Comments Add Comment

संविधान संशोधन प्रस्ताव सर्वसम्मत पारित गर्न प्रधानमन्त्रीको आग्रह

कांग्रेसले माग्यो समय, आफ्ना माग पनि समेट्न मधेसवादी दलको माग

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसे केन्द्रीय कार्य समिति बैठक बस्नुपर्ने भन्दै केही समय मागेको छ भने समाजवादी र राष्ट्रिय जनता पार्टीले आफ्ना माग पनि समेट्न आग्रह गरेका छन् ।

सरकारले शुक्रबार दर्ता गरेको संशोधन विधेयक भोलि प्रतिनिधिसभामा पेश गर्ने तयारी छ । त्यसको पूर्वसंध्यामा सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री ओलीले संशोधन विधेयक विना शर्त सर्वसम्मत रपमा पास गर्न आग्रह गरेका थिए ।

बालुवाटारमा भएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवाले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । तर पदाधिकारी बैठकले केन्द्रीय कार्य समिति बैठकमा छलफल गर्ने भनेकाले केही समय दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । नक्सा जारी गर्ने र संविधान संशोधनमा समर्थन भएपनि सरकारले दलहरुसँग परामर्श नगरेकोमा भने उनले असन्तुष्टि जनाएको एक नेताले बताए ।

सर्वदलीय बैठकमा मधेशवादी दलका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायतले भने संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि सम्बोधन पनि समेट्न सरकारलाई सुझाव दिएका छन् । ‘यो राष्ट्रियता र भौगोलिक अखण्डताको विषय हो, यसलाई सर्वसम्मत रुपमा अगाडि बढाउनुपर्छ’ राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले अनलाइनखबरसँग भने, ‘हामी हाम्रो एक इन्च भूमि छोड्ने बाला छैनौं । र, यसका लागि हुने संशोधनमा हामी कुनै बार्गेनिङ गर्दैनौं ।’

तर संविधानमा धेरै त्रुटी भएकाले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले अगाडि बढाएको तर दुई तिहाई नपुगेर पास हुन नसकेको संविधान संशोधन प्रस्तावलाई फेरि अगाडि बढाएर आफूहरुको मागलाई पनि समेट्न आग्रह गरेको उनले बताए ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने संविधान संशोधनका अरु विषयमा छलफल गर्दै जान सकिने भएकाले राष्ट्रिय अखण्डताको विषयसँग सम्बन्धित संशाोधनमा नमिसाउन आग्रह गरे । राष्ट्रिय हितका विषयमा निःशर्त राष्ट्रिय एकता कायम गर्न आफूले चाहेको उनले बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

भारतसँग कूटनीतिक सम्वादमार्फत समस्याको समाधान खोज्ने भन्दै वार्तामा सबै तथ्य प्रमाणसहित बस्न पनि निशान छाप संशोधन तत्काल गर्नुपर्ने उनले बताए । ‘राष्ट्रिय हितको विषयमा कुनै शर्त नराखौं’ उनले भनेका छन्, ‘निशान छाप संशोधन गरेपछि हामी आफ्ना तथ्य प्रमाण सहित वार्तामा बस्छौं । ६०/७० वर्ष भइसकेको छ भूमि अतिक्रमण भएको,अब हामी वार्ता र कुटनीतिक माध्यमबाट त्यो समाधान गर्न चाहान्छौं ।’

संविधान संशोधन गर्न दुई तिहाई बहुमत पर्याप्त हुने भएपनि सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको विषय भएकाले सर्वसम्मत रुपमा संसदबाट पारित गर्नुपर्ने उनले बताएका छन् ।

प्रेस सल्लाहकार थापाआनुसार मधेशवादी दलको अरु विषयमा पनि संविधान संशोधन गर्नुपर्ने कुरामा भने सत्तारुढ नेकपासहित नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रि जनमोर्चाका नेता चित्रवहादुर केसीले असहमति जनाएका थिए । उनीहरुले निशान छापको विषयमा अरु जोड्न नमिल्ने बताए ।

प्रचण्डले भने–बक्सीको वक्तव्य गम्भिर

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका अरु मागका विषयमा छलफल हुँदै जाने भन्दै अहिले निशान छाप सर्वसम्मत रुपमा संशाोधन गर्नुपर्ने बताए थिए । उनले हालै भारतीय मिडियामा पूर्वसैनिक अधिकृत बक्सीले दिएको अभिव्यक्ति गम्भिर रहेको बताए ।

बक्सीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर भारतले ठूलो मूल्य चुकाइरहेको बताएका थिए । प्रचण्डले बैठकमा उनको भनाइ गम्भिर रहेको भन्दै आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment