Comments Add Comment

नारायणी अस्पतालमा जनरल सेवा सुरु गर्न ढिलाइ किन ?

१७ जेठ, पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । अस्पताल निःसंक्रमण (स्यानिटाइज्ड) गर्ने काम दैनिक जारी छ ।

स्वास्थ्य मन्त्रालयले पनि नारायणीलाई पत्राचार गरेर बहिरंग लगायतका सेवा सुरु गर्न निर्देशन दिइसकेको छ । तर तत्काल सबै सेवा सुरु गर्न जनशक्ति अभाव छ । त्यसैले विरामी भर्ना गरिहाल्नु नपर्ने खालका ओपीडीहरु क्रमशः सञ्चालन गर्दै जाने योजनाअनुसार तयारी गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मदन उपाध्याय बताउँछन् ।

‘डायलायसिस सेवा लिइराखेका विरामीहरुको साथै त्यहाँ खट्ने स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर आइतबारबाट डायलायसिस सेवा शुरु गर्ने लक्ष्य लिएका छौं,’ मेसु उपाध्यायले भने, ‘छाला, नाक, कान घाँटी, दाँत लगायत विरामी भर्ना गरिहाल्नु नपर्ने खालका ओपीडीहरु क्रमशः सञ्चालन गर्दै जान्छौं ।’ ओपीडीमा सामाजिक दुरी कायम गराएर दैनिक २०–२५ जनालाई सेवा दिन सक्ने वातावरण मिलाउने उनको भनाइ छ ।

जनशक्ति अभाव

नारायणी अस्पतालले छाती, इन्डोक्राइनोलोजी, ग्याँस्ट्रोलोजी, सर्जरी, अर्थो स्पाईन सर्जरी, गाइनो, हाडजोर्नी, छाला, फिजिसियन, इमर्जेन्सी, मानसिक रोग, बाल रोग सम्बन्धी रोगको उपचार, प्याथोलोजी, एक्स–रे, भिडियो एक्स–रे, सिटिस्क्यान, डायलायसिस र फार्मेसी सेवा समेत दिँदै आएको छ ।

सरकारले नारायणीलाई विशेषज्ञ सेवा सहितको टर्सरी अस्पताल घोषणा गरे पनि दरबन्दी अनुसार कर्मचारी दिन सकेको छैन । त्यसैले माथिल्लो निकायमा जनशक्ति माग गरिएको मेसु उपाध्याय बताउँछन् ।

अस्पतालमा नेपाल सरकारका १ सय ९९ जना र अस्पताल विकास समितिका १ सय ७४ जना कर्मचारी कार्यरत छन् । नारायणी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारमा खटेका कारण ६ जना डक्टर, स्टाफ नर्स र पारामेडिक्स १० जना, २ जना स्वीपर, ५ जना कार्यालय सहयोगी होटल क्वारेन्टाइनमा छन् । ७ जना डाक्टर, ४ जना स्वीपर, १२ जना स्टाफ नर्स र पारामेडिक्स होम क्वारेन्टाइनमा छन् । नारायणी मातहतको गण्डक कोभिड अस्पतालमा ४ जना डाक्टर, ५ जना स्टाफ नर्स, पारामेडिक्स र २ जना स्वीपर खटिएका छन् ।

पीसीआर प्रयोगशालामा जनशक्तिको उपयोग र पीसीआर परीक्षणको भार थपिँदै गएकाले जनरल प्रयोगशाला सञ्चालन गर्न विद्यमान जनशक्ति अपुग छ । ४ जनाको दरबन्दी भएको ठाउँमा ८ जना कर्मचारी खटिएका छन् । जनरल ल्याब सञ्चालनका लागि पनि छुट्टै जनशक्ति चाहिन्छ ।

नारायणी अस्पतालको जनरल सेवा सुरु गर्नुपर्ने माग राखेर केही युवा २७ दिनदेखि घर–घरमै धर्ना बसेका छन्

४० जनाको दरबन्दी रहेकोमा नारायणीमा १२ जना मात्रै नर्सिङ स्टाफ कार्यरत छन् । समिति तर्फका तीन जना र केही आमा सुरक्षा कार्यक्रमका नर्सिङ स्टाफ गरेर २५ जनालाई कोरोना संक्रमितको उपचारमा खट्न तयार पारिएको थियो ।

तत्काल जनरल सेवा सुरु गर्दा १० जना मात्रै खट्न सक्ने स्थिति रहेको स्टाफ नर्स श्रुति साह बताउँछिन् । ‘पहिला नर्सिङ कलेजबाट तालिमका लागि आउने विद्यार्थीहरुले पनि सघाउँथे । अहिले त्यस्तो अवस्था छैन,’ साह भन्छिन् ।

यो पनि पढ्नुहोस नारायणी अस्पतालको बोर्ड फेरियो, सेवा र जनशक्ति उस्तै

अधिकांश दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई कोरोना अस्पताल सञ्चालनमा उपयोगमा ल्याउन नसकेपछि विदा गरिएको छ ।

जनशक्तिको उपलब्धता आधारमा आकस्मिक सेवा, आईसीयू, एनआईसीयू, शल्यक्रिया लगायतको सेवा सञ्चालन गर्ने तयारी अस्पतालले गरिरहेको डाक्टर उदय सिंह बताउँछन् ।

नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जका अध्यक्ष समेत रहेका डा. अरुण सिंहले जनशक्तिको समस्या र भिडभाड पनि हुन नदिनुपर्ने अवस्थाले क्रमशः सेवा सञ्चालन गर्नुपर्ने तर्क गर्छन् ।

‘जनशक्तिको समस्या छ, स्थायी कर्मचारी कम छन्, दरबन्दी अनुसार कर्मचारी छैनन्, करारलाई तत्काल लिन सक्ने अवस्था छैन,’ डा सिंहले भने, ‘नारायणीको मातहत भएकाले गण्डकलाई पनि यतैबाट हेर्नुपर्छ । अस्पतालमा भिडभाड पनि हुन दिनु हुन्न ।’ कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरोकारवालासँग छलफल भइरहेको उनको भनाइ छ ।

जनस्तरबाट दबाव

नारायणी अस्पताललाई लेभल २ कोभिड अस्पताल बनाएदेखि अस्पतालले शुरुमा प्रदेशभरका संक्रमितको उपचार गर्दै आएको थियो । तर अन्य जिल्लामा समेत संक्रमितको संख्या बढ्दै गएपछि सम्बन्धित जिल्लामा नै उनीहरुको उपचारका लागि आइसोलेसन व्यवस्था गरिएको छ ।

नारायणी अस्पतालको शाखाको रुपमा गण्डक अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु गरिएपछि र नारायणीमा भर्ना गरिएका सबै संक्रमित निको भएर घर फर्किएपछि अब नारायणी अस्पतालले विगतमै जस्तै जनरल सेवा तत्काल सुरु गर्नुपर्ने माग सरोकारवालाले राख्दै आएका छन् ।

नारायणी अस्पतालको जनरल सेवा सुरु गर्नुपर्ने माग राखेर केही युवा २७ दिनदेखि घर–घरमै धर्ना बसेका छन् । विभिन्न राजनीतिक दलले केही दिनअघि प्रदर्शन समेत गरे । घर–घरमा धर्ना दिने समूहले नारायणी अस्पतालका मेसु डा. उपाध्यायको ध्यानाकर्षण समेत गराएको छ ।

नारायणी अस्पतालमा जनरल सेवा सुरु नभएसम्म आन्दोलन जारी रहने धर्नामा बसेका युवा नेता ओमप्रकाश सर्राफ बताउँछन् । ‘नारायणीमा सेवा बन्द हुँदा सर्वसाधारणले निजी अस्पतालमा आर्थिक भार खेप्दै उपचार गराउन बाध्य छन् । जनताको जिउ ज्यानको रक्षाको लागि पनि सेवा तत्काल सुरु हुनुपर्छ भन्ने हाम्रो माग हो,’ सर्राफले भने ।

अधिकतम सेवा सुरु गर्न आफूहरुले अस्पताललाई आग्रह गरेको धर्नामा बस्दै आएका नेजामुद्धिन समानीले बताए ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. उपाध्यायले भने बिहीबार साँझ विज्ञप्ती जारी गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार निर्मलीकरण गरेर जतिसक्दो छिटो इन्डोर सेवा सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी गराएका छन् । १४ गते मेसु उपाध्यायकै अध्यक्षतामा विभागीय प्रमुख र वार्ड इन्चार्जहरु सहितको  बैठकले गरेको निर्णय सार्वजनिक गर्दै विज्ञप्तीमा आवश्यक जनशक्तिको तर्जुमा गरी क्रमिक रुपमा सेवाहरु सुरु गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment