Comments Add Comment

लुम्बिनीमा अन्तर्राष्ट्रिय सभाहल निर्माण अन्तिम चरणमा

२० जेठ, काठमाडौ । विश्वव्यापी महामारीका रुपमा विस्तारित कोरोना भाइरस -कोभिड-१९) का कारण सुस्ताएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको कामले पुन गति लिएको छ । सामाजिक दुरी, सेनिटाइजरको प्रयोगलगायत आवश्यक स्वास्थ्य सावधाानी सम्बन्धि निर्देशिकाको पालना गर्दै निर्माण कार्य अगाडि बढेको पर्यटन मन्त्रालयले जनाएको छ ।

काम अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीलेे निर्देशन दिएपछि गत शनिबार हेटौंडा र काठमाडौंबाट थप कामदार ल्याएर काम फेरि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार क्षमताको सभाहल तथा ध्यान केन्द्र निर्माणको काम दुई वर्ष अगाडिबाट शुरु भएको हो । ३८ करोड ५६ लाख रुपैयाको लागतमा पहिलो चरणको काम ०७६ चैत ५ मै सम्पन्न गर्ने गरी ०७४ चैत ६मा सम्झौता भएको थियो ।

कोरोनाका कारण निर्धारित मितिमा पहिलो चरणको काम सम्पन्न नहुने भएपछि आगामी असारसम्मका लागि अवधि थपिएको छ । ‘यस वर्षको बुद्ध जयन्तीको कार्यक्रम नयाँ सभा हलमा नै गर्ने तयारी मन्त्रालयले गरेको थियो ।

तर, कोरोना भाइरसको संक्रमणसँगै उक्त योजना प्रभावित बनेको थियो । लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राइका अनुसार केहि निर्माण सामाग्री चीनवाट ल्याउनुपर्नेछ, ती सामग्री जडान बाहेकको काम अब चाँडै पुरा हुने भएको छ । यो आयोजनाको लागत समेत १० करोड कम भएको उनले जानकारी दिए । निर्माण कार्य सम्पन्न हुँदासम्म २८ करोड १३ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

पहिलो चरणको ८५ प्रतिशत काम सकिएको राईले बताए । उनका अनुसार कोरियन प्रविधिबाट बनाउनुपर्ने सभाहलको छाना हाल्न दक्ष कामदार चाहिने तर ती कामदार नभएकाले काम रोकिएको थियो ।

अहिले हेटौडा र काठमाडौंबाट दक्ष कामदार ल्याएर काम शुरु गरिएको हो । छानो, वाथरुम, मार्वल हाल्नेलगायत काम अलग अलग क्षेत्रमा कोभिड १९ विरुद्ध स्वास्थ्य निर्देशका पालना गर्दै शुरु भएको हो । आयोजनामा अहिले करिव ६० जना कामदार खटिएका छन् ।

पहिलो चरणको काम सकिएपछि आगामी आर्थिक वर्षमा दोस्रो चरणको काम शुरु हुने कोषका सदस्य सचिव राइले बताए । सभाहलको भित्री साजसज्जा, बाहिर पानीको फोहरालगायत काम दोस्रो चरणमा पर्छन् । सन् २०१६ को अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन मनाउनेक्रममा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीलेे आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए ।

अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा ध्यानकेन्द्रको छानो गोलाकार आकारमा डिजाईन गरिएको छ । हलमा ध्यान गर्न प्रत्येक व्यक्तिको लागि १ बर्ग मिटरको क्षेत्रफल राखिने भएको छ । जसमा एउटा ब्लकमा चारजना मानिस बस्ने व्यबस्था मिलाइएको छ ।

आवत जावतका लागि २ मिटर चौडाई भएको ठाउबाट भित्र-बाहिर गर्ने व्यबस्था मिलाईएको छ । भूईमा सेतो रंगको माजाईक र ४ ईन्चको सेतो मार्बलले सीमाङ्गकन गरिने भएको छ ।
सभाहलमा प्रवचन, भजन, भाषण जुनसुकै कुनाबाट पनि स्पष्ट सन्न सकिने किसिमले अत्याधुनिक स्पीकरको व्यबस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रीन तथा पर्याप्त लाईटको व्यबस्था गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment