Comments Add Comment

प्रदेशले भन्यो : आइसोलेसन वार्ड बनाऊ, स्थानीय तहले भने– सक्दैनौं

कैलालीको एक क्वारेन्टिन स्थल।

१९ जेठ कैलाली । कोरोना संक्रमणको बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले स्थानीय तहहरुलाई कम्तीमा ५ देखि १० शय्याको आइसोलसेन वार्ड बनाउन परिपत्र गरेको छ ।

आइतबार जारी गरेको निर्देशनमा सम्पूर्ण हेल्थ पोष्टमा ५ शय्याको आइसोलेसन कक्ष तयार गर्न र सम्बन्धित संस्थाका हेल्थ असिस्टेन्टलाई जिम्मा दिन आग्रह गरिएको निर्देशनालयका मेडिकल अधिकृत भुषण श्रेष्ठले बताए ।

‘प्रत्येक स्थानीय तहमा आइसोलेसन तयार गरे सम्भावित महामारीको अवस्थामा रोकथाम र उपचार गर्न सहज हुन्छ’ उनले भने, ‘अवस्था भयावह नहोस् भनेर हामीले यस्तो निर्णय गरेका हौं ।’

हाल प्रदेशमा १६ प्राथमिक स्वास्थ्य केन्द्र र ३७६ स्वास्थ्य चौकी छन् । अधिकांश प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत र स्वास्थ्य चौकीमा हेल्थ असिष्टेन्ट कार्यरत छन् । उनीहरुलाई आइसोलेसलन कक्ष सञ्चालनको जिम्मा दिन सकिने श्रेष्ठले बताए ।

कहाँ कति छन् आइसोलेसन

सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा गरी १८० शैय्याको आइसोलेसन कक्ष तयार गरिएको छ । तर, भारतबाट आउनेको संख्या बढ्दै गएपछि यो संख्या पर्याप्त नहुने स्वास्थ्य निर्देशनालयले ठहर छ ।

आइतबार साँझसम्म सेती प्रादेशिक अस्पतालमा २४, महाकाली अस्पतालमा १०, टीकापुर अस्पतालमा १२ शय्याको आइसोलेसन वार्ड छ । त्यस्तै प्रदेशको जिल्ला अस्पतालमध्ये बझाङमा २५, अछाममा १७, डोटीमा १०, बाजुरामा १२, दार्चुलामा १३ शय्याको आइसोलेन कक्ष बनेका छन् ।

त्यस्तै अछामको बयलपाटा अस्पताल १३, दार्चुलाको गोकुलेश्वर अस्पतालमा ४, डडेल्धुराको डडेल्धुरा अस्पतालमा १३ र जोगबुडा अस्पतालमा ८ आइसोलेसन शय्या छन् । प्राथमिक स्वास्थ्य चौकीमध्ये कैलालीको भजनीमा ४, चौमालामा ५ र बाजुराको कोल्टीमा २ वटा आइसोलेसन शय्या रहेको छ ।

९ जिल्लाका १६ स्थानका १ सय ८० शय्याको आइसोलेसन शय्यामा आइतबार साँझसम्म २७ जना उपचाररत रहेको स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत श्रेष्ठले बताए ।

आइतबार साँझ सम्म कैलालीको सेती प्रादेशिक अस्पतालमा ७ जना, टीकापुर अस्पतालमा १२ जना, भजनी प्राथमिक स्वास्थ्य चौकीमा १ जना, महाकाली अस्पतालमा २ जना, जिल्ला अस्पताल बैतडीमा १ जना, जिल्ला अस्पताल बाजुरामा २ जना, डडेल्धुरा अस्पतालमा १ जना र जिल्ला अस्पताल दार्चुलामा १जना जना उपचाररत छन् ।

स्थानीय तहले भने – हामी सक्दैनौं

क्वारेन्टिन तयार गर्न र त्यसलाई व्यवस्थापन गर्न सकस परिरहेका स्थानीय तहले तत्काल आइसोलेसन कक्ष तयार गर्न नसकिने बताएका छन् ।

कैलालीको जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले व्यवस्थित हेल्थ पोष्ट नहुँदा आइसोलेसन वार्ड बनाउन नसकिने बताए ।

‘४ वटा स्वास्थ्य चौकी छन् । तर, कुनै पनि आइसोलेसन बनाउने जस्तो छैन’ उनले भने ‘संरचना र जनशक्ति अभावमा हामी तत्काल सक्दैनौँ ।’

बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले पनि तत्काल आइसोलेसन कक्ष बनाउन नसकिने बताएका छन् । ‘हामीले तत्काल बनाउन सक्दैनौं । यहाँ चिकित्सक छैनन् संरचना पनि छैन’ उनले भने ‘राख्नसम्म त ठीकै होला तर, उपचार गर्न समस्या हुन्छ ।’

घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले पनि अहिल नै यस्तो सम्भव नरहेको बताए । उनले भने, ‘यो राम्रो कुरा हो । तर, हामीसँग जनशक्ति, उपकरण र स्थान छैन । हामी तत्काल यो लागू गर्न सक्दैनौं । ’

नगरपालिकाले ४२ वटा क्वारेन्टिन बनाएको र त्यसमा १७ सय नागरिक राखेको भन्दै तिनको व्यवस्थापनमै पनि सकस भइरहेको उनले बताए ।

सुगम जिल्ला रहेको कैलालीमा स्थानीय तहहरुले तत्काल आइसोलेसन बनाउन समस्या भइरहेको बताउँदा पहाडी जिल्लामा पनि यस्तै समस्या देखिएको छ ।

अछाम विनायक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मीकान्त बजागाईंले प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशन तत्कार पूरा गर्न नसकिने बताउँछन् ।

‘अहिले सम्भावना छैन । भवनको समस्या छ’ उनले भने ‘विशेषज्ञ चिकित्सक बिना आइसोलेसन वार्ड हेल्थ असिस्टेन्टको भरमा सञ्चालन गर्न कठिन छ ।’

चिकित्सक बिना आइसोलेन वार्ड सञ्चालन गर्न नसकिने स्थानीय तहले दाबी गरे पनि प्रदेश स्वास्थ्य निर्देशनालयले आइसोलेसन वार्डको लागि चिकित्सक आवश्यक नपर्ने जनाएको छ ।

‘संक्रमण मात्रै भएको अवस्थामा त्यहीँको आइसोलेसनमा राखेर उपचार गर्ने नीति लिइएको हो’ मिश्रले भने, ‘समस्या जटिल भए पनि आईसीयु र भेन्टिलेटरमा राख्न धनगढी पठाउन भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment