Comments Add Comment

कोरिया पुग्नुपर्ने सयौं कामदार लकडाउनले अडि्कए, रोजगारी गुम्ने चिन्ता

२३ चैत, काठमाडौं । कोरियन भाषा परीक्षा उत्तीर्ण भएर कोरिया जाने प्रक्रियामा रहेका २ हजारभन्दा बढी कामदारहरु मर्कामा परेका छन् । लकडाउनको कारण देखाउँदै सरकारले  प्रक्रिया अलमल गरेपछि उनीहरू हातमा आईसकेको रोजगारी गुमाएर नेपालमै थन्किनुपर्ने हो कि भन्ने चिन्तामा छन् ।

भिसाको लागि गरिने ‘सर्टिफिकेट फर कन्फरमेसन अफ भिसा इसुएन्स’ (सीसीभीआई)को प्रक्रिया पुरा गर्न नसक्दा कोरिया जाने कामदारहरुले रोजगारी गुमाउने खतरा बढ्दै गएको हो ।

ईपीएस कोरिया शाखाका अनुसार सीसीभीआई आएको ३ महिनासम्म कामदारको भिसाको प्रक्रिया पुरा गरिसक्नुपर्छ । तर, लकडाउनका कारण फारम भर्न सम्भव नभएको भन्दै करिब ८ सय कामदारको यस्तो प्रक्रिया पुरा गरिएन । त्यसपछि शाखाले सीसीभीआई नवीकरण गर्न आग्रह गर्दै कोरियालाई प्रस्ताव पठाएको छ ।

प्रक्रियामा ढिलाइ भएपछि कतिपय कामदारको सीसीभीआई रद्ध हुन थालेको छ । रोजगारदाताले भिसा प्रक्रिया नटुंगिएसम्म जहिलेसुकै सीसीभीआई रद्ध गर्न सक्ने व्यवस्था छ । लकडाउनका कारण कामदार जान ढिलाई हुने अवस्थाले अब सम्भावित रोजगार गुम्ने क्रम सुरु भएको गुनासो कामदारहरुको छ ।

कतिपय कामदारहरु भिसा आएर पनि कोरिया जान पाएका छैनन् । भिसा आएको एक महिनाभित्र कामदार कोरिया पुगिसक्नुर्ने नियम छ । तर, नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध गरिएपछि भिसा आईसकेका सयौं युवा पनि यतै अडि्कएका छन् । सरकारले त्यस्तो भिसाको अवधि पनि बढाइदिन कोरियालाई आग्रह गरिएको बताएको छ ।

परिश्रम र लगानी खेर जाने चिन्ता 

कोरिया जाने प्रतिक्षामा रहेका सहदेव सापकोटा सरकारले प्रक्रियामा गरेको गरेको ढिलासुस्ती र लापरवाहीका कारण करिब २ हजार देखि २५ सय कामदारको प्राप्त हुन लागेको आकर्षक रोजगारी गुम्ने जोखिम बढेको बताउँछन् ।

‘हामीले कति वर्ष दुःख गरेर भाषा परीक्षा पास गरेका हौं, तर हाम्रो सीसीभीआई आएपनि बाँकी प्रक्रिया लकडाउन भयो भन्दै रोकेर राखिएको छ,’ उनले भने,’रोजगारदाताले प्रतिक्षाकोअवधि कटेपछि नेपालकै कामदार कुरिराख्दैन, सरकारले गरेको लापरवाहीले रोजगारी पाउने निश्चित भईसकेका मजस्ता थुप्रै साथी मारमा पर्नुभयो ।’

प्रक्रिया नियमित गरेर कामदार पठाउन सुरु नगरे आन्दोलन गर्ने चेतावनी कामदारहरूले दिएका छन् । सरकारले गर्नुपर्ने प्रक्रियाहरु पुरा नगर्दा ठूलो लगानी र मिहिनेत गरेर भाषा परीक्षा पास गरेका युवाको भविष्य अनिश्चित भएको उनीहरुको गुनासो छ ।

पीसीआर र अन्य रिपोर्टले समस्या

कोरियाले सीसीभीआईसँगै कामदारको कोरोनाको पीसीआर रिपोर्ट पनि मागेको छ । जसका कारण पनि सरकारले कामदारको भिसा प्रक्रियामा अलमल गरिरहेको छ । सँगै कतिपय ठाउँबाट कामदार काठमाडौं आउन नसक्ने कारण देखाउँदै कोरिया पठाउने अन्तिम चरणका प्रक्रियाहरु रोकिएका छन् ।

लकडाउनका कारण कामदारको प्रहरी रिपोर्ट, क्षयरोग परीक्षण रिपोर्ट, तालिमको प्रमाणपत्र, स्वास्थ्य प्रमाणपत्र लगायतको प्रक्रिया पनि पुरा गर्न गाह्रो भएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण खनाल बताउँछन्  । अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान पनि रोकिएको छ भने सरकारले श्रम स्वीकति लिएर विदेश जान पनि रोकेको अवस्था छ । तर, सरकारले अदूरदर्शिताका कारण कोरियाको आकर्षक रोजगारी गुम्ने भन्दै कामदारहरुले सरकारको कदमको विरोध गरेका छन् ।

सरकारले लकडाउनपछि कोरियाबाट विदामा आएका कामदारलाई कोरिया फर्किन दिने निर्णय गरेको थियो । करिब ६ देखि ७ सय कामदार कोरियाबाट विदामा आएर बसेको अनुमान छ ।

तर, कोरियाले अनिवार्य गरेको पीसीआर लगायतका प्रक्रियामा सरकारले सहजीकरण नगर्दा धेरै कामदारहरु फर्किन सकेका छैनन् । विदामा आउनेभन्दा पनि पहिलोपटक जाने प्रक्रियामा रहेका कामदारहरु लकडाउनकै कारण आफ्नो पक्का भएको रोजगारी गुम्ने चिन्तामा छन् ।

निर्देशक खनाल यसअघि नै भिसा जारी भएका कामदारको फेरि नवीरकण हुने बताउँछन् । कोरियाले नवीकरणको काम सुरु गरिसकेकेको भन्दै उनले नआत्तिन कामदारलाई आग्रह गरेका छन् । उनले कसैले रोजगारी गुमाउने अवस्था आउन नदिन सरकार सचेत रहेको बताए ।

यो वर्ष सरकारले कोरियाको लागि ईपीएस भाषा परीक्षाको तालिका अझै पाएको छैन । लकडाउनका कारण हरेक वर्ष जेठमा हुने भाषा परीक्षा यो वर्ष अनिश्चित बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment