Comments Add Comment

बजेटमाथि मिश्रित प्रतिक्रिया : सकारात्मक, तर चुनौतीपूर्ण

१५ जेठ, काठमाडौं । सत्तारुढ र विपक्षी दलले सरकारको आगामी आर्थिक वर्षको बजेट सकारात्मक तर लक्ष्य पूरा गर्न चुनौतीपूर्ण भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले कोरोना भाइरस (कोभिड-१९ को) महामारीका बेला आएको बजेट उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्।

संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले भने, ‘आवश्यकतालाई बोध गरेको छ। कोरोनाको संक्रमण व्यापक फैलिएको बेलामा कसरी रोगको सामना गर्ने, स्वास्थ्यको समस्यालाई कसरी सम्बोधन गर्ने, भोकको समस्या, रोजगारी सिर्जना गर्ने, कृषिलाई प्रोत्साहन, आत्मनिर्भर अर्थतन्त्रतिर अग्रसर हुने देखि उद्योगधन्दाहरूलाई के कति सहुलियत दिन सकिन्न भन्ने आएको छ।’

नेता नेपालले बजेटको स्रोत जुटाउन भने कठिन हुन नसक्ने टिप्पणी गरे । ‘स्रोत जुटाउन चुनौतीपूर्ण छ। हाम्रो आर्थिक उत्पादन नै कुन ढङ्गले अगाडि बढ्छ भन्ने कुरा र रोजगारी कति पाउन सक्छन्, कोरोना कहिलेसम्म रहन्छ भन्ने विषय यसमा सम्बन्धित रहन्छ’ नेता नेपाले भने ।

‘ऋणको अपेक्षा पूरा हुन गाह्रो छ’

पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा सांसद सुरेन्द्र पाण्डेले सरकारले लक्ष्य राखेअनुसार ऋण उठाउन गाह्रो हुने बताएका छन् । सरकारले दुई खर्ब ९९ अर्ब वैदेशिक र दुई खर्ब २५ अर्ब आन्तरिक ऋण लिने भनेको छ। तर, यो ऋण लिन गाह्रो हुने उनको बुझाइ छ ।

यो सँगसँगै सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धि पनि महत्वाकांक्षी भएको नेता पाण्डेको टिप्पणी छ। ‘७ प्रतिशतको आर्थिक वृद्धि अलि बढी महत्वाकांक्षा राखेको छ । त्यस ठाउँमा पुग्नलाई धेरै नै उक्लिनुपर्ने खाँचो देख्छु म’ पाण्डेले भने ।

तर, बजेटको आकारलाई घटाउनु सकारात्मक रहेको उनले बताए । गतवर्ष १५ खर्ब ३३ अर्ब बजेट ल्याएको सरकारले यसवर्ष १४ खर्ब ७६ अर्बमा घटाएको छ।

पाण्डेका अनुसार आन्तरिक ऋण विकास निर्माणमा लगाउनुे घोषणा गर्नु राम्रो हो । ‘यो राम्रो कुरा हो । किनभने आन्तरिक ऋण उठाएर तलब भत्तामा खर्च गर्नुपर्ने स्थिति आयो यसपालि। त्यो चिज नहोस्, ऋण लिएर तलब भत्ता खुवाउनु पर्यो भने स्वाभाविक रुपमा त्यसले कुनै प्रतिफल दिँदैन । त्यो कुरातर्फ सचेत हुँदै यो बजेट आएको छ’ उनले भने ।

यसैगरी, कोरोनाबाट उपचार गर्नका लागि स्वास्थ्यमा बढी जोड दिनु, तालिम र शिक्षा तथा श्रममा जोड दिनु सकारात्मक पक्ष भएको उनले बताए ।

अनुशासित हुन खोज्यो तर, ठोस योजना आएन : कांग्रेस

प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले बजेट अनुशासित हुन खोजेको देखिन्छ ।  ‘समग्रमा जति गैर अनुशासित हुन सक्ला भन्ने चिन्ता थियो त्यति चाहिँ छैन’ सांसद रिजालले भने ।

तथापि केही कमजोरीहरु भने बजेटमा रहेको उनको टिप्पणी छ ।

‘अहिलेको संशोधित अनुमान भन्दा अर्को वर्षको चालु खर्च ३५ प्रतिशत वृद्धि हुन्छ भन्नु उचित नभएको भन्दै उनले त्यो घटाउन सक्नुपर्ने टिप्पणी गरे ।

सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन अनुसार कति खर्च कटौती गर्ने भनी अर्थमन्त्रीले भन्न नसकेको रिजालको टिप्पणी छ । ‘उहाँले त्यसलाई अंकमा ढाल्न सक्नुभएन– एउटा चिन्ताको विषय’ उनले भने ।

तर, ठोस योजनाहरु अझै आउन नसकेको पूर्व स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेसका सांसद गगन थापाको प्रतिक्रिया छ ।

‘यो सरकारले जसरी खर्च जुटाउने र खर्च गर्ने संकल्प सोच राखेको छ । यो हेर्दै गर्दा अबको २÷३ महिनाभित्र कोरोनाबाट नेपाल पूर्ण रुपमा मुक्त हुन्छ । यसबाट हामी कहीँ पनि प्रभावित हुँदैनौं भन्ने कुरा सम्पूर्ण रुपमा आत्मविश्वास भएको पाएँ’ सांसद थापा भन्छन्, ‘क्राइसिसको अवस्थालाई उहाँहरुले अझै पनि ग्रहण गर्नुभएन भन्ने मेरो प्रारम्भिक टिप्पणी छ ।’

बजेट परम्परागत नै आयो : समाजवादी पार्टी

समाजवादी पार्टीका नेताहरुको भने बजेट परम्परागत नै आएको टिप्पणी छ । स्वास्थ्य, शिक्षा र कृषिमा अझै बजेट नपुगेको उनीहरुको भनाइ छ ।

सरकारले ल्याएको बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले बताए ।

‘२२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा हो । फोकस पुगेन’ उनले भने ।

सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ६८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो भने आगामी आर्थिक वर्षमा ९० अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो गत वर्षभन्दा २२ अर्ब रुपैयाँ बढी हो ।

सरकारले अप्ठेरो समयमा पनि विगतकै निरन्तरतामा बजेट ल्याएको भट्टराईको टिप्पणी छ । ‘बजेट निरन्तरतामा आयो यसले समस्या समाधान गर्दैन, राहत, सामाजिक सुरक्षा कनिका छरेजस्तै आयो’ उनले भने ।

समाजवादी पार्टीका अका नेता उपेन्द्र यादवले बजेट परम्परागत भएको टिप्पणी गरे । यसपाली कोरोनालाई सामना गर्नका लागि केही बजेट देखाएको भएपनि त्यसले जनशक्तिको अभाव, स्वास्थ्य सामग्री, संरचनाको अभावका दृष्टिले अत्यन्त अपर्याप्त छ’ नेता यादवले भने ।

शिक्षा, कृषि र स्वास्थ्यलाई दिनुपर्ने जति प्राथमिकता दिन नसकेको उनको भनाइ छ ।

साइजमा यथार्थता छ : विनोद चौधरी

कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले बजेटको आकार यथार्थपरक रहेको बताए ।

‘१३ खर्बको आउँछ भन्दा ठीक हुन्छ भन्दा १४ खर्बको आउनु ठीकै ठान्छु । साइजको हिसाबले यथार्थतामा उभिएको छ’ चौधरीले भने ।

तर, रोजगारी, बन्द भएका उद्योग सञ्चालन गर्ने विषय, स्वदेश फर्किने नेपालीहरुको व्यवस्थापनलगायका विषयमा ल्याएका कार्यक्रम कार्यान्वयन हुनेमा उनको आशंका छन् । पर्यटन क्षेत्रलाई माथि उकास्ने सन्दर्भमा पनि केही नआएको चौधरीको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment