Comments Add Comment

बजेट कार्यान्वयनमा विश्वस्त हुन सकिँदैन : रुपन्देही उद्योग संघ

१५ जेठ, बुटवल । रुपन्देही उद्योग संघले संघीय सरकारले बिहीबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/०७८ को बजेट कार्यान्वयनमा विश्वस्त हुन नसक्ने जनाएको छ। सबै क्षेत्रलाई समेटेर सन्तुलित ढंगबाट बजेट आएको तर कार्यान्वयनमा विश्वस्त हुन नसकिने संघको भनाइ छ ।

‘कोभिड-१९ र लामो समयको लकडाउनले प्रभावित देशको अर्थतन्त्रको अवस्था अन्यौलग्रस्त रहेको, राजस्व संकलन, वैदेशिक तथा आन्तरिक ऋण र सहायता व्यवस्थापन हुनेमा विश्वस्त हुन सक्ने अवस्था छैन’ संघका अध्यक्ष बाबुराम बोहराले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘बजेटमा सम्बोधन भएका विषयहरू कार्यान्वयनमा गम्भीर बन्न सम्बन्धित निकायहरूसँग रुपन्देही उद्योग संघ हार्दिक आग्रह गर्दछ।’

संघले बजेटलाई समग्रमा सकारात्मक मानेको छ । उद्योगीलाई सहुलियत कर्जा, विद्युत् डिमाण्ड शुल्क शतप्रतिशत र महसुलमा छुट, सामाजिक सुरक्षा कोष व्यवस्थापन, रोजगारी सिर्जना, आयकरमा सहुलियत, सिपयुक्त जनशक्ति उत्पादन, पर्यटन प्रवर्द्धन, साना किसान कर्जाजस्ता विषय सकारात्मक रहेको संघले उल्लेख गरेको छ।

औद्योगिक क्षेत्र-औद्योगिक ग्राम- विशेष आर्थिक क्षेत्र निर्माण राष्ट्रसेवकको पोसाक स्वदेशमै उत्पादन, रुग्ण उद्योगको पुनरुत्थान, सामूहिक ट्रेड मार्कको प्रयोग, निर्यातमा प्रोत्साहन, कृषि अनुदान र भण्डारण साथै कृषिको व्यवसायीकरण र यान्त्रीकरण, पारवहन सन्धिलगायतका विषय बजेटमा समेटिनु सकारात्मक रहेको रुपन्देही उद्योग संघको ठम्याइ छ।

युवा नवप्रवर्द्धन केन्द्रको स्थापना र युवा उद्यमशीलताको विकास तथा महिला उद्यमशीलता सहजीकरण केन्द्रको स्थापनाजस्ता विषयहरू समेटिनु बजेटका सकारात्मक पक्ष रहेका संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment