Comments Add Comment

अमेरिकामा चर्कियो रङ्गभेदको मुद्दा

१८ जेठ, काठमाडौं । गोरा जातिका प्रहरीले काला जातिका एक व्यक्तिको हत्या गरेपछि अमेरिकाको मिनेपोलिस लगायतका सहरहरूमा रङ्गभेदी आन्दोलन भड्किएको छ ।

मानिसहरुले सडकमा आएर आक्रोश व्यक्त गरिरहेका छन् । भाइरल भएको एक भिडियोमा एक गोरा प्रहरीले जर्ज फ्लोयड नाम गरेको कालाजातिका व्यक्तिको गर्धनमा घुँडाले थिचिरहेको देखिन्छ । त्यसको केही मिनेटमा नै ४६ वर्षीय जर्ज फ्लोयडको मृत्यु हुन्छ ।

भिडियोमा देखिएअनुसार फ्लोयड र वरीपरी रहेका अन्य प्रहरी अधिकारीले उनलाई छाड्नका लागि अनुरोध गरेका थिए । घाँटीमा घुँडाले थिचिएका फ्लोयडले भनिरहेका थिए, ‘मैले सास फेर्न सकिरहेको छैन, प्लिज’ । यो उनको अन्तिम शब्द बन्न पुग्यो ।

यो घटनाको विषयमा अनुसन्धान भइरहेको छ । अहिलेसम्म यो घटनाको विषयमा विस्तृत जानकारी पनि पत्ता लागेको छैन । फ्लोयडको घाँटीमा घुँडाले थिच्ने प्रहरी अधिकारी डेरेक शाविनलाई गिरफ्तार गरी उनीमाथि हत्याको आरोप लगाइएको छ । यो भिडियो आएपछि मानिसहरुले यसबारे आक्रोश व्यक्त गरिरहेका छन् । मिनेसोटालगायतका सहरहरुमा यसबारे ठूलो प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले दर्जनौं गाडीहरुमा आगजनी गरेका छन् । सुरक्षाकर्मीलाई प्रदर्शन नियन्त्रण गर्न हम्मे हम्मे परेको छ ।

लस एन्जलसमा गाडीमा लगाइएको आगो निभाउँदै अग्नि नियन्त्रक

अहिले भइरहेको प्रदर्शनको विषयमा मिनेसोटाका गभर्नरले आन्दोलन हिंसात्मक बन्दै गइरहेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले आन्दोलन नियन्त्रणमा लिनका लागि सैन्य प्रहरी परिचालन गर्न सकिने चेतावनी दिएका छन् ।

घटना दुःखद : पूर्वराष्ट्रपति ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उक्त घटना दुःखद रहेको बताएका छन् । यसले आफूलाई क्षतविक्षत बनाएको उनको भनाइ छ । अहिलेको अवस्थामा पनि यो कुनै पनि हिसाबमा सामान्य घटना नभएको उनको भनाइ छ ।

यो घटनाले अमेरिकी समाजमा हुने गरेको नस्लीय भेदभावलाई उजागर गरेको छ । अमेरिकामा प्रहरी अधिकारीको हातबाट कसैको ज्यान जाँदा सधैँ नै ठूलो मुद्दा बन्ने गर्छ । त्यसमा पनि कुनै जातिलाई लक्षित गरी भएको घटना भने झन् ठूलो हुनु स्वाभाविक हो । अमेरिकामा जातीय भेदभावको मुद्दा पनि अहिलेदेखिको होइन । निकै लामो समयदेखि चल्दै आएको यो मुद्दाको विषयमा बेलाबेलामा अमेरिकामा चर्चा हुने गरेको छ ।

अमेरिकामा नस्लीय हिंसाको इतिहास

नेशनल एसोसिएसन फर द एडभान्टेज अफ कलर्ड पीपलले एक विज्ञप्ति जारी गरेर यस किसिमको हर्कत सामाजमा कालाजातिका मानिसविरुद्धको भेदभावको एक नमुना रहेको बताएको छ । यो घटना नस्लीय भेदभाव, जेनोफोबिया र पूर्वाग्रहबाट प्रेरित रहेको उक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी अझै धेरै मर्न चाहँदैनौँ ।’

यो घटनापछि अमेरिकामा नस्लीय हिंसाको इतिहासको चर्चा पनि शुरु भएको छ । काला जातिका मानिसविरुद्ध प्रहरीको बर्बरताको विषयलाई लिएर मानिसको आक्रोश बढिरहेको छ ।

लस एन्जलसमा प्रदर्शनकारी

अमेरिकामा सन् २०१३ देखि २०१९ को बीचमा प्रहरीको हातबाट भएको ९९ प्रतिशत हत्याको मामिलामा प्रहरी अधिकारीमाथि कुनै पनि आरोप लगाइएको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोयडका परिवारलाई सान्त्वना दिएका छन् । तर, उनको एक टिप्पणीको भने आलोचना भइरहेको छ । उनले लेखेका छन्, ‘जब मानिस लुट गर्न शुरु गर्छ भने त्यसपछि शुट गर्न पनि शुरु हुन्छ । यसैकारण मिनेपोलिसमा बुधबार राति एक व्यक्तिलाई गोली हानी हत्या गरिएको हो ।’ यद्यपि ट्रम्पले यो आफ्नो अभिव्यक्ति नभई तथ्य भएको भन्दै यसको आफ्नो बचाउ गरेका थिए ।

अमेरिकामा कुनै कालाजातिको मानिसको हत्या भएको यो पहिलो घटना भने होइन । यसअघि फेब्रुअरी २३ मा हतियारधारी गोरा जातिका मानिसले २५ वर्षीय आर्बेरीको पिछा गर्ने क्रममा उनलाई गोली हानी हत्या गरेका थिए । मार्च १३ मा ब्रेओना टेलरलाई एक गोरा जातिका प्रहरीले उनकै घरमा छापा मार्ने क्रममा गोली हानी हत्या गरेका थिए ।

मिनेपोलिसका मेयरले अमेरिकामा कालाजातिका मानिस हुनु मृत्युको सजायजस्तो हुनु नहुने बताएका छन् ।

प्रहरी आँकडा के भन्छ ?

सन् २०१५ को जनवरीमा वाशिङटन पोस्टले प्रहरीले गोली हानेर गरिएको हत्याको तथ्यांक राख्न शुरु गरेको थियो । त्यसयता अहिलेसम्म चार हजार चार सय घातक मुद्दा दर्ता भएको छ । यो तथ्यांक अनुसार अमेरिकामा प्रहरीले कालाजातिका मानिसलाई निर्दयी ढङ्गले हत्या गर्ने गरेका छन् । अमेरिकामा कालाजातिका मानिसको संख्या केवल १३ प्रतिशत छ । तर, यो तथ्यांक अनुसार एक चौथाइ कालाजातिका मानिस मारिने गरेका छन् ।

तथ्यांक अनुसार कुनै निहत्था गोरा मानिसको तुलनामा निहत्था कालाजातिका मानिसको मृत्यु प्रहरीको हातबाट हुने सम्भावना चार गुणा धेरै छ ।

सन् २०१५ देखि अहिलेसम्म अमेरिकामा प्रहरीको गोलीबाट औसतमा दैनिक तीन जनाको मृत्यु हुने गरेको छ । सन् २०१९ मा पनि अमेरिकामा एक हजार ९९ जनाको मृत्यु प्रहरीको हातबाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment