
२२ जेठ, डोटी । भारतबाट आई क्वारेन्टिनमा बसेका दुई महिलाले बुधबार राति क्वारेन्टिनमै बच्चा जन्माएका छन् । डोटीको दीपायल सिलगढी नगरपालिका-२ मा रहेको देवी मावि खातिवाडामा रहेको क्वोरन्टिनमा रहेकी स्थानीय गीता आउजीले राति एक बजेर ४४ मिनेटमा छोरा जन्माएकी हुन् ।
गत १२ गते भारतको राजस्तानबाट श्रीमान् अमर आउजीसँगै नेपाल आएकी उनी नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा बस्दै आएको वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।
‘राति करिब पौने दुई बजे उनले बच्चा जन्माएकी रहिछन्,’ वडाध्यक्ष खड्काले भने, ‘हामीलाई बिहानमात्रै जानकारी भयो।’
उनले क्वारेन्टिनमै बच्चा जन्मिएको जानकारी पाएपछि आफूले तुरुन्तै स्वास्थ्यकर्मीहरूको टोली सम्बन्धित क्वारेन्टिनमा पठाइएको बताए ।
खड्काका अनुसार गीताले क्वारेन्टिनमा दोश्रो सन्तानलाई जन्म दिएकी हुन् । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष खड्काले जानकारी दिए ।
यस्तै, डोटीकै शिखर नगरपालिका-३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाडौंको क्वारेन्टिनमा रहेकी २५ वर्षीया पूजा सार्कीले पनि छोरा जन्माएकी छिन् ।
बिहीबार बिहान करिब साढे पाँच बजेतिर उनले क्वारेन्टिनभित्रै छोरा जन्माएको भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश कठायतले जानकारी दिए ।
जेठ १५ गते भारतको मुम्बईबाट श्रीमान् गगनसिंह सार्कीसँगै नेपाल भित्रिएकी पूजा क्वारेन्टिनमा क्वारेन्टिनमा बस्दै आएकी थिइन्। उनले पनि स्वास्थ्यकर्मीको अनुपस्थितिमै बच्चा जन्माएकी हुन् ।
यसअघि शिखर नगरपालिका-१ को कपल्लेकीको क्वारेन्टिनमा रहेकी एक महिलाले पनि बच्चा जन्माएकी थिइन् ।
क्वारेन्टिनमै स्वास्थ्यकर्मीको सहयोगविना सुत्केरी हुनु आमा र शिशु दुवैका लागि जोखिमपूर्ण हुने डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्योति पाण्डे बताउँछिन् । ‘पहिलो कुरा सामान्य अवस्थामा पनि स्वास्थ्यकर्मीको सहयोगविनै बच्चा जन्माउनु जोखिमपूर्ण हुन्छ, त्यसैमा कोरोनाको महामारी भएका बेला झनै जोखिम हुन्छ ।’
उनले क्वारेन्टिनमा यदि कसैलाई कोरोनाको संक्रमण भए सुत्केरी महिला र शिशुलाई छिटो संक्रमण हुन सक्ने बताइन् । सुत्केरी अवस्थामा महिलाहरू कमजोर हुने र रोग प्रतिरोध क्षमता पनि कम हुने उनको भनाइ छ ।
यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरूले तत्काल आरडीटी टेस्ट गरेर उनलाई होम क्वारेन्टिनमा पठाउनु उपयुक्त हुने डा. पाण्डेले सुझाइन् । उनले क्वोरेन्टिनमा बसेका महिलाहरूलाई सुत्केरी व्यथा लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा ल्याउनुपर्ने समेत बताइन्।
यसअघि क्वारेन्टिनमा बसेका दुई महिलाहरू सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पतालमा ल्याइएको र सावधानी अपनाएर सुत्केरी गराएको डा. पाण्डेले जानकारी दिइन् ।
प्रतिक्रिया 4