Comments Add Comment

कञ्चनपुरका स्वास्थ्यकर्मी भन्छन्– स्वास्थ्य सामग्री अभावले कोरोना संक्रमित भएँ

२२ जेठ, काठमाडौं । कञ्चनपुरका कोरोना संक्रमित स्वास्थ्यकर्मीले स्वास्थ्य सामग्री अभावका कारण आफू संक्रमित भएको बताएका छन् । गुणस्तरयुक्त प्रयाप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन पटक पटक माग गरे पनि सरकारले नसुनेको गुनासो उनले गरे ।

हिमालय टिभी एचडीसँग कुरा गर्दै उनले भने, ‘संक्रमण हुनुको मुख्य कारण भनेको स्वास्थ्य सुरक्षा सामग्री प्रयाप्त नभएर हो । प्रयोग भएका स्वास्थ्य सामग्री पनि कमसल खालका छन् । डब्ल्यूएचओको मापदण्ड अनुसारको नभएको हुनाले संक्रमण भएको हो ।’

उनले आफू प्रयोगशालाकर्मी भएको र प्रयोगशालामा खटिनेहरुलाई सरकारले फरक नजरले हेर्ने गरेको गुनासोसमेत गरे । ‘कसैलाई पनि विभेद गर्नु भएन, समान तरिकाले हेर्नुपर्यो,’ उनले भने, ‘प्रयोगशालाकर्मीलाई एउटा दृष्टिकोणले हेर्ने, चिकित्सकलाई एउटा दृष्टिकोणले हेर्ने, नर्सलाई एउटा दृष्टिकोणले हेर्ने होइन, सबै समान हुन् । पर्दा पछाडिको डाक्टर प्रयोगशालाकर्मी हुन् तर त्यति सम्मानचाहिँ पाइँदैन ।’

उनले हिमालय टिभीसँग गरेको कुराकानीको सम्पादित अंश–

स्वास्थ्य सामग्रीहरु पर्याप्त उपलब्ध छैन । एउटा पीपीईको भरमा काम गर्नुपर्ने अवस्था छ । एक जनाले आरडीटी गर्नु छ भने आरडीटी गर्नेले मात्र पीपीई लगाउँछ । अरुलाई नभएको हुँदा जो व्यक्तिले पीपीई लगाएन उसैलाई संक्रमण भयो ।

हामी नाकामा दुई जना साथी खटिएका थियौं । हाम्रो पुनर्वास नगरपालिका सम्पूर्णको आरडीटी जाँच गर्नुपर्यो भयो । प्रदेशबाट आरडीटी जाँच नहुने भयो, नगरपालिकाले नै गर्नुपर्यो भनेपछि हामीले ३३ जनाको आरडीटी जाँच गरेका थियौं । ३३ जनाको जाँच गर्दा एक जनाको पोजेटिभ आएपछि धनगढी पठाइयो । ३२ जनालाई टिपरमा राखेर नगरपालिकाको दुईवटा क्वारेन्टिन (एउटा गौरीशंकर र अर्को बागेश्वरीमा )पठाइयो ।

म अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छु । मलाई त्यस्तो समस्या कुनै छैन । स्वास्थ्य अवस्था सामान्य छ । कुनै लक्षण देखिएको छैन । लक्षणविना के औषधि खानु र । एक हिसाबले त कोरोना पोजेटिभ हो कि होइन भन्ने पनि शंका लाग्छ । तर, पोजेटिभ नै होला ।

सबभन्दा पहिले त फ्रन्टलाइनमा काम गर्ने प्रयोगशालाकर्मीहरुलाई प्रयाप्त मात्रामा सुरक्षा सामग्री हुनुपर्यो । फ्रन्टलाइनमा काम गर्ने प्रयोगशालाकर्मीहरुलाई हेर्ने दृष्टिकोण फरक भयो । नगरपालिका पनि त्यस्तै, स्थानीय सरकार पनि त्यस्तै, प्रदेश सरकार पनि त्यस्तै, केन्द्र सरकार पनि त्यस्तै ।

जोखिममा भनेर सबैभन्दा पहिले चिकित्सक, नर्स अनिमात्र प्रयोगशालाकर्मी आउँछन् । तर सबैभन्दा पहिले त प्रयोगशालाकर्मीले रगत, स्वाबको नमूना संकलन गर्छ । सबैभन्दा फ्रन्टलाइनमा र संक्रमणको जोखिममा हामी प्रयोगशालाकर्मी छौं । त्यसमा पनि गुणस्तरहीन पीपीई मास्क लगाउन दिएपछि त हामी संक्रमित भइहाल्छौं ।

हामीले गुणस्तरीय र प्रयाप्त स्वास्थ्य सामग्री चाहियो भनेर पटक पटक माग गरेका थियौं । पीपीईमात्र भएर भएन, त्यसमा एन–९५ मास्क चाहियो, फेस कभर चाहियो, जुत्ता कभर चाहियो, धेरै कुराहरु हुन्छन् । ती धेरै कुराहरु प्रयाप्त भएन । मैले नगरपालिकालगायत केन्द्र सरकारसम्म पटक पटक भनेको थिएँ ।

सबैभन्दा पहिले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई डब्ल्यूएचओको मापदण्डअनुसारको पीपीई सेट हुनुपर्यो । अस्पतालको मात्र सुरक्षा दिएर भएन । स्थानीयस्तरमा काम गर्नेहरु बढी संक्रमित भएका छन् नि । आउने भनेको स्थानीय स्तरबाट हो नि । त्यसैले स्थानीयस्तरमा काम गर्ने  प्रयोगशालाकर्मी र स्वास्थ्यकर्मी साथीहरुलाई प्रयाप्त मात्रामा स्वास्थ्य सामग्री हुनुपर्यो । कसैलाई पनि विभेद गर्नु भएन, समान तरिकाले हेर्नुपर्यो । प्रयोगशालाकर्मीलाई एउटा दृष्टिकोणले हेर्ने, चिकित्सकलाई एउटा दृष्टिकोणले हेर्ने, नर्सलाई एउटा दृष्टिकोणले हेर्ने होइन, सबै समान हुन् । पर्दा पछाडिको डाक्टर प्रयोगशालाकर्मी हुन् तर त्यति सम्मानचाहिँ पाइँदैन ।

लकडाउनभन्दा अगाडि नै भारतमा भएकालाई घर भित्राइसक्नुपर्थ्यो । उनीहरु संक्रमित भइसकेपछि बल्ल घर भित्राउँदा हामी आफैं जोखिममा पर्यौं । योभन्दा पहिले भारतमा धेरै संक्रमण फैलिएको थिएन । चैत २० गतेभित्रै भित्राइदिएको भए यस्तो समस्या भोग्नुपर्ने थिएन । यो सरकार पछिपछि, कोरोना अघिअघि भयो अब ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment