News Summary
Generated by OK AI. Editorially reviewed.- वार्नर म्युजिक ग्रुपले प्रविधि स्टार्ट-अप सुनोसँग मिलेर आर्टिफिसियल इन्टेलिजेन्स संगीत उद्यम सुरु गर्ने भएको छ।
- वार्नरले सुनोमा सिर्जना गरिएका एआई गीतलाई कलाकारको आवाज, नाम र समानता प्रयोग गर्न अनुमति दिनेछ।
- सुनो र उडियो विरुद्ध वार्नर, सोनी र युनिभर्सलले प्रतिलिपि अधिकार उल्लंघन मुद्दा दायर गरेका थिए।
वार्नर म्युजिक ग्रुपले प्रविधि स्टार्ट-अप सुनोसँग मिलेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संगीत उद्यम सुरु गर्ने भएको छ । गतवर्ष उक्त कम्पनीले नै सुनोलाई संगीतको प्रतिलिपि अधिकार सम्बन्धी मुद्दा हालेको थियो ।
यी दुई पक्षबीच भएको सम्झौताको एक भागको रूपमा, वार्नरले प्रयोगकर्तालाई कलाकारको आवाज, नाम र समानता प्रयोग गरेर सुनोमा सिर्जना गरिएका एआई गीतलाई प्रयोगको अनुमति दिनेछ ।
दुआ लिपा, कोल्डप्ले र एड शीरन जस्ता कलाकारको प्रतिनिधित्व गर्ने उक्त रेकर्ड लेबलले सुनो र उडियो नामक प्लेटफर्मलाई मुद्दा हालेको थियो ।
पछिल्लो समय एआईबाट सिर्जना गरिएका सामग्री विवादित बनिरहेका छन् । मानव गीतकारलाई एआई सिर्जित सांगीतिक सामग्रीले कमजोर बनाउन सक्ने चिन्ता धेरै कलाकारमा देखिन्छ ।
अर्को वर्षदेखि, सुनोले आफ्नो जेनेरेटिभ-एआई संगीत प्लेटफर्ममा नयाँ र इजाजतपत्र प्राप्त मोडेल प्रयोगका लागि सार्वजनिक गर्नेछ, जसले प्रयोगकर्तालाई सरल ढंगले संगीत सिर्जना अनुमति दिन्छ’ वार्नरले एक विज्ञप्तिमा भनेको छ ।
म्यासाचुसेट्समा रहेको उक्त फर्मका लगभग १० करोड प्रयोगकर्ता छन् र यो २ वर्ष अघि सुरु गरिएको थियो ।
सुनोको सन् २०२६ को मोडेलले यसको अहिले चल्तीमा रहेको मोडेललाई प्रतिस्थापन गर्नेछ र प्रयोगकर्ताले अडियो डाउनलोड गर्न पनि भुक्तानी गर्नुपर्नेछ’ वार्नरले भनेको छ । निःशुल्क रुपमा उपलब्ध गराइएका गीतलाई भने अझै पनि बजाउन र सेयर गर्न सकिन्छ ।
‘यस प्रकारको पहिलो साझेदारीले संगीत सिर्जनामा ‘नयाँ सीमाहरू’ खुला गर्ने र रचनात्मक समुदायलाई क्षतिपूर्ति प्रदान गर्ने कुरा सुनिश्चित गर्नेछ’ वार्नरले भनेको छ ।
‘एआईबाट सिर्जना गरिएका संगीतमा कलाकार र गीतकारको नाम, तस्वीर, समानता, आवाज र रचना कसरी प्रयोग गर्ने भन्ने कुरामा पूर्ण नियन्त्रण हुनेछ’ वार्नरले भनेको छ । तर, कुन कलाकारको भनेर नाम समेटिएको छैन ।
‘यो सम्झौताले कम्पनीबीचको पहिलेको मुद्दा पनि समाधान गर्छ’ विज्ञप्तिमा भनिएको छ ।
सुनोले जस्तै प्लेटफर्म प्रदान गर्ने अर्को एआई कम्पनी युडियोविरुद्ध संगीतको दिग्गज वार्नर, सोनी म्युजिक इन्टरटेनमेन्ट र युनिभर्सल म्युजिक ग्रुपले मुद्दा दायर गरेका थिए । रेकर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिकाले सन् २०२४ मा मुद्दा दायर गरेको थियो ।
ती लेबलले उडियो र सुनोलाई उपलब्ध गीतहरूको प्रतिलिपि बनाएर नाफा कमाएको आरोप लगाएका थिए । साथै, ती प्लेटफर्मले वास्तविक कलाकारको कामबाट छुट्याउन नसकिने ट्रयाक सिर्जना गरेको दाबी पनि संलग्न थियो ।
कम्पनीले एआईको प्रयोगलाई ‘चोरी’ र संगीत पारिस्थितिक प्रणालीलाई खतरामा पार्ने प्रवृत्तिको अंशको रूपमा वर्णन गरेका छन् ।
बिली इलिश र निकी मिनाज लगायत लगभग २०० कलाकारले संगीत उद्योगमा एआईको हस्तक्षेपकारी प्रयोग रोक्न आह्वान गर्दै पत्रमा हस्ताक्षर गरेको केही महिनापछि कानुनी लडाइँ सुरु भएको हो ।
बीबीसीबाट ।
प्रतिक्रिया 4