Comments Add Comment

किन थुप्रिएका छन् प्रयोगशालामा सयौं स्वाब ?

परीक्षणको पर्खाइमा डेढ लाख, दैनिक परीक्षण ३ हजार

फाइल तस्वीर

२१ जेठ, काठमाडौं । सर्लाहीको कविलासी नगरपालिकाले अगरवा माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका ५५ जनाको जेठ ११ गते नै स्वाब संकलन गरेर पठायो । तर, स्वाब पठाएको ८ दिनपछि १९ गते मात्र रिपोर्ट तयार भयो । ५५ मध्ये ३६ जनाको पोजेटिभ रिपोर्ट आयो । त्यसबेलासम्म संक्रमित र अरू एकै ठाउँ बसिरहेका थिए ।

अब उनीहरू सबैको फेरि पीसीआर टेस्ट गराउने हो भने रिपोर्ट आउन कति दिन लाग्छ, टुङ्गो छैन। त्यसैले आरडीटी गरेर हेर्दा तीनजनाको पोजेटिभ आयो । उनीहरुलाई राखेर अरूलाई घर पठाइएको मेयर कैलाश किशोर यादव बताउँछन् ।

०००

दैलेखका क्वारेन्टिनमा भारतबाट घर फर्किएका मानिसहरू भरिइसके । तर सुर्खेत र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको स्वाबको रिपोर्ट आएको छैन । ९/१० दिनसम्म स्वाब होल्ड हुँदा क्वारेन्टिनमा सँगै बसेकाहरू संक्रमित हुन थाले ।

भारतबाट थप आएका मानिसहरूलाई क्वारेन्टिन गर्ने गाउँ पनि भएन । त्यसैले जिल्ला सीसीएमसीले पीसीआरको साटो क्वारेन्टिनमा बसेकाहरूको आरडीटी टेस्ट गर्ने र घर पठाउने निर्णय गरेको छ ।

०००

बाराका ७० वर्षीय पुरुष दीर्घ श्वासप्रश्वाससम्बन्धी समस्याले जेठ २ गते नेसनल मेडिकल कलेजमा भर्ना भए। आईसीयूमा भर्ना भएका उनको भोलिपल्टै स्वाब संकलन गरियो । तर उपचारका क्रममा उनको ४ गते मृत्यु भयो । तर कोरोना परीक्षणको रिपोर्ट भने दाहसंस्कार भएको ९ दिनपछि १२ गते मात्र आयो । नारायणी अस्पतालमा परीक्षण गर्दा शंकास्पद भेटिएपछि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो ।

यसरी कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको एक साता वा सोभन्दा बढीमा रिपोर्ट आउनु सामान्य बनेको छ । जनस्वास्थ्य विज्ञहरू भने यसले गम्भीर संकट निम्त्याउने बताउँछन् ।

स्वाब होल्ड हुनुका तीन कारण

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिले प्रत्येक ल्याबमा २०० देखि ५०० थ्रोट स्वाब होल्ड भएको छ । तर परीक्षण औसतमा एक सय हाराहारी छ । यसरी हेर्दा सयौं स्याम्पल एक साताभन्दा बढी प्रयोगशालामै होल्ड हुने देखिन्छ ।

‘देशभरका २० वटा ल्याब पूर्ण क्षमतामा चलाउँदा पनि बढीमा दैनिक चार हजारभन्दा बढी परीक्षण गर्न सकिन्न । जबकि अहिले नै दैनिक पाँच हजार बढी नमुना संकलन भइरहेको छ’ नाम नबताउने शर्तमा प्रयोगशालाका एक वैज्ञानिक भन्छन्, ‘देशभरका ल्याबमा केही जनशक्ति र अतिआवश्यक उपकरण थप्न सकियो भने परीक्षणको स्पिड थोरै मात्रामा भन्दा बढाउन सकिन्न ।’

डाक्टर रुना झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झा भने प्रयोगशालाहरुमा धेरै स्याम्पल होल्ड हुनुका मुख्य तीनवटा कारण रहेको बताउँछिन् ।

पहिलो— गाइडलाइन फलो नगरी स्वाब संकलन गर्नु ।
दोस्रो— प्राथमिकता निर्धारण नगरी एकै ठाउँमा स्वाब पठाउनु ।
तेस्रो — पुल टेस्टिङ रोकिनु ।

डाक्टर झाका अनुसार सम्भावित संक्रमित र उनीहरूको सम्पर्कमा आएका मानिसको एकैपटक स्वाब संकलन भएको छ । यसरी गाइडलाइन फलो नगरी यसरी स्वाब संकलन गर्दा रिपोर्ट पोजेटिभभन्दा नेगेटिभ बढी आएको उनी बताउँछिन् । अन्धाधुन्ध स्वाब संकलन गरेर परीक्षण गराउँदा सही रिजल्ट नआउने मात्र होइन, समय र स्रोतको समेत दुरुपयोग हुने उनको तर्क छ ।

‘स्वाब नै नलिने भनेको होइन, तर लक्षण देखिएका र लक्षण नदेखिएकाहरूको छुट्याएर पठाएको भए सहज हुन्थ्यो’ उनले अनलाइनखबरसँग भनिन्, ‘अन्धाधुन्ध स्वाब संकलन गरेर पठाएकाले प्राथमिकतामा कुन स्याम्पल छ भन्ने जानकारी नै हामीलाई हुँदैन । यसले पनि समस्या भयो ।’

प्राविधिक कारणले पनि स्वाब होल्ड हुने गरेको छ । कतिपय अवस्थामा स्याम्पल लोड गरिसकेपछि मेसिन जाम हुन्छ र रिपोर्ट आउन ४/५ घण्टा ढिलो हुने भन्दै उनले भनिन, ‘स-साना प्राविधिक कारण र धेरै स्याम्पल एकैपटक आएकाले केही नमुना होल्ड भएको हो । अब स्वाब संकलन र परीक्षणको सन्तुलन मिल्छ ।’

डाक्टर झाका अनुसार एक साताअघिसम्म टेकु प्रयोगशालामा दैनिक दुई हजारभन्दा बढी स्याम्पल आउँ’थ्यो । तर अहिले त्यो क्रम घटेर दैनिक ७ सयमा झरेको छ । यसले स्याम्पल होल्ड हुने क्रम घटेको छ । देशभरका अन्य ल्याबले पनि परीक्षणको गति बढाएको उनको दाबी छ । ‘गएका केही दिन देशभरका ल्याबमा केही दिन स्याम्पल होल्ड भएको हो । अब स्याम्पल आउने क्रम घट्दैछ तर हाम्रो टेस्ट घटेको छैन’ उनी भन्छिन्, ‘देशभरका ल्याबहरूले क्षमताअनुसार परीक्षण गरिरहेका छन्, अब सन्तुलन मिल्छ ।’

यो पनि पढ्नुहोस खरायो गतिमा कोरोना संक्रमण, कछुवाको तालमा स्वास्थ्य मन्त्रालय

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारीका अनुसार हाल सञ्चालनमा रहेका अधिकांश पीसीआर मेसिन म्यानुअल्ली भएकाले पनि परीक्षण गर्न ढिलो भएको छ । उनका अनुसार अटोमेटेड पीसीआर मेसिन भएको भए अहिले भएको परीक्षणको तीन गुणा बढी नमुना परीक्षण गर्न सकिन्थ्यो । ‘अहिले हामी आफैँले आरएनए एक्स्ट्रयाक्सन गरेर अरू रिएजेण्टसँग मिक्स गरेर पीसीआरमा हाल्नुपर्छ र ढिलो हुन्छ,’ उनी भन्छन्, ‘अटोमेटेड पीसीआर मेसिन भएको भए एकै घण्टामा यो सबै काम तमाम हुन्थ्यो ।’

‘पुल टेस्टिङ परीक्षण गर्दा एकै पटक ५ जनाको परीक्षण गरिन्थ्यो र छिटो हुन्थ्यो’ उनी भन्छन्, ‘संक्रमण बढ्दै गएपछि पुलिङ मेथडबाट परीक्षण गरिरहन सम्भव भएन ।’पुल टेस्टिङ स्थगित गरेकाले पनि परीक्षणको गति सुस्त भएको प्रयोशालाको अर्का ल्याब साइन्टिस्ट बताउँछन् । उनका अनुसार केही समयअघिसम्म पुल टेस्टिङ विधिबाट परीक्षण गरिएको थियो । तर संक्रमणको दर तीव्र भएसँगै धेरै स्याम्पल रिकन्फर्म गर्नु अवस्था आएपछि पुल टेस्टिङबाट परीक्षण बन्द गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक झाका अनुसार परीक्षणको गति बढाउन सरकारले केही स्थानमा पीसीआर ल्याब जडान गर्ने तयारी गरिरहेको छ । मन्त्रालयका एक अधिकारीले पनि अटोमेटेड पीसीआर किन्ने निर्णय गरिसकेको र यसले अहिलेभन्दा तीन गुणा नमुना परीक्षण गर्ने बताउँछन् ।

परीक्षणको पर्खाइमा डेढ लाख, दैनिक परीक्षण ३ हजार

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका क्वारेन्टिनमा मंगलबारसम्म एक लाख ४५ हजार तीन सय ७५ जना छन् । उनीहरूमध्ये धेरै जना भारतमा घर फर्किएकाहरू छन् । भारतबाट ठूलो संख्यामा आउने क्रम भने जेठ ११/१२ गतेबाट बढेको हो ।

उनीहरू सबै परीक्षणको पर्खाइमा छन् । जनस्वास्थ्य विज्ञहरूका अनुसार क्वारेन्टिन बसेकाहरूमा लक्षण छ भने तत्काल र लक्षण छैन भने एक सातामा स्वाब संकलन गरेर परीक्षण गर्नु उपयुक्त हुन्छ । यसरी हेर्ने हो भने अहिले देशभरका क्वारेन्टिनमा बसेका ठूलो संख्याका मानिसको परीक्षण गर्ने उपयुक्त समय हो ।

तर परीक्षणको गति त्यो अनुपातमा छैन । पछिल्लो २४ घण्टामा देशभरका २० ल्याबले जम्मा तीन हजार चार सय ४० जनाको मात्र पीसीआर परीक्षण भएको छ । जबकि देशभरबाट दैनिक पाँच हजारभन्दा बढी नमुना संकलन भइरहेको छ । कतिपय स्थानमा भाइरस ट्रान्सपोर्ट मेडियम (भीटीएम) अभावका कारण स्वाब संकलन हुन सकेको छैन । भीटीएम पाउने हो भने यो संख्या अझ बढ्नेछ ।

यहीबेला सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकहरूलाई पनि उद्धार गर्ने तयारी गरेको छ । रोजगारीका लागि भारत गएकाहरू फर्किने क्रम पनि रोकिएको छैन ।

भारत तथा तेस्रो मुलकबाट आएकालाई स्वास्थ्य मापदण्ड विपरीतका क्वारेन्टिनहरूमा कोचेर राख्ने र दैनिक तीन हजारको दरले नमुना परीक्षण गर्ने हो भने अवस्था के होला ? यस्ता प्रश्नको जवाफ स्वास्थ्य मन्त्रालयसँग छैन ।

यसरी महामारी नियन्त्रण गर्न सकिन्न : विज्ञ

संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी भने स्वाब संकलन गरेको एक सातापछि रिपोर्ट दिएर महामारी नियन्त्रण गर्न नसकिने बताउँछन् । रिपोर्ट आउन ढिलो हुँदा मानिस अव्यवस्थित क्वारेन्टिनमा लामो समयसम्म बस्न बाध्य हुन्छन् ।

मानसिक तनाव हुन्छ, संक्रमण अरूमा फैलिन्छ । उनका अनुसार स्वाब संकलन गरेको कम्तीमा ४८ घण्टामा रिपोर्ट लिएर पोजेटिभ आए कन्ट्याक ट्रेसिङ सक्नुपर्छ । त्यसो हुँदा संक्रमितसँग सम्पर्कमा आएका मानिसहरूको अरूसँग सम्पर्क हुन पाउँदैन र संक्रमण समुदायमा फैलिन पनि पाउँदैन ।

उनी एउटा उदाहरण दिन्छन्, एउटा अस्पतालमा आएका एक बिरामीको कोरोना संक्रमणको आशकांमा नमुना झिकियो । उनी संक्रमित रहेछन् । तर रिपोर्ट आउन ढिलो भएकाले उनको सम्पर्कमा आउने चिकित्सिकहरू अरू बिरामीलाई उपचार गर्नतिर लागे । चिकित्सकले सावधानी अपनाउँदा पनि धेरै पीपीई खपत हुन्छ ।

बिरामीका कुरुवा वा अरू बिरामीले पनि पर्याप्त सावधानी नअपनाउन सक्छन् । यसरी सहजै कोरोना सर्न सक्छ । बिरामी कुरुवाको माध्यमबाट संक्रमण समुदायमा पुग्छ र अरूमा पनि फैलिन सक्छ । किनकि स्वाब संकलन गरेको एक सातासम्म रिपोर्ट आउँदा कन्ट्याक ट्रेसिङ नै सुरु हुन्न ।

क्वारेन्टिनमा बसेको बिरामी सिकिस्त भयो भने रिपोर्ट नआइकन जटिल उपचार गर्न समेत गाह्रो हुने डा. सुवेदी बताउँछन् । उनका अनुसार रिपोर्ट नआई अन्य बिरामी भए भने एण्टिबायोटिक चलाउँदा त्यसले पार्ने असर भयानक हुन्छ ।

‘रिपोर्ट ढिलो आउँदा कुनै पनि क्वारेन्टिनस्थलमा संक्रमण भयानक फैलदा पनि थाहा नभएर महामारी नियन्त्रण गर्न नसकिने तरिकाले फैलिन्छ’ डाक्टर सुवेदी भन्छन्, ‘त्यस्तै मानिसमा मानसिक असर पनि धेरै पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment