
२१ जेठ, विराटनगर । तीनजना कोरोना संक्रमित देखिएको विराटनगरमा बिहीबारबाट बजार खुल्ने भएको छ । स्थानीय व्यावसायीले बजार खोल्न माग गरेपछि प्रशासनले लकडाउनलाई खुकुलो बनाउँदै बिहीबारबाट दिउँसो १२ बजेसम्म बजार खोल्न दिने भएको हो ।
जिल्ला स्तरीय कोरोना संकट व्यावस्थापन समितिको बुधबार बसेको बैठकले बिहीबारबाट आधा दिन बजार खोल्न दिने निर्णय भएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।
बजार पसल खुल्ला गर्ने निर्णय भए पनि होटल, रेस्टुरेन्ट, व्यूटी पार्लर र सैलुन भने तत्काल नखुल्ने पराजुलीले बताए । बजार खोल्नका लागि सामाजिक दुरी कायम गरी सतर्कता अपनाउनु सर्त राखिएको उनले बताए ।
‘बिहीबारबाट दिउँसो १२ बजेसम्म खोल्ने निर्णय भएको छ’ उनले भने ‘सुरक्षा सतर्कताको अनुगमन गर्छाै ।’ सतर्कता नअपनाएका पसललाई बन्द गरिने उनले बताए ।
मंगलबार महनगरपालिकाले बैंक तथा वित्तीय संस्थालाई दिनभरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
संक्रमण देखिए फेरि बैठक बस्छ
विराटनगर भारतसँग सीमा जोडिएको क्षेत्र हो । खुला सीमा भएका कारण लुकिछिपी आउने क्रम रोकिएको छैन । रानी नाकाबाट स्थानीय प्रशासनले भारतबाट आएकाहरुलाई ल्याएर होल्डिङ एरियामा राख्दै आएको छ ।
बजार खोल्न दिने निर्णय गरेको महानगरमा फेरि संक्रमण देखिए के गर्ने भन्ने अन्योल छ । ‘आजको निर्णय बजार खोल्ने हो’ पराजुलीले ‘संक्रमण देखिए फेरि समितिको बैठक बस्छ र थप निर्णय गर्न सक्छ ।’
स्थानीय व्यावसायीको दबावका कारण तत्कालका लागि बजार खुला गर्ने निर्णय भएको पराजुलीले बताए ।
मोरङमा सातजना संक्रमित देखिएका छन् । तीमध्ये तीनजना विराटनगरका छन् । २ जना रतुवामाई नगरपालिकाका र २ जना रंगेली नगरपालिकाका छन् ।
प्रतिक्रिया 4