Comments Add Comment

सुदूरपश्चिममा रोकियो स्वाब संकलन

२३ जेठ, कैलाली । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितकाे संख्या बढ्दै गइरहेकाे छ । शुक्रबारमात्रै डडेल्धुराको गन्यापधुरामा ५ जना र कैलालीमा १ जनामा कोरोना संक्रमण पुष्टि भयो । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । संक्रमितको संख्या बढिरहेकै अवस्थामा परीक्षणको दायरा बढाउनु पर्ने हाे । तर स्वस्थ्य निर्देशनालयले प्रदेशका ९ वटै जिल्लामा ५ दिनसम्म स्वाब संकलन नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै स्वस्थ्य निर्देशक गुणराज अवस्थीले स्वाब संकलन नगर्न ९ वटै जिल्लालाई निर्देशन पठाएका हुन् ।

कोरोना परीक्षण गर्ने उपकरणको अभाव भएको भन्दै तत्काल ५ दिनसम्मको लागि स्वाब संकलन नगर्न परिपत्र गरिएको निर्देशक अवस्थीले बताए ।

‘दैनिक २५० जनाको पीसीआर परीक्षण गर्न एउटै मेसिन छ अहिलेसम्म ११ सय बढीको परीक्षण गर्न बाँकी छ,’ उनले भने, ‘ती स्वाब धेरै दिन राख्दा खराब हुन सक्छ त्यसैले ५ दिन स्वाब संकलन नगर्न भनिएको हो ।’

हाल सम्म सुदूरपश्चिमको एक मात्र प्रयोगशालामा ४ हजर ९ सय ५४ जनाको स्वाब संकलन गरिएको मध्ये ३ हजार ८ सय ७१ जनाको मात्र रिपोर्ट आएको छ । अझै पनि १ हजार ८३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वस्थ्य निर्देशनालयले जनाएको छ। मैज्दात स्वाबको रिपोर्ट आउन करिब ४ दिन लाग्ने भएको हुँदा तबसम्म नयाँ स्वाब संकलन नगर्न भनिएको अवस्थीले बताए ।

भारतबाट आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएसँगै स्वाब संकलनको मात्रा पनि बढेको छ।
संक्रमण बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउनु पर्ने बेला स्वाब संकलन बन्द हुँदा सुदूरपश्चिममा संकट थप बढ्ने त होइन भन्ने चिन्ता थपिएको छ ।

आरडीटी पोजेटिभ देखिएका १६ जनाको चार दिनदेखि स्वाब संकलन हुन सकेन

कैलालीकाे घोडाघोडीमा आरडीटी पोजेटिभ देखिएका १६ जनाको चार दिनदेखि स्वाब संकलन हुन सकेकाे छैन । धनगढीस्थित प्रदेश प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाबको मौज्दात धेरै रहेका कारण तत्काल स्वाब संकलन नगरिएको स्वास्थ शाखा प्रमुख कैलाश रावतले बताए । यसअघि जेठ १६ गते पठाएको स्वाबको रिपोर्ट पनि २२ गते मात्रै आएको उनले बताए । स्वाब परीक्षणका लागि प्रदेशमा एउटामात्रै प्रयोगशाला हुँदा समस्या भएको उनी बताउँछन् ।

१९ गते विभिन्न क्वारेन्टिनमा बसेका २२१ जनाको आरडीटी टेस्ट गरिएको थियो । ती मध्ये १६ जनामा आरडीटी पोजेटिभ देखिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक राम ओझाले उनीहरुको अझै ५ दिन स्वाब संकलन हुन नसक्ने संकेत गरेका छन् । ‘परीक्षणका लागि ल्याबमा स्वाब धेरै आएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा ५ दिनसम्म थप स्वाब संकलन नगर्न परिपत्र जारी भएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment