
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलो पटक पाटन अस्पतालमा न्यूरो इन्टरभेन्सन प्रविधिबाट घाँटीबाट सुई प्रविष्ट गरी मस्किष्तघातको उपचार गरिएको छ।
- डा. अरुण पौडेलले भने, \'यो केसमा बिरामीको नसा बन्द भएको थियो, त्यसलाई घाँटीबाट सिधा तार पठाएर खोलेर जाम हटाइएको हो।\'
- समस्या देखिएको २४ घण्टाभित्रै उपचार गर्दा नतिजा राम्रो आएको र अहिले विरामी डिस्चार्ज भइसकेको उनले जानकारी दिए।
३० असार, काठमाडौं । नेपालमै पहिलो पटक घाँटीबाट सुई प्रविष्ट गराई दिमागको नसा खोलेर एक बिरामीको मस्किष्तघातको उपचार गरिएको छ । पाटन अस्पतालमा गरिएको उक्त उपचार नयाँ प्रविधि न्यूरो इन्टरभेन्सनमार्फत गरिएको हो, जुन सर्जरी विना गरिन्छ ।
यो प्रविधामा शरीरको कुनै भाग हात, खुट्टा वा घाँटीबाट सानो तार र क्याथेटर प्रविष्ट गराई दिमागको समस्या भएको भागमा पुगेर उपचार गरिन्छ ।
‘यो केसमा बिरामीको नसा बन्द भएको थियो, त्यसलाई घाँटीबाट सिधा तार पठाएर खोलेर जाम हटाइएको हो,’ न्यूरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलले बताए ।
न्यूरो इन्टरभेन्सन विधि प्रयोग गरी सर्जरी नगरी गरिएको मस्तिष्कमा जमेको रगतको भागमा भ्याकुम वा झिल्ली प्रविधिको सहायताले अवरुद्ध रक्तसञ्चार पुनः सुचारु गरिन्छ ।
यस्तो विधिबाट मस्तिष्कमा फुटेको रगत भएमा त्यसलाई निकाल्न, वा रगत जमेको भए त्यसलाई हटाउन सकिन्छ । ती बिरामी ४२ वर्षीय पुरुष थिए । उनी लक्षण देखिएको १२ घण्टा भित्रै अस्पताल आइपुगेका थिए ।
उपचारमा संलग्न डा. पौडेलका अनुसार ती बिरामी दायाँतर्फको हातखुट्टा नै नचल्ने अवस्थामा आइपुगेका थिए । ती बिरामी तीन हप्ताअघि पाटन पुगेका थिए । दुई दिनमा ती बिरामीको डिस्चार्ज गरिएको थियो ।
‘मस्तिष्कघात भएका बिरामीको उपचार २४ घण्टाभित्र मात्र गर्दा नतिजा राम्रो निस्किन्छ । त्यसपछि गर्दा परिणाम दिँदैन,’ उनले भने, ‘बिरामी समयमै आइपुगेकाले पारालाइसिस हुनबाट बचाउन सफल भयौं ।’
नेपालमा घाँटीबाट गरिने यस्तो न्युरो इन्टरभेन्सन उपचार यो पहिलोपटक हो । बिरामीको घाँटीबाट सानो तार र क्याथेटर प्रविष्ट गरेर दिमागको बन्द नसा खोलिएको हो । यो प्रविधि न्युरो इन्टरभेन्सन अन्तर्गत पर्दछ, जुन सर्जरी विना गरिने नयाँ उपचार प्रविधि हो ।
‘यो उपचार घाँटीबाट तार र क्याथेटर पठाएर गरियो,’ डा. पौडेलले भने, ‘यो प्रक्रिया हात वा खुट्टाबाट पनि गर्न सकिन्छ, तर त्यो अप्ठ्यारो र ढिलो हुनसक्छ ।’ चिकित्सकका अनुसार कहिलेकाहीं खुट्टाबाट तार पठाउँदा नसा बाङ्गो-टिङ्गो भएकाले लक्ष्यसम्म पुग्न कठिन हुन्छ ।
‘खुट्टाबाट गर्दा नसामा पुग्न गाह्रो, उपकरण बढी प्रयोग गर्नुपर्ने, समय बढी लाग्ने र खर्च पनि धेरै पर्ने अवस्था आउँछ’ उनले भने, ‘तर घाँटीबाट गर्दा ती सबै चुनौती हट्छन्, छिटो हुन्छ र खर्च पनि कम हुन्छ ।’
ती चिकित्सकका अनुसार हात-खुट्टाबाट उपचार सम्भव नभएको खण्डमा घाँटीबाट सानो तार पठाएर उपचार गरिन्छ । डा. पौडेलले भारतको एम्स, नयाँदिल्लीबाट डीएम न्यूरो इन्टरभेन्सनको तीनवर्षे विशेष तालिम लिएर फर्किएका छन् र पछिल्लो एक वर्षदेखि पाटन अस्पतालमा कार्यरत छन् ।
उनका अनुसार यो प्रविधि महँगो उपकरण, सशक्त टिम र विशेष तालिम विना सम्भव छैन ।
प्रतिक्रिया 4