+
+

दाङको नारायणपुरमा विमानस्थल : सरकारले फेरि निराश नबनाओस्

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते २१:१५
दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सको हवाईजहाज

१५ जेठ, दाङ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत् दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउने घोषणा गरेको छ । गत वर्षको बजेटमा नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उल्लेख गरिए पनि यस वर्ष आन्तरिक विमानस्थल मात्र बनाउने भनिएको छ।

दाङको तुलसीपुरस्थित टरिगाउँमा आन्तरिक विमानस्थल चालु अवस्थामा छ । त्यसको करिब १० किलोमिटर वर नारायणपुरमा पनि आन्तरिक विमानस्थल बनाउने घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरे ।

नारायणपुरमा विमानस्थल बनाउने भनेर २०६८ सालमा प्राविधिक अध्ययन गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट आफैँ पनि अध्ययनमा खटिएका थिए । प्राविधिक टोलीले नारायणपुरमा क्षेत्रीय विमानस्थल बनाउन उपयुक्त हुने निष्कर्ष निकाल्यो । त्यसपछि आर्थिक वर्ष २०७४/०७५ मा वातावरणीय प्रभाव मूल्याङ्कनका लागि दुई करोड बजेट विनियोजन भयो। तर त्यसभन्दा बढी प्रगति भएन । अहिले करिब एक दशक पछाडि सो विमानस्थललाई आन्तरिक बनाउने भनेर बजेटमा उल्लेख गरिएको छ ।

नागरिक समाज दाङका अध्यक्ष चन्द्रराज पन्त भन्छन्, ‘हाम्रो माग त नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भन्ने हो। अहिले आन्तरिक विमानस्थल बनाउने भनेर बजेटमा आयो । तर, पहिलेको जस्तै कुरा गर्ने, काम नहुने गरेर दंगाली जनतालाई सरकारले फेरि निराश नबनाओस् ।’ उनले नारायणपुर विमानस्थलका लागि रातो किताबमा कति बजेट छुट्याइन्छ त्यो हेरेर थप धारणा बनाउन सकिने बताए ।

तुलसीपुरको टरिगाउँ विमानस्थल नेपाली सेनालाई प्रयोग गर्न दिएर नारायणपुरमा छुट्टै विमानस्थल आवश्यक रहेको भनेर दाङमा बहससमेत हुँदै आएको छ

यस्तै, उद्योग वाणिज्य संघ दाङका अध्यक्ष नारायण भुसालले पनि दाङको विकासको विषयले निराश बनाएको बताए । उनले भने ‘तुलसीपुरको टरिगाउँलाई आन्तरिक र नारायणपुरलाई कम्तीमा क्षेत्रीय विमानस्थल बनाइने छ भनेर बजेटमा आउनुपर्थ्यो । तर, सरकारले यति शब्द भन्न पनि कन्जुस्याइँ गर्‍यो ।’ उनले घोराही उपमहानगरपालिका–३ (साविकको लक्ष्मीपुर गाविस)मा औद्योगिक क्षेत्र निर्माण र दाङ जिल्लामै नापतौलको व्यवस्था गरिदिन वर्षौंदेखि माग गर्दै आए पनि यस बजेटमा पनि सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाए ।

टरिगाउँ विमानस्थल साँघुरो छ । त्यहाँ इन्धन डिपोसमेत छैन । त्यसैले कि त त्यसलाई विस्तार र स्तरोन्नति गर्ने वा त्यति पनि नसकिए विकल्पमा अर्को विमानस्थल बनाउनुपर्ने आवाज दाङवासीले उठाउँदै आएका छन्। टरिगाउँबाट उडान नियमित नहुँदा दाङवासीलाई हवाई जहाज चढ्न बाँकेको नेपालगञ्ज वा रुपन्देहीको भैरहवासम्म पुग्नुपर्ने बाध्यता छ । तर, यसवर्षको बजेटमा टरिगाउँ विमानस्थललाई के गर्ने भन्ने उल्लेख गरिएको छैन ।

नागरिक समाजका अध्यक्ष पन्त टरिगाउँ विमानस्थलको बारेमा बजेट मौन भएको र त्यसको नजिकै अर्को विमानस्थल बनाउने कुराले विकासको नाममा कनिका छरेजस्तो देखिएको टिप्पणी गर्छन्। ‘मलाई त हर्ष न विस्मात जस्तो भएको छ,’ उनले भने ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी भने नारायणपुरमा आन्तरिक विमानस्थल बनाउने कुराले आफूलाई उत्साहित बनाएको बताउँछन् ।

उनले भने, ‘यो कुराले हामी दाङवासी अत्यन्त खुसी र उत्साहित छौं । सरकारलाई धन्यवाद ।’ उनले विगत लामो समयदेखि नारायणपुर विमानस्थल निर्माणको काम अघि नबढे पनि आगामी आर्थिक वर्षबाट काम अघि बढ्नेमा आशावादी भएको बताए ।

उनले भने, ‘टरिगाउँको विमानस्थल साँघुरो भएको र विस्तार गर्न पनि अप्ठ्यारो भएकाले नारायणपुरमा विमानस्थल बनाउन खोजिएको छ । अब यसको काम अगाडि बढ्छ भन्नेमा म एकदमै आशावादी छु ।’

तुलसीपुरको टरिगाउँ विमानस्थल नेपाली सेनालाई प्रयोग गर्न दिएर नारायणपुरमा छुट्टै विमानस्थल आवश्यक रहेको भनेर दाङमा बहससमेत हुँदै आएको छ ।

नारायणपुरमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन १० चैत ०६८ मै भएको थियो । बीडीए कन्सल्टेन्सी काठमाडौंका प्राविधिकहरूले गुर्जेखोलादेखि पश्चिममा हापुर खोलासम्म र उत्तरमा मावि निघुवारदेखि दक्षिणमा घोराही–तुलसीपुर सडकसम्म विमानस्थल बनाउन सर्भे गरेका थिए । उक्त क्षेत्रमा रहेको १७ सय ७५ विघा १९ कठ्ठामा सम्भाव्यता अध्ययन गरिएको थियो ।

त्यसमध्ये करिब छ सय ५० विघा सरकारी जग्गा हो । छ किलोमिटर लम्बाइ र साढे तीन किलोमिटर चौडाइको उक्त जमिन विमानस्थलका लागि उपयुक्त रहेको प्राविधिकहरूको निष्कर्ष थियो ।

विमानस्थलका लागि त्रिपुर–५ को चागु, बरुवागाउँ, ३ को खैरी, २ को अमराई, चारबगिया, धैरेनी १ को लमबरुवा र साविक हापुर गाविसको केही भागमा नापी कार्यालयका अमिनमार्फत् जग्गा नाप–जाँचसमेत भइसकेको छ । तर, जग्गा अधिग्रहण भने गरिएको छैन ।

स्थानीय स्तरमा विमानस्थल निर्माण सहयोग समिति पनि गठन भएको थियो । सुरुमा आफूहरु उत्साहित भए पनि पछि सरकारले चासो नदिँदा निराश बनेको सहयोग समितिका अध्यक्ष भक्तिराम शर्मा बताउँछन् ।

सुरक्षाको दृष्टिबाट दाङमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त मानिन्छ । ‘विमानस्थल निर्माणका लागि प्रस्तावित दाङ उपत्यका भारतसँग जोडिएको छैन,’ शर्माले भने, ‘यहाँ जाडो समयमा धेरै हुस्सु लाग्दैन, वर्षातमा पनि मौसम त्यति खराब हुँदैन । जुनसुकै मौसममा पनि विमानहरू उडान–अवतरण गर्न सक्छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?