Comments Add Comment

सोमबारदेखि युरोपभर खुकुलो बन्दै लकडाउन

१९ जेठ, काठमाडौं । युरोपेली मुलुकहरूले कोरोना भाइरस (कोभिड–१९) बाट बच्नको लागि जारी लकडाउन सोमबारदेखि खुकुलो बनाउने तयारी गरेका छन् ।

युरोपका सबैजसो मुलुकले लकडाउन हटाउने वा खुकुलो पार्ने काम तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

युरोपेली मुलुकहरूमध्ये केहीले लकडाउनको अन्त्य नै गर्ने तयारी गरेका छन् भने केहीले खुकुलो बनाएर लकडाउन जारी राख्ने निर्णय गरेका छन् ।

लकडाउन खुकुलो बनाउने र हटाउने मुलुकहरू निम्नानुसार छन् ।

ग्रिस

मे २५ देखि रेस्टुरेन्ट र क्याफेहरू खुला गरिसकेको ग्रिसले सोमबारदेखि सीमित अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिने भएको छ । जुन १५ बाट २९ मुलुकबाट आउने पर्यटकलाई मुलुकमा प्रवेश गर्न अनुमति दिने तयारी गरेको छ ।

ग्रिसले जुलाई १ देखि अन्तर्राष्ट्रिय उडान थप खुकुलो बनाउने भएको छ । तर, मुलुकमा आउने पर्यटकको अनिवार्यरुपमा कोरोना परीक्षण गराउनुपर्नेछ । कोरोना भाइरसको संक्रमण नदेखिएका पर्यटकले पनि सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

फ्रान्स

क्याफे, बार र रेस्टुरेन्टहरू मंगलबारदेखि खुल्नेछन् । यद्यपि १० जनाभन्दा धेरै मानिसहरू भेला हुन भने पाइने छैन । कुनै पनि स्थानमा पाँच हजारभन्दा बढी मानिसलाई राख्न पाइने छैन र भौतिक दुरीको नियम अनिवार्यरुपमा पालना गराइनुपर्नेछ । फ्रान्समा शनिबारदेखि नै पार्कहरू खुलिसकेका छन् ।

इटाली

बुधबारदेखि इटालीमा लगाइएको अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध हटाइने छ । मानिसहरूलाई मुलुकका विभिन्न क्षेत्रहरूको बीचमा भ्रमण गर्न अनुमति मिल्नेछ । इटालीमा पनि यसअघि नै आंशिकरुपमा लकडाउन खुकुलो बनाइएको थियो ।

स्पेन

स्पेनमा सोमबारदेखि करिब ७० प्रतिशत मानिसहरूको लागि लगाइएको लकडाउन खुकुलो हुनेछ । यससँगै उनीहरूले फरक–फरक परिवारमा बढीमा १५ जनासम्म मानिसको भेलामा सामेल हुन पाउनेछन् । केही रेस्टुरेन्ट, स्टोर, सिनेमा र संग्रहालय पनि खुल्नेछन् । तर यस्ता क्षेत्रमा निकै कम संख्यामा मात्र मानिसहरू जान पाउनेछन् । राजधानी सहर रहेको मेड्रिड क्षेत्रको लकडाउनको लागि भने पहिलो चरणअनुसारकै व्यवस्था कायम रहनेछ ।

डेनमार्क

जर्मनी, नर्वे र आइसल्याण्डबाट आउने पर्यटकलाई डेनमार्कमा जुन १५ देखि प्रवेश गर्ने अनुमति दिइनेछ ।

इङ्गल्याण्ड

इङ्गल्याण्डमा त्यहाँको सरकारले सोमबारदेखि ६ जनासम्मलाई भेला हुन दिने भएको छ । यद्यपि भौतिक दुरी कायम राख्ने नियम भने कडाइका साथ पालना गर्नुपर्ने हुन्छ । भर्खरै नर्सरी वा विद्यालय जान थालेका साना बालबालिकाका लागि विद्यालय पनि खुल्नेछन् ।

साथै जिम, पुल र खेलकुदका गतिविधिहरू पनि सञ्चालनको लागि अनुमति दिइएको छ । बाहिरी बजार र कार सोरुमलाई पनि खोल्न दिइनेछ ।

वेल्स

वेल्समा सोमबारदेखि दुई फरक परिवारका मानिसहरूले बाहिर भेट्न पाउने व्यवस्था गरिएको छ ।

स्कटल्याण्ड

स्कटल्याण्डमा सोमबारदेखि फोहोर प्रशोधन केन्द्रहरू खोल्ने तयारी भइरहेको छ । साथै शिक्षकहरूलाई अगष्ट ११ देखि विद्यालय सञ्चालनको तयारी गर्न विद्यालय जाने अनुमति दिइएको छ । बुधबारदेखि बाल स्याहार केन्द्रहरू खुल्नेछन् । यद्यपि बालबालिकाको संख्या भने सीमित हुनुपर्नेछ ।

नेदरल्याण्ड्स

सोमबारदेखि नेदरल्याण्ड्समा पनि आंशिकरुपमा लकडाउन खुला गरिएको छ । संग्रहालय, क्याफे, रेस्टुरेन्टलगायतका क्षेत्रहरू पनि खुल्नेछन् । यद्यपि भौतिक दुरीको नियम पूर्णरुपमा पालना गर्नुपर्नेछ । त्यस्तै, कुनै पनि भवनभित्र ३० जनाभन्दा बढी ग्राहकलाई राख्न पाइने छैन । सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

स्रोत : सीएनएन, बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment