
१९ जेठ, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले एन–प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको मृत्यु प्रकरणमा अनुसन्धान गर्ने भएको छ ।
यसका लागि ब्युरोले एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा अनुसन्धान टोली कैलाली पठाएको छ ।
ब्युरोका एक उच्च अधिकृतले टोली पठाइएको पुष्टि गरेका छन् ।
यसअघि ११ वैशाखमा कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलवानपुर बजारबाट एक किलोमिटर पश्चिममा उनको शव भेटिएको थियो । भुसालको बायाँ आँखातर्फ एउटा चोट देखिएपछि स्थानीयले उनको हत्या भएको हुनसक्ने आशंका गर्दै प्रदर्शन गरेका थिए ।
घटनाको अनुसन्धानका लागि प्रहरीले प्रारम्भमा ५ जनालाई पक्राउ गरेको थियो । यद्यपि, सबै जना तारेखमा छुटिसकेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतले अनलाइनखबरलाई बताए ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार पक्राउ परेकाविरुद्ध प्रमाण अभाव भएपछि उनीहरुलाई छाडिएको हो । सीआईबीले अनुसन्धान थालिसकेको जनाउँदै बस्नेतले यसबारे बताएनन् ।
प्रहरी स्रोतका अनुसार हालसम्म अनुसन्धान अधिकृतहरुले हत्या भएको हुनसक्ने आधार भेट्न सकेका छैनन् ।
प्रतिक्रिया 4