Comments Add Comment

स्यानिटाइज गरियो नारायणी अस्पताल, नियमित सेवा सुरु गर्न अन्योल

१४ जेठ, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीहरु सबै डिस्चार्ज भएपछि वीरगञ्जस्थित नारायणी अस्पताललाई स्यानिटाइज गरिएको छ । तर अस्पतालका डाक्टरहरु भने माथिल्लो निकायबाट गाइडलाइन नआएकाले नियमित सेवा कसरी सुरु गर्ने भन्ने अन्योलमा छन् ।

आइतबार १८ संक्रमित र सोमबार ४३ संक्रमित उपचारपछि घर फर्किएपछि नारायणी अस्पताल अहिले खाली छ । अन्य ३० जना संक्रमितको उपचार नारायणीकै शाखाको रुपमा वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको गण्डक अस्पतालमा भइरहेको छ । गण्डक अस्पतालबाट पनि २१ जना संक्रमित गएराति डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमित बिरामी सबै डिस्चार्ज वीरगञ्ज महानगरपालिकाले २ सय लिटर पानीमा अढाइ लिटर सोडियम हाइपोक्लोराइड मिसाएर ठूलो र सानो दुईवटा दमकलमार्फत् नारायणी अस्पताल स्यानिटाइज गरेको छ । ‘कोभिड संक्रमित राखिएको वार्ड र बाहिरी परिसर सबैतिर स्यानिटाइज गराएका छौं,’ वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले भने, ‘बाहिर स्यानिटाइजेसनका लागि प्रयोग गरिएकै केमिकल सोडियम हाइपोक्लोराइडले गरेका हौं ।’ अब अस्पतालमा इमर्जेन्सी, ओपीडी, डायलायसिस, प्रसूति लगायत अत्यावश्यक सेवा सन्चालन गर्न सकिने उनको दावी छ ।

तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय भने अस्पताल सञ्चालनको विषय अझै अन्यौलमा रहेको बताउँछन् । त्यसका लागि उनले केही तर्क अघि सारेका छन् ।

पहिलो कुरा कसरी सञ्चालन गर्ने भनेर नेपाल सरकारले अहिलेसम्म गाइडलाइन नै बनाइसकेको छैन । दोस्रो, कोरोना भाइरस फलाम, सिसा र काठमा पनि लामो समय बाँच्न सक्छ । तीनलाई राम्रोसँग निर्मलीकरण गर्नुपर्ने हुन्छ । त्यो बाँकी नै छ । द न्यू इङ्गल्याण्ड जर्नल मेडिसिनका अनुसार कोभिड–१९ भाइरस हावामा ३ घण्टा, तामामा ४ घण्टा, कार्डबोर्डमा २४ घण्टा, स्टेस्नल स्टिलमा र प्लाष्टिकमा ७२/७२ घण्टासम्म बाँच्न सक्छ ।

तेस्रो भनेको कोभिड–१९ को उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी र सहयोगीहरुको पीसीआर टेष्ट गर्न बाँकी नै छ । पीसीआर टेष्ट रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरुलाई अन्य सेवामा खटाउन सकिन्छ ।

नर्मलबाट कोभिडमा रुपान्तरण गर्न जति सहज कोभिडबाट नर्मलमा लैजान नहुने उनले बताए । ‘नारायणी नर्मलबाट कोभिड भयो, कोभिडबाट नर्मलमा रुपान्तरण हुने पहिलो अस्पताल हुन्छ,’ डा उपाध्यायले भने, ‘कसरी गर्ने ? भन्नेबारे माथिल्लो निकायमा छलफल गरिरहेका छौं ।’

कोरोना संक्रमितको उपचारपछि खाली भएको पहिलो अस्पताल

विशेषज्ञ सेवा सहितको टर्सरी अस्पताल घोषित नारायणीलाई सरकारले कोरोना संक्रमण शुरु भएपछि कोरोनाका बिरामीको उपचार गर्ने अस्पतालमा रुपान्तरण गरेको थियो । प्रदेश नं. २ मा सबैभन्दा पहिले नारायणीले नै चैत ३० गते कोरोना संक्रमितको उपचार सेवा शुरु गरेको थियो । संक्रमितको उपचार शुरु गरेपछि २०७७ बैशाख २ गतेबाट सर्पदंश र रेबिज बाहेक आकस्मिक सहितका अन्य सेवा बन्द गरिएको थियो ।

अहिले नारायणी अस्पताल कोरोना संक्रमितको उपचारपछि खाली भएको नेपालकै पहिलो अस्पताल बनेको छ ।

नारायणीबाट प्रदान हुने सेवा प्रवाहको जिम्मेवारी नेशनल मेडिकल कलेजलाई दिइएकोमा उसले राम्रोसँग निर्वाह गर्न नसकेको गुनासो सर्वसाधारणले गरेका थिए । संक्रमित मृतकको पीसीआर रिपोर्ट नआउँदै नेशनलले शव दाहसंस्कारका लागि पठाएपछि अस्पताल सिल गरिएको छ ।

त्यसअघि नै विभिन्न राजनीतिक दल, सरोकारवाला मात्रै नभएर चिकित्सक संघले समेत नारायणीमा जनरल सेवा सुरु गर्नुपर्ने दवाब दिँदै आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल नेतृत्वको टोलीले स्थलगत अवस्था बुझेर गएको थियो । पोखरेलले बैशाख ३० गते नारायणीमा पत्राचार गर्दै उपचाररत कोभिड संक्रमित डिस्चार्जपछि बहिरंग सहितका अन्य सेवा सुरु गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment