Comments Add Comment

प्रदेश २ मा २२ जना कोरोना संक्रमित थपिए

२३ गते, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा २२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा ३ र ९ बर्षका बालक, एक महिला र अन्य १९ जना पुरुष छन् ।

धनुषामा ४ जना, महोत्तरी ९ जना, रौतहटमा ६ जना र बारामा ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–२० देवपुरु रुपैठास्थित जनता माध्यमिक विद्यालयमा देवपुराको क्वारेन्टिनमा बसेका ३ जना र जनकपुरमै बस्दै आएका एक पुरुषमा संक्रमण देखिएको छ ।

महोत्तरीको मटियानी नगरपालिकास्थित लक्ष्मीनारायण याज्ञवल्क्य सँस्कृत क्याम्पस क्वारेन्टिनका ८ जना र सोनमा गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटको ईशनाथ नगरपालिका–३ मठिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका एक महिला, ३ र ९ बर्षका बालक, ईशनाथ–२ स्थित गंगा जमुना बोर्डिङ स्कुलमा २ जना, गजुरा नगरपालिका–६ स्थित खतबैया मदरसा क्वारेन्टिनमा एक जनामा संक्रमण देखिएको छ ।

बाराको बारागढी गाउँपालिकामा २ जना र विश्रामपुर गाउँपालिकामा एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा १८ जना कोभिड–१९ को शंकास्पद संक्रमितको उपचार भइरहेको छ । सिराहाको सिराहा नगरपालिकास्थित कोभिड विशेष अस्पतालमा ५ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड अस्पतालमा ४ जना, महोत्तरीको जलेश्वर अस्पतालमा ८ जना र पर्साको पोखरिया स्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश २ मा हालसम्म १ सय २३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

सप्तरीबाट १ जना, धनुषाबाट ५ जना, महोत्तरीबाट ३ जना, सर्लाहीबाट १ जना, रौतहटबाट ३ जना, बाराबाट ९ जना, पर्साबाट ९६ जना र अन्य जिल्ला स्थायी ठेगाना भई यस प्रदेशममा बसोबास गरिरहेका तथा छिमेकी मुलुक भारतका नागरिकहरु समेतगरी ५ जना उपचार पश्चात निको भएर घर फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment