Comments Add Comment
क्वारेन्टिनस्थलको बेथिति :

क्वारेन्टिनमा आरडीटी टेष्टले कोरोना घरघरमा पुर्‍याउन सक्छ !

केन्द्रमा प्रोटोकल बन्दैछ, जिल्लाले घर पठाउन थालिसक्यो

२२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुलाई र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गरेर घर पठाउने तयारी गरेको छ । क्वारेन्टिन बस्नेहरुको संख्या डेढ लाख लागिसकेको छ ।

तर, पीसीआर विधिबाट दैनिक ४ हजार नमूना पनि परीक्षण हुन सकेको छैन । पछिल्लो २४ घण्टामा ३८ सय ६७ नमुना परीक्षण भएको मन्त्रालयको तथ्यांक छ । यो गतिले डेढ महिनामा पनि सबैको परीक्षण गर्न गाह्रो हुन्छ ।

त्यसैले आरडीटी टेष्ट गर्ने मन्त्रालयको तयारी छ । क्वारेन्टिनमा बस्नेहरुको संख्या अप्रत्यासित रुपमा बढेको भन्दै मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भन्छन्, ‘सबैको पीसीआर टेष्ट गर्न नसकिने भएकाले यस्तो तयारी गरिएको हो ।’

यसका लागि मन्त्रालयले थप १ लाख ५० हजार थान आरडीटी किट किन्न निर्णय गरेको छ । र, त्यसअनुसार खरिद प्रक्रिया थाल्न स्वास्थ्य सेवा विभागलाई भनेको छ ।

डा. कार्कीका अनुसार क्वारेन्टिनमा बसेकाहरु मध्ये लक्षण देखिएका र नदेखिएकाहरुलाई छुट्याइन्छ । लक्षण देखिएकाहरुलाई सम्भव भएसम्म ५ देखि ८ दिनमा पीसीआर जाँच गरिन्छ । त्यसो गर्दा पोजेटिभ आयो भने आइसोलेसनमा पठाइन्छ भने नेगेटिभ देखियो भने घर पठाइन्छ । ‘लक्षण नदेखिएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राखेर आरडीटी गरिन्छ’ डाक्टर कार्कीले भने, ‘आरडीटी पोजेटिभ आयो यो पीसीआर गरिन्छ भने नेगेटिभ आयो भने घर पठाइन्छ ।’

यसो गर्दा सम्भावित संक्रमित नछुट्ने मन्त्रालयको दाबी छ । लक्षण नदेखिएपनि शरीरमा भाइरस प्रवेश गरेको १४ दिनमा आरडीटी गर्दा एन्टिबडी देखिने भएकाले यस्तो निर्णय गरेको बताउँदै उनले भने, ‘आरडीटी पोजेटिभ, लक्षण देखिएका र स्वास्थ्यमा समस्या भएकाहरुको भने पीसीआर गरिन्छ ।’

यसका लागि मन्त्रालयले प्रोटोकल बनाउँदैछ ।

तर, जिल्लाहरुमा भने १० दिन क्वारेन्टिन बसेकाहरुको समेत आरडीटी टेष्ट गरेर घर पठाउन थालिएको छ । क्वारेन्टिन स्थलहरु भरिएको भन्दै दैलेखको कोरोना संकट व्यवस्थापन केन्द्र -सीसीएमसी) ले नै आरडीटी गर्ने निर्णय गरेको छ । र, त्यसअनुसार आरडीटी नेगेटिभ आएका केही सय मानिस घर गइसकेका छन् ।

बुधबार मात्र प्रदेश ५ को सीसीएमसीले भारतबाट आउने नागरिकहरुलाई कम्तिमा दुई हप्ता क्वारेन्टिनमा राख्ने र आरडीटी टेष्ट गर्दा नेगेटिभ आएकाहरुलाई ७ दिन होम क्वारेन्टिनमा बस्ने गरी पठाउने निर्णय गरेको छ ।

तर, जनस्वास्थ्य विज्ञहरुले भने आरडीटी टेस्ट गरेर यो निर्णय घातक हुने चेतावनी दिएका छन् । यसले कोरोना संक्रमणलाई घर-घरमा पुर्‍याउन सक्ने उनीहरु बताउँछन् ।

एक त आरडीटी टेष्ट आफैंमा भरपर्दो छैन । यसबारे विश्वभर प्रश्न उठ्दै आएको छ । त्यसमाथि अहिले देशभरका अधिकांश क्वारेन्टिन मापदण्ड अनुसारका छैनन् । संक्रमण सार्ने अखडा बनेका क्वारेन्टिनमा बसेकाहरुलाई आरडीटी टेष्ट गरेर गरेर घर पठाउनु भनेको त्यतिकै जान दिए सरह हुने जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणि दीक्षित बताएँछन् । ‘क्वारेन्टिनमा बसेकाहरुलाई मात्र नभएर पुरै समुदायलाई धोका दिनु हो’ डाक्टर दीक्षितले अनलाइनखबरसँग भने ।

उनी एउटा उदाहरण दिन्छन् ।

एउटा क्वारेन्टिनमा ३० जनाको समूह छ । त्यहाँ भएका सबैले एउटै शौचालय प्रयोग गर्छन् । सामाजिक दुरी कायम गर्दैनन् । एउटै कोठामा खाँदिएर सुत्छन् ।

त्यहाँ भएका मध्ये केही मानिस कोरोना संक्रमित थिए । तर, लक्षण देखिएको छैन । अब उसबाट क्वारेन्टिनमा बसेको कुनै दिन -त्यो टेष्टको अघिल्लो दिन पनि हुनसक्छ) अरुमा संक्रमण सर्‍यो । तर क्वारेन्टिन बसेको १४ औं दिनमा टेष्ट गर्दा नयाँ संक्रमण देखिँदैन । किनकि उनीहरु भर्खर संक्रमित भएका हुन् । उनीहरुलाई संक्रमण नभएको भनेर पठाउँदा थाहै नपाई घरघरमा कोरोना पुग्छ र समुदाय स्तरमा संक्रमण फैलिन धेरै समय लाग्दैन ।

डाक्टर दीक्षितका अनुसार कुनै व्यक्ति कोरोना संक्रमित भएको करिब ९/१० दिनपछि बल्ल शरीरमा एन्टिवडी विकास हुन्छ । त्यसैले १४ दिन क्वारेन्टिनमा बसेपछि आरडीटी टेस्ट गर्नु उपयुक्त हुन्छ भनिएको हो । यसका लागि क्वारेन्टिन बस्नेहरुले स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गरेको हुनुपर्छ ।

तर हामी कहाँ एकैठाउँमा बसेका छन्, लहरै सुतेका छन् । यसमा भएका मध्ये कोही एकजना मात्र संक्रमित रहेछन् भने अरुलाई पनि कुनै बेला संक्रमित बनाउन सक्छ । त्यस्तो अस्तव्यस्त क्वारेन्टिनमा राखिएकाहरुलाई आरडीटीकै भरमा घर पठाउनु घातक हुने संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन् ।

उनका अनुसार आजभन्दा ३ महिनाअघि अन्य देशले पनि यस्तै अभ्यास गरेका थिए । तर, त्यो अभ्यास फलदायी भएन । किनकि आरडीटीले धेरै फल्स नेगेटिभ देखायो । अब नेपालले त्यही आरडीटीमा भर पर्दा संक्रमण समुदायमा फैलने सक्ने भन्दै उनले भने, ‘राज्यसँग आरडीटी बाहेक केही विकल्प छैन भने अर्कै कुरा भयो । नभए पीसीआर टेस्टलाई नै प्राथमिकता दिनुपर्छ ।’

त्यसका लागि पनि क्वारेन्टिन स्थलको अवस्था सुधार गर्नुपर्ने जनस्वनस्थ्य विज्ञहरुको जोड छ । ‘संक्रमण फैलिएको क्षेत्रबाट आएकाहरुलाई यसकारण क्वारेन्टिन गरिन्छ कि उनीहरुमध्ये कोही संक्रमित हुन सक्छन् । संक्रमित रहेछन् भने अरुलाई नसरोस् र संक्रमित रहेन छन् भने अरुबाट संक्रमित नहुन्’ डा. किरणराज पाण्डे भन्छन्, ‘हामी कहाँ त एकै ठाउँमा सुतेका छन् । मुखामुख गरेर कुरा गरेका छन् । यसरी राख्ने हो भने क्वारेन्टिनको के अर्थ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment