Comments Add Comment

सरकारले सम्बोधन नगरे प्राविधिकहरु भोकै हुने अवस्था आउँछः पुष्कर लामा

लक डाउन खुकुलो भएपछि पनि चलचित्र क्षेत्र चलायमान हुन समय लाग्छ । अझ, हलमा चलचित्र रिलिज हुन त अझै केही महिना कुनुपर्ने पक्का छ ।

चलचित्र क्षेत्र चलायमान नहुँदा विशेषगरि, दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका धेरै प्राविधिकहरु समस्यामा पर्न थालेका छन् ।

चलचित्र प्राविधिक संघले साढे ३ सय भन्दा बढी चलचित्र प्राविधिकहरुलाई राहत त वितरण गरेको छ, तर यो मात्र पर्याप्त छैन । लक डाउन २ महिना भन्दा लामो समयदेखि हुँदा अब निम्न वर्गीय मात्र नभएर मध्यम वर्गीय प्राविधिकहरुमा पनि समस्या सुरु भएको छ ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा भन्छन्–‘सरकारले चलचित्र प्राविधिकहरुको लागि कुनै सम्बोधन गरेन भने अब प्राविधिकहरु भोकै पर्न सक्ने अवस्था आउँछ ।’

लक डाउनको समयमा कलाकारहरुको सहयोगले संघले साढे ३ सय भन्दा बढी प्राविधिकहरुलाई राहत वितरण गरेको थियो । तर, चलचित्र प्राविधिक संघले अब, चलचित्र क्षेत्र भन्दा बाहिरका मानिसहरुलाई पनि सहयोगका लागि आह्वान गरेको छ । अध्यक्ष लामाले भने–‘चलचित्र प्राविधिकहरुका लागि सहयोग गर्न चाहने जुनसुकै क्षेत्रका व्यक्तिहरुले पनि चलचित्र प्राविधिक संघमार्फत सहयोग गर्न सक्नुहुनेछ ।’

सरकारले ल्याएको नयाँ आर्थिक बर्षको बजेटमा कुनै पनि खालको सम्बोधन नभएको भन्दै पुष्करले असन्तुष्टी जनाए । उनले भने–‘सरकारले स्थिती सामान्य नभएसम्म चलचित्र प्राविधिकहरुका लागि खाने र घर भाडाको व्यवस्था गर्न आवश्यक छ । होइन भने, कोरोनाको महामारी भन्दा भने भोकको महामारी अब सुरु हुँदैछ ।’

चलचित्र प्राविधिक संघमा सहयोगका लागि प्राविधिकहरुको फोन निरन्तर आएपनि अब आफूहरुले पनि सरकारलाई गुहार्न बाहेक अन्य उपाय नभएको पुष्करले बताए ।

पुष्करले सरकारसँग आग्रह गर्दै भने–‘सरकारले विभिन्न नियम बनाएर म्यूजिक भिडियो र सिरियलको छायांकन सुरु गर्ने अनुमती दिनुपर्दछ । चलचित्रका लागि पनि नियम बनाएर छायांकनका लागि अनुमती नदिए प्राविधिकहरुलाई ठूलो समस्या पर्छ ।’

यो समयमा धमाधम तीजका गीतहरुको छायांकन भैरहेको हुन्थ्यो । तर, यसपटक यी सबै काम ठप्प हुँदा प्राविधिकहरु वेरोजगार बनेका छन् । चलचित्र प्राविधिक संघले भयाभव स्थिती आउनु अगाडि नै सरकारले सम्बोधन गर्नुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment