

उनले आफूलाई विधान विपरीत निलम्बन गरिएको र त्यो त्रुटिपूर्ण भएको बताएका छन् । ‘मैले जिल्लाको सम्पूर्ण काम समयमै पूरा गरेको छु । तर किन यसरी कारवाही गरियो मैले बुझ्न सकेको छैन’ थापाले भने, ‘हामी क्लबहरु जिल्ला संघ फुटबल विकासको लागि भनेर खटिरहेका छौँ । तर अन्तर्राष्ट्रिय रुपमा सम्बन्ध राख्ने एन्फा भने हामीलाई नै कारवाही गर्छ ।’

ललितपुर जिल्ला अध्यक्ष थापालाई निलम्बन गरेको विषयमा एन्फाभित्रै मत विभाजन देखिएको छ ।

केही दिनअघि एन्फाले ए डिभिजन लिगको प्राविधिक प्रतिवदेन सार्वजनिक कार्यक्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले एन्फाको आन्तरिक समस्या आपसी छलफल गरेर टुङ्गाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment