Comments Add Comment

विराटनगरस्थित श्री अस्पताल बन्द, तलब माग्दै कर्मचारीले घेरे सञ्चालककाे घर

१९ जेठ, विराटनगर । विराटनगरमा करिब ९ वर्षयता सञ्चालनमा रहेको श्री अस्पताल बन्द भएको छ । पूर्व जानकारीविना अस्पताल बन्द भएपछि त्यहाँ कार्यरत ४३ स्वास्थ्य कर्मचारी अलपत्र परेका छन् । शनिबारको बिदामा बसेका कर्मचारीले आइतबार एक्कासी अस्पताल बन्द भएको थाहा पाएका थिए ।

पाँच महिनायता तलब नपाएका कर्मचारीले जानकारीविनै अस्पताल बन्द गरेपछि सञ्चालक राजेश अग्रवालको घर घरेका छन् । सोमबार तलब माग गर्दै अग्रवालको घर घेरेका हुन् । अस्पतालमा लकडाउन यता बिरामीको चाप थिएन् । आर्थिक नोक्सानी भोगेका कारण अग्रवालले लकडाउन सुरु भएयता कर्मचारी समेत कटौती गरेका थिए । तर कार्यरत कर्मचारीलाई तलब नदिएका अग्रवालले एक्कासी अस्पताल बन्द गरेका थिए ।

अस्पतालमा कार्यरत कर्मचारी मध्ये केहीले पाँच महिना र केहीले ३ महिनायता पारिश्रमिक नपाएको अस्पतालमा कार्यरत कर्मचारी मनोज साहले बताए ।

पूर्वजानकारी विना अस्पताल बन्द गरेपछि तीन डाक्टरसहित ४३ कर्मचारीले अग्रवालको घर घेरेपछि प्रहरी टोली पुगेको थियो । डीएसपी बेदप्रसाद गौतमको नेतृत्वमा पुगेको प्रहरी टोलीले अस्पताल सञ्चालक र कर्मचारीबीच छलफल गराएको थियो । छलफलका क्रममा अग्रवाल तलब चुक्ता गर्न राजी भएका छन् । उनले प्रत्येक दिन १० जनाका दरले सबैको पारिश्रमिक भुक्तानी गरिदिने बताए ।

कालोबजारी गर्दा तीन लाख जरिवाना

कर्मचारीलाई जानकारी नदिई अस्पताल बन्द गरेका सञ्चालक अग्रवाल यसअघि मास्क कालोबजारी प्रकरणमा मुछिएका थिए । गत चैत ९ गते स्थानीय प्रशासनले अग्रवाललाई मास्क लुकाएको भेटेपछि तीन लाख रुपैयाँ जरिवाना गराएको थियो ।

स्थानीय प्रशासनले विराटनगर–९ घोगापुल चोक अग्रवालले आफ्नै घरमा सञ्चालन गरेको श्री सुरजी इन्पेक्समा लुकाएको अवस्थामा ११ हजार ३ सय ५० पिस मास्क बरामद गरेको थियो ।
वाणिज्य कार्यालय, विराटनगर महानगरपालिकासहितको अनुगमन टोलीले मास्क र सेनिटाइजर कालोबजारीका लागि लुकाएको पाइएपछि सञ्चालक अग्रवाललाई तीन लाख रुपैयाँ जरिवाना गराएर छाडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment