Comments Add Comment

रुकुम चौरजहारी घटना : थप एक जनाको शव भेरी किनारमा भेटियो

१४ जेठ, काठमाडौं । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ ।

जाजरकोटको भेरी नगरपालिका-११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु नजिक भेरी नदी किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले लोकेन्द्रको शव भेटिएको पुष्टि गरे । मृतकका परिवार र आफन्तले लोकेन्द्रको शव फेला पारेको उनले जानकारी दिए ।

यससँगै रुकुम पश्चिमको यो घटनामा ज्यान गुमाउनेहरुको संख्या चार पुगेको छ । यसअघि भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको शव फेला परेको थियो ।

भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै वेपत्ता छन् । उनीहरुको खोजीका लागि प्रहरीले गोताखोरको टोली परिचालन गरेको छ ।

जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विककी प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला स्थानीयले आक्रमण गरेका थिए । ज्यान जोगाउन नवराजसहितका केही युवाहरु भेरी नदीमा हामफालेका थिए । घटनामा संलग्न भएको भन्दै मृतकका परिवारले २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । रुकुमपश्चिम प्रहरीले १२ जनालाई पक्रेको छ भने आठ जनाको खोजी भइरहेको जनाएको छ ।

यस घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले छानबिन समितिसमेत गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले पनि छानबिन समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment