Comments Add Comment

अमेरिकाको आन्दोलन ‘एक सुन्दर दृश्य’ !

२३ जेठ, काठमाडौं । अहिले अमेरिकामा रङ्गभेदविरुद्धको आन्दोलन चलिरहेको छ । यो आन्दोलनबारे विश्वका धेरै मुलुकहरूले चासो व्यक्त गरेका छन् । अन्य मुलुकहरूसँगै अमेरिकी रङ्गभेदविरुद्धको आन्दोलनमा चीनले पनि विशेष चासो व्यक्त गरेको छ ।

गत वर्ष हङकङमा भएको आन्दोलनमा अमेरिकाले समर्थन जनाएको थियो । त्यस्तै प्रकृतिको आन्दोलनमा अहिले चीन समेत अमेरिकी आन्दोलनकारीको पक्षमा उभिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यतिबेला चिनियाँ सञ्चारमाध्यमहरूले अमेरिकाको आन्दोलनलाई उच्च प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरिरहेका छन् । ती सञ्चारमाध्यमहरूमा अमेरिकी प्रहरीको ज्यादतीविरुद्ध सामग्रीहरू प्रस्तुत गरिरहेका छन् । चिनियाँ सञ्चारमाध्यमहरूले अमेरिकामा भन्दा राम्रो सामाजिक स्थायित्व चीनमा रहेको उल्लेख गर्ने गरेका छन् ।

चिनियाँ कूटनीतिक नेताहरूले पनि अमेरिकाको आन्दोलनको विषयमा चीनलाई विश्वको एक नेतृत्वकर्ता मुलुकको रुपमा व्याख्या गर्न थालेका छन् ।

‘एक सुन्दर दृश्य’

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले अमेरिकामा अहिले चलिरहेको अशान्तिलाई ‘पेलोसीको सुन्दर परिदृश्य’को उपमा दिएको छ । सिन्ह्वाको यो टिप्पणी गत वर्षको गर्मीयाममा हङकङमा आन्दोलन चलिरहँदा अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले दिएको ‘हेर्नको लागि एक सुन्दर दृश्य’ भन्ने अभिव्यक्तिसँग सम्बन्धित छ ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका प्रधान सम्पादक हु सिचिनले अहिले अमेरिकीहरूले आफ्नै झ्यालबाट ‘सुन्दर दृश्य’ हेर्न सक्ने प्रतिक्रिया दिएका छन् । चीनले लामो समयअघिदेखि नै अमेरिकी राजनीतिज्ञको विरोध गर्दै आएको छ । विशेषगरी नेन्सी पेलोसीले हङकङमा भइरहेको हिंसाको प्रशंसा गरेको भन्दै चीनले आलोचना गरेको थियो । जबकि चीनले हङकङमा भइरहेको आन्दोलनलाई ‘आतंकवादको संकेत’को संज्ञा दिएको थियो । गत वर्षको अधिकांश समय हङकङमा आन्दोलन चलेको थियो ।

भर्जिनिया युनिभर्सिटीका सार्वजनिक मामिलाकी जानकार एइनी कोकास अहिले चीन र अमेरिकामा निकै ठूलो आन्तरिक अस्थिरता फैलिएको बताउँछिन् । यस्तो अवस्थामा अमेरिकामा देखिएको अस्थिरतालाई चीनले आफ्नो राष्ट्रिय सुरक्षाको लक्ष्य पूरा गर्ने हतियारको रुपमा लिएको उनको बुझाइ छ ।

अमेरिकाको ‘द्वेध चरित्र (डबल स्ट्याण्डर्ड)’को आलोचना

अमेरिकाले आन्तरिक अशान्तिलाई नियन्त्रणमा लिन ‘द्वेध चरित्र’ स्थापना गर्न खोजेको चिनियाँ तथा हङकङका अधिकारीहरूले बताएका छन् । हङकङकी नेतृ क्यारी लामले अमेरिकामा चर्किरहेको हिंसात्मक आन्दोलनमा अमेरिकाको स्थानीय सरकारले चालेको कदमको आलोचना गरेकी छिन् । हङकङमा त्यस्तै प्रदर्शन हुँदा अमेरिकाको अभिव्यक्ति र अहिले उसले गरेको व्यवहारमा ठूलो अन्तर रहेको उनको भनाइ छ ।

यस्तोमा चिनियाँ सामाजिक सञ्जालमा चिनियाँ अधिकारीहरूले अमेरिकालाई एक ‘द्वेध चरित्र भएको मुलुक’को रुपमा व्याख्या गरेका छन् । अहिले अमेरिकामा आन्दोलन दबाउन धेरै बल प्रयोग भइरहेको विषयलाई चिनियाँ मिडियाले स्थान दिएका छन् । अमेरिकाले वकालत गर्ने गरेको स्वतन्त्रता र प्रजातन्त्रको यसले खिल्ली उडाएको उनीहरूको विश्लेषण छ । जसको उदाहरणको रुपमा चिनियाँ सञ्चारमाध्यमहरूले अमेरिकाको आन्दोलनको विषयमा केही अफवाह पनि फैलाइरहेका छन् ।

अमेरिकाको जर्जियामा रहेको ग्लोबल कम्युनिकेसन युनिभर्सिटीकी सहायक प्राध्यापक मारिया रेप्निकोभाले चिनियाँ सञ्चारमाध्यमले अहिलेसम्म कुनै पनि घटनाको यति धेरै कभरेज नदिएको बताइन् । उनका अनुसार अमेरिकामा यो समस्या चीनले सिर्जना नगरेको कारण पनि उनीहरूले धेरै कभरेज दिएको तर चिनियाँ सञ्चारमाध्यममा हङकङमा भएको प्रदर्शनमा प्रहरीले दिएको निकै शान्तिपूर्ण जवाफको फोटो देखाइएको र अमेरिकामा भने प्रहरी ज्यादतीको फोटो प्रदर्शन गर्ने गरेको भन्दै उनले आलोचना पनि गरेकी छिन् ।

प्रेस स्वतन्त्रताको अधिकार नदिएको भन्दै चीनको लामो समयदेखि आलोचना हुँदै आएको छ । तर यस्ता कुरालाई चिनियाँ सञ्चारमाध्यमहरूले पनि त्यति धेरै महत्व दिँदैनन् । अमेरिकाको आन्दोलनको विषयमा भने चिनियाँ सामाजिक सञ्जालहरूमा पनि अहिले ठूलो चर्चा भइरहेको छ । उनीहरूले अमेरिकामा स्वतन्त्रता र प्रजातन्त्र नै जोखिममा रहेको भन्दै टिप्पणी गर्न थालेका छन् ।

अमेरिकामा हुने रङ्गभेदमा चीनको आलोचना

अमेरिकाको विरुद्धमा बोल्न अहिले चिनियाँ कूटनीतिज्ञहरूलाई एक महत्वपूर्ण कारण मिलेको छ । उनीहरूले अहिले अमेरिकाको सरकारको कमजोरीलाई देखाएर चीन विश्वको एक जिम्मेवार नेतृत्व दिन सक्ने मुलुक रहेको भन्दै वकालत गरिरहेका छन् । कोकास चीनले अमेरिकाविरुद्धको प्रोपोगाण्डा फैलाउने नीति कोरोना भाइरस (कोभिड–१९) को महामारीदेखि नै सुरु गरेको थियो । अमेरिका यो महामारी रोक्न असफल भएको अवस्थामा चीनले भने यसलाई नियन्त्रणमा लिएको थियो । चिनियाँ कूटनीतिक अधिकारीले अफ्रिकन युनियनका अधिकारीले ट्विटरमा अमेरिकामा भएको जातीय विभेद र प्रहरीको दमनको आलोचना गरेको ट्विट रिट्विट गरेका छन् ।

चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले ‘आई कान्ट ब्रेथ’ लेख्दै हङकङमा भएको आन्दोलनबारे अमेरिकी विदेशमन्त्रालयकी प्रवक्ताले गरेको पोस्टलाई पनि सँगै राखेर पोस्ट गरेकी छिन् । यद्यपि उनले सबै काला जातिको जीवन महत्वपूर्ण भन्ने कुरालाई हटाउँदै सबैको जीवन महत्वपूर्ण छ भन्ने अर्को पोस्ट पनि गरेकी छिन् ।

यसैबीच चीनले पनि ग्वान्जाओमा अफ्रिकी नागरिकलाई विभेद गरेर सबैलाई कोरोना भाइरसबाट क्वारेन्टिनमा पठाएको समाचार आएको छ । तर चीनले भने यो घटनामा सरकारको गल्ती भएको नभई बुझाइ गलत भएको भन्दै आफ्नो बचाउ गर्दै आएको छ । त्यस्तै, चीनमाथि लाखौं उइगुर मुस्लिम समुदायको मानव अधिकारको उल्लङ्घन गर्दै आएको आरोप पनि छ ।

बढ्दो अमेरिकाविरोधी आवाज

अमेरिकामा सुरु भएको आन्दोलनले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा अमेरिकीविरुद्धको बहस चर्किएको छ । यससँग सम्बन्धित विषयले यससाता मात्र २५ अर्ब भ्यु पाइसकेको छ । यी विषय सबैभन्दा लोकप्रिय विषय बने । धेरै वेइबोका प्रयोगकर्ताले अमेरिकालाई नागरिकको बीचमा भड्किएको अशान्ति र हङकङ आदोलनको समर्थनका लागि बधाई दिएका थिए ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘अमेरिकाले विश्वभर हिंसा फैलाउँदै आएको थियो । अहिले अमेरिकी नागरिक जागरुक भएका छन् । अमेरिकी सरकार यसैको लागि लायक छ ।’

यसैबीच केही प्रयोगकर्ताले भने अमेरिकाको आदोलनबारे दुःख व्यक्त गरेका छन् । अमेरिकामा सीएनएनका पत्रकार पक्राउ परेको भिडियोमा प्रतिक्रिया जनाउँदै एक प्रयोगकर्ताले अमेरिकामा मानव अधिकार र प्रजातन्त्रको अन्त्य हुन गइरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।

धेरैले अहिले अमेरिकामा भइरहेको आन्दोलनको समर्थन गरेका छन् । धेरै पुस्तासम्मको लडाइँमा रङ्गभेदविरुद्ध केही हात नपरेको भन्दै उनीहरूले यसपटकको आन्दोलनलाई फलदायी बनाउनुपर्ने धारणा राखेका छन् । केही मानिसले चीनको कमजोरीको विषयमा पनि प्रतिक्रिया जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment