२२ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीपछि फेरि शुरु हुन लागेको प्रिमियर लिगमा पनि पाँच जना खेलाडी परिवर्तन गर्न पाइने नियम लागू गरिने भएको छ ।
प्रिमियर लिगले बिहीबार नयाँ नियमलाई स्वीकृति दिएपछि अब ३ जनाको सट्टा पाँच खेलाडीसम्म एकै खेलमा परिवर्तन गर्न पाइने भएको हो । अब २०१९-२० को सिजनको बाँकी खेलका लागि यो नियम लागु हुनेछ ।
यसैगरी क्लबले बेन्चमा पनि ७ को सट्टा ९ खेलाडी राख्न पाउनेछ ।फुटबलको अन्तर्राष्ट्रिय नियम बनाउने संस्था आईएफएबीले गत महिना कोरोना भाइरस महामारीपछि फुटबल फेरि शुरु गर्दा खेलाडी परिवर्तनको संख्या बढाउन पाउने गरी अस्थायी रुपमा नियम परिवर्तन गरेको थियो ।
महामारीका काण गत मार्चदेखि स्थगित रहेको प्रिमियर लिग यही १७ जुनदेखि फेरि शुरु हुँदैछ । पहिलो दिन म्यानचेष्टर सिटी र आर्सनल तथा एस्टल भिल्ला र शेफिल्ड युनाइटेडबीच खेल हुनेछ ।
प्रतिक्रिया 4