Comments Add Comment

दलित युवक हत्याको विरोधमा बुटवलमा प्रदर्शन

१४ जेठ, बुटवल । अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित चारजनाको हत्या भएको भन्दै बुटवलमा विरोध प्रदर्शन भएको छ ।

दलित अगुवा, मानव अधिकार तथा शान्ति समाज, राजनीतिक दलका नेता–कार्यकर्ता, विश्वकर्मा युथ क्लबले बुटवलको पुष्पलाल पार्कमा भेला भएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

करिब दुईसय जनाको संख्यामा उपस्थित उनीहरुले ‘जातीय आधारमा हत्या कहिलेसम्म ?’, ‘हामी कहिलेसम्म मौन बस्ने ?’ ‘जवाफदेही को ?’, ‘मान्छे मान्छेमा के फरक छ र ?’, ‘संविधानले दिएको अधिकार कहिलेसम्म उल्लंघन गर्ने ?’ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि बोल्दै पूर्वसांसद एवं दलित अधिकारकर्मी विनोद पहाडीले उक्त घटना जातीय विभेदको आधारमा भएको जघन्य अपराध भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरे ।

घटनालाई सत्ता र शक्तिको आडमा ढाकछोप र अपव्याख्या नगर्न आग्रह गर्दै उनले त्यसो गरिए लकडाउन उल्लंघन गरेरै दलितहरु सडकमा आउने चेतावनी दिए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले उक्त घटना मानवताविरुद्धको क्रूर अपराध भएको भन्दै यो घटनाले नेपाललाई विश्वमै कलंकित र लज्जित बनाएको बताए । दोषीलाई कारवाही र पीडितले न्याय नपाएसम्म यो घटना नसेलाउने भन्दै सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्ने आग्रह गरे ।

समाजवादी पार्टीका युवा नेता नरबहादुर सुनारले घटनालाई तोडमोड गर्ने प्रयास र चलखेल भएको भन्दै मानवअधिकारकर्मी र सञ्चार जगतले खबरदारी गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र

घटनाको विरोधमा दलित अधिकारकर्मीहरुले रुपन्देहीमा जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

दोषीलाई कारवाही, मृत्यु भएका युवाहरूलाई सांस्कृतिक शहीद घोषणा र घटनाको संसदीय छानबिन समिति गठनको माग गर्दै मिलनचोकबाट मैत्रिपथ हुँदै जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस गरिएको थियो ।

त्यसपछि अधिकारकर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालय अगाडि एक घन्टा धर्ना र कोणसभा समेत गरिएको छ ।

जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक आफ्नी प्रेमिका रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी मल्ल थरकी किशोरीसँग विहे गरी १९ जनाहित जाँदा स्थानीयले आक्रमण गरेका थिए । त्यस क्रममा आक्रमणबाट बच्न भेरी नदीमा हामफाल्दा ४ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment