Comments Add Comment

कोरोना संक्रमण बढ्दै गए के गर्ने, के नगर्ने ?

समय क्रमसँगै विदेशबाट नेपाल आउने संक्रमितको संख्या र नेपालभित्रै सरेको भाइरसबाट संक्रमितको संख्या बढ्ने निश्चित छ । परीक्षणको दायरा साँघुरो हुँदा र परीक्षण गर्ने क्षमता नहुँदा अहिले पहिचान नहुँदै संक्रमितले मृत्युवरण गर्नुपरेको घटनाहरू देखिन थालेको छ ।

कोरोना संक्रमित एक चौथाइदेखि आधालाई कुनै लक्षण देखिँदैन । तसर्थ सम्भावित संक्रमितसँगको भेटघाटको क्रममा समेत संक्रमण पुष्टि भएकाहरूसँग जस्तै सामाजिक दुरी कायम गर्नेलगायतको सावधानी अपनाउनु पर्छ । अर्थात् सम्भावित संक्रमितसँग भेट्दा पनि सामाजिक दुरीको पूर्णत: पालन गर्दै अन्यसँग बोल्दा कम्तीमा ६ फिटको दुरी कायम गर्ने, मास्क लगाउने, हात धुने, अनुहार नछुने अनि आइसोलेसनमा बस्ने गर्नुपर्ने हुन्छ।

तर, आफूले आफैँलाई क्वारेन्टाइन गरेर आइसोलेसनमा बस्दा कुनै केन्द्रमा नगएर घरमै बस्दा पनि हुन्छ। अहिले नेपालमा भएका अधिकांश क्वारेन्टाइन स्थल सरकार तथा विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार छैनन् । जसले गर्दा कतिपय क्वारेन्टाइन स्थल उल्टो संक्रमण फैलाउने अखडा बनेको अवस्था छ । यस्तो बेलामा आफ्नो तथा अन्य व्यक्तिको समेत स्वास्थ्यमा ख्याल गर्दै घरमै सुरक्षित बस्नु उत्तम हुन्छ।

अहिलेको अवस्थामा एकमात्र संक्रमण भेटिएको अवस्थामा समेत अस्पताल नै बन्द हुने अवस्था छ भने कुनै एक क्लस्टरमा संक्रमितको संख्या बढ्ना साथ ती क्षेत्रको स्वास्थ्य संस्थाले धान्न नसक्ने अवस्था छ।

यस्तो अवस्थामा अतिआवश्यक नभएसम्म अस्पताल भर्ना नहुनु नै श्रेयस्कर हुन्छ।

बुझ्नुपर्ने दुई विदेशी शब्द

क्वारेन्टाइन : संक्रमण फैलाउने कोरोना भाइरसको सम्पर्कमा आएका सम्भावित संक्रमितलाई निश्चित समय छुट्टै ठाउँमा राखेर उनीहरूको निगरानी गरिने अवस्था।

आइसोलेसन : अन्य व्यक्तिबाट छुट्टै, वा अरूको सम्पर्कमा जान नदिई छुट्टै राखिएको अवस्था ।

क्वारेन्टाइन तथा आइसोलेसनमा बस्नुपर्ने सम्भावित संक्रमित को हुन् ?

  • विगत दुई हप्ताभित्र संक्रमण फैलिएको क्षेत्रबाट यात्रा गर्दा या ती क्षेत्रमा बसोबास गरेका व्यक्ति
  • पहिचान भएका संक्रमित वा अन्य सम्भाव्य संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरू
  • कोरोना भाइरस संक्रमणपश्चात मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरू
  • विगत दुई हप्ताभित्र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर निको भएका तर संक्रमण भएको निर्क्योल हुन बाँकी व्यक्तिहरू
  • संक्रमण निको भयो भनेर पुष्टि भएका व्यक्तिसमेत थप दुई हप्ता बस्दा राम्रो

कस्ता व्यक्ति वा समुदाय क्वारेन्टाइन स्थलमा मात्रै बस्ने ?

हाल नेपाल सरकारले जारी गरेको मापदण्ड पूर्णपालना भएका क्वारेन्टाइन स्थल सायदै होलान् । निम्नलिखितमध्ये कुनै एक मात्र पनि सुविधा नभएमा त्यस्ता क्वारेन्टाइन स्थलको प्रयोग गर्दै नगर्नु राम्रो । कुनै पनि ठाउँमा क्वारेन्टाइन स्थल बनाउँदा तल उल्लेख गरिएका न्यूनतम मापदण्डहरू अनिवार्य गर्न सम्बन्धित निकायलाई दबाब दिनुपर्छ।

  • सकेसम्म एक व्यक्ति एक कोठा भएको स्थलमा बस्ने । अझ छुट्टै शौचालय र स्नानगृह (बाथरुम) उपलब्ध हुनु आवश्यक छ । त्यस्तो नभएमा पनि एक व्यक्तिले प्रयोग गरेपछि उचित तरिकाले डिसइन्फेक्सन गर्ने व्यवस्था भएको हुनुपर्छ ।
  • एउटै कोठामा बस्ने अवस्था भए तापनि थोरैभन्दा थोरै व्यक्ति सगोलमा बस्ने र त्यहाँ पनि कम्तीमा ६ फिटको दुरी कायम भएको हुनुपर्छ ।
  • खानपिनमा उचित दुरी कायम राख्नुपर्छ । प्रत्येक प्रयोगकर्ता, स्वास्थ्यकर्मी, स्वयंसेवक र आगन्तुकहरूले अनिवार्य मास्क र आवश्यकताअनुसार पीपीईको प्रयोग गर्ने व्यवस्था भएको हुनुपर्छ ।
  • कम्तीमा पनि सामान्य औषधिउपचारको व्यवस्था भएको र चौबीसै घण्टा फोन सुविधा भएको हुनुपर्छ ।
  • स्वास्थ्यकर्मीको उपलब्धता चौबीसै घण्टा भएको, कोरोना संक्रमितमा अकस्मात गम्भीर लक्षण विकशित हुनसक्ने हुनाले समयमै उचित स्वास्थ्योपचार केन्द्र पुग्ने माध्यम उपलब्ध भएको हुनुपर्छ।
  • चाँडोभन्दा चाँडो पीसीआर प्रणालीबाट कोरोना परीक्षणको सुनिश्चितता गर्नुपर्छ।

घरमा क्वारेन्टाइन गर्दा आइसोलेसनमा कसरी बस्ने ?

केही निश्चित कुराहरूमा सावधानी अपनाउने हो भने सुविधा तथा सुरक्षाको हिसाबले पनि घरमै बस्नु उत्तम हुन्छ। सम्भावित संक्रमितहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था नभएका क्वारेन्टाइन स्थलमा एकत्रित हुँदा उल्टो संक्रमण सर्ने सम्भावना बढ्छ । उचित सामाजिक दुरी कायम गरेर आइसोलेसनमा बस्दा गम्भीर लक्षण नदेखिएका बिरामीले समेत घरमै स्वास्थ्य लाभ गर्न सक्छन्।

  • सकेसम्म मूल ढोकाबाट सबैभन्दा परको वा माथिल्लो तल्लाको कोठा जसको वरिपरि आवत-जावत अन्य व्यक्तिको नहोस्।
  • कोठा राम्रोसँग हावा आवतजावत हुने खालको भएमा राम्रो हुन्छ ।
  • सम्भव भएमा भेन्टिलेसन फ्यान वा टेबल पङ्खालाई झ्यालबाहिर हावा फ्याल्ने गरी मिलाएर भित्रको हावाबाहिर फ्याल्ने व्यवस्था मिलाउँदा घरको अन्य भागमा संक्रमित हावाको बहाब प्रवेश गर्न पाउँदैन।
  • प्रयोगशालामा इबोलाजस्ता गम्भीर भाइरसको अध्ययन गर्दा पनि हामीले सुरक्षित रहन यो हावाको बहाबको व्यवस्था उपयोग गर्छौ।
  • सकभर परिवारका अन्य सदस्यले भन्दा छुट्टै शौचालय प्रयोग गर्ने
  • शौचालय, भान्छा, ढोका, बरन्डा, रेलिङ्ग इत्यादि प्रयोग वा सम्पर्कमा आएमा सफा गर्ने।
  • डिसइन्फेक्सन विधि तयारी राख्ने । ब्लिच, पेरोक्सैद, अल्कोहोल वा साबुनपानीले राम्रोसँग सफा गर्न पनि सकिन्छ ।
  • मास्कको प्रयोग गर्ने घर परिवारसँग घुलमिल नगर्ने र गर्नै परेको अवस्थामा पनि कम्तीमा ६ फिटको दुरी कायम गर्ने
  • सरसामानको छुट्टै प्रयोग गर्न खाने भाँडाकुँडा, रुमाल, फोन, कम्प्युटर इत्यादि एक आपसमा प्रयोग नगर्ने ।
  • बिरामीको कपडा, भाँडा इत्यादि अन्य व्यक्तिले सफा नगर्ने र गर्नै परेमा बिरामी स्वयंले तातो साबुन/डिटरजेन्ट पानीमा आधा घण्टा भिजाएपछि मात्रै अन्य व्यक्तिले छुन वा सफा गर्न सकिन्छ।
  • बारम्बार हात धुने
  • अन्य व्यक्ति नभेट्ने, आमनेसामने कुरा नगर्ने, ‘हावा खान’ टहलिन बाहिर ननिस्किने
  • आइसोलेसनमा रहेका व्यक्तिका साथसाथै घरका अन्य सदस्यले समेत मास्क प्रयोग गर्ने अनि उचित सामाजिक दुरी कायम गर्ने
  • आफूलाई अत्यावश्यक वा नियमित सेवन गर्ने औषधि जोहो गर्ने, सिटामोलजस्ता ज्वरो घटाउने औषधि साथमा राख्ने
  • ज्वरो नाप्न थर्मोमिटर राख्ने र बारम्बार तापमानको ख्याल गर्ने

संक्रमण भएको खण्डमा घरमै कसरी स्वस्थ्यलाभ गर्ने ?

संक्रमण हुँदैमा अस्पताल भर्ना हुनुपर्दैन । विश्वव्यापी अनुभवले पनि संक्रमित ८०% बिरामीले घरमै स्वस्थ्यलाभ गर्नसक्ने देखिएको छ । हाल नेपालमा सम्पूर्ण संक्रमितलाई अस्पताल भर्ना गर्ने गरिए पनि संक्रमितको संख्या थपिँदै जाँदा र गम्भीर लक्षण भएका बिरामी थपिँदा सबैलाई अस्पताल राख्न सम्भव अनि जायज दुवै हुँदैन।

  • माथि उल्लेखित आइसोलेसनका सम्पूर्ण नियमहरू पालना गर्ने
  • संक्रमण भएको पुष्टि भएको अवस्थामा डाक्टरसँग नियमित सम्पर्कमा रहने ।
  • डाक्टरको सल्लाह अनुरुप नियमित औषधि सेवन गर्ने ।
  • ज्वरो १०० भन्दामाथि पुगेमा सिटामोल जस्ता औषधि सेवन गर्ने ।
  • अप्रमाणित कुनै पनि उपचार विधि कोरोनाकै विशेषज्ञ डाक्टरको सल्लाहविना प्रयोग नगर्ने ।
  • प्रशस्त तरल पदार्थ पिउने
  • अतिआवश्यक परेमा मात्रै अस्पताल जाने र वैकल्पिक व्यवस्था गरी राख्ने, अहिले एम्बुलेन्सले समेत कोरोनाका बिरामी बोक्न नमानेको अवस्थामा अनावश्यक रूपमा अस्पताल नजाने
  • प्रहरी प्रशासन तथा जनप्रतिनिधिलाई समेत समन्वयको लागि सम्पर्क गर्नुपर्ने हुनसक्छ । त्यसका लागि सम्पर्क नम्बर लिई राख्ने ।

कुन अवस्थामा तुरुन्तै अस्पताल जाने ?

  • सास फेर्न गाह्रो भएमा
  • छातीमा दबाब महसुस भएमा वा दुखेमा
  • रिङ्गटा लाग्ने वाकवाकी भएमा
  • शरीर नीलो देखिन थालेमा
  • स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्था हेरेर निर्क्यौल गरेको अन्य लक्षण देखा परेमा
  • अस्पताल जाँदा पहिले नै सम्पर्क गरेर जाँदा राम्रो, सबै अस्पतालमा कोरोनाको उपचार हुँदैन । तसर्थ आफ्नो सबैभन्दा नजिकको कोरोना उपचार केन्द्रको सम्पर्क नम्बर तथा ठेगाना जानकारीमा राख्नुहोस् । अनि परिवारलाई पनि जानकारी गराउनुहोस्।
  • साथमा (अतिआवश्यक भए पनि एक मात्र) बिरामी कुरुवाहरू नलैजाने । बिरामी कुरुवा आलोपालो नगर्ने र शुभेक्षुक भेटघाट नगर्ने । स्मरण रहोस् बिरामी कुरुवा जाने मान्छेले पनि पूर्णत: आइसोलेसन पालना गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment